नेपाली अभिनेत्री निरिशा भारतीय सिरियल ‘चन्द्र नन्दिनी’ र ‘तेनाली रामा’ मा


काठमाण्डौ, २९ साउन । नेपाली अभिनेत्री निरिशा बस्नेतले भारतीय सिरियल ‘चन्द्र नन्दिनी’ र ‘तेनाली रामा’ मा अभिनय गरेकी छिन् । निरिशा पुराना अभिनेता विश्व बस्नेतकी छोरी हुन् । उनले नेपाली फिल्म ‘जानी नजानी’ बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी थिइन् । यो फिल्म बक्सअफिसमा असफल भए पनि उनको अभिनयको प्रशंसा भएको थियो । अहिले उनी भारतको मुम्बईमा छिन् । हालै कोरोना संक्रमणबाट निको भएकी उनले भारतको चर्चित सिरियल ‘चन्द्र नन्दिनी’ मा समेत अभिनय गरेकी छन् ।
डेब्यू नेपाली फिल्म असफल भएपछि निराश भएर मुम्बई फर्किएकी उनले तीन वर्षपछि भारतीय सिरियलमा कमब्याक गर्दैछिन् । हिस्टोरिकल फिक्सन सिरियल ‘तेनाली रामा’ मा उनले केमियो भूमिकामा अभिनय गरेकी छन् । उनले आफ्नो भागको छायांकन पूरा गरिसकेकी छन् । ‘सब टिभी’ बाट ब्रोडकास्ट हुने सिरियललाई अभिमन्यू सिंहको प्रोडक्सन हाउसले निर्माण गरिरहेको छ ।
सिरियलमा आफ्नो भूमिकाबारे उनले भनिन्, ‘मेरो केमियो हो तर भूमिका कमजोर छैन । सिरियलमा मेरो कारणले नयाँ ट्विस्ट आउँछ । मेरो प्रवेशपछि कथा मोडिन्छ । मैले तीन महिना ‘चन्द्र नन्दिनी’ र दुई हप्ता ‘तेनाली रामा’ गरेँ । तर, त्यो तीन महिनाभन्दा यो दुई हप्ताको यात्रा तुलनात्मक हिसाबले बलियो छ ।’ उनले सिरियलमा निर्वाह गरेको चरित्रको बारेमा भने जानकारी दिइनन् ।
‘जानी नजानी’ गर्नका लागि निरिशा भारतबाट नेपाल आएकी थिइन् । यो फिल्मको छायांकन र प्रचारका लागि एक वर्ष समय दिँदा उनको हातबाट धेरै भारतीय प्रोजेक्टहरु फुत्केको थियो । फिल्म प्रदर्शन लगत्तै उनी भारत फर्किइन् । तर, एक वर्ष नेपाल बसेका कारण उनलाई पुनः मुम्बईमा सेटल हुन केही समय लाग्यो । अहिले आफूले काम र दाम दुवै राम्रो पाइरहेको उनी बताउँछिन् ।
गत वर्ष दुईवटा सिरियलको छायांकन सकाएकी उनले एक साउथ फिल्म समेत साइन गरेकी छन् । ‘लकडाउन हुनुभन्दा अगाडि म साउथ फिल्मको छायांकनका लागि चेन्नई गएको थिएँ । छायांकनको पहिलो दिनबाटै भारतमा लकडाउन भयो । त्यसपछि मुम्बई फर्किएर सिरियल गरेको हुँ । अब लकडाउन खुलेपछि साउथ फिल्मको बाँकी छायांकन गर्नेछु,’ निरिशाले भनिन् ।उनलाई बलिउड फिल्ममा पनि काम गर्ने इच्छा छ । तर, बलिउडमा आफ्नो लुक्सलाई सुहाउने खालको चरित्र नलेखिने उनको भनाई छ । वेब सिरिजका लागि प्रयास गर्ने सोचमा रहेकी उनी राम्रो ब्यानरबाट अफर भए नेपाली फिल्म पनि गर्ने बताउँछिन् । निरिशा भन्छिन्, ‘मेरो पहिलो फिल्मले दर्शकको साथ पाउन सकेन । अब नेपाली फिल्म गर्दा राम्रो ब्यानर र स्क्रिप्ट हेर्छु ।’
यसैगरी, कोरोनाको संक्रमणबाट जोगिन अभिनेत्री अदिती बुढाथोकी पनि केही दिनदेखि घरबाट बाहिर निस्किएकी छैनन् । उनी निकै कम नेपालमा बस्ने गर्छिन् । मुम्बईमा बसेर बलिउड प्रवेशका लागि संघर्ष गरिरहेकी उनी अहिले भने काठमाडौंमा छिन् । खासमा उनी फिल्म गर्नका लागि नेपाल आएकी हुन् । तर, उनी नेपाल आएसँगै कोरोनाको त्रासले फिल्मको छायांकन पोस्टपोन्ड भयो ।
सुरेन्द्र पौडेलले निर्देशन गर्न लागेको फिल्ममा उनले गायक नितेशजंग कुवँरसँग अनस्क्रिन रोमान्स गर्दैछिन् । फिल्मको चैत पहिलो साता घोषणा गरेर बैशाख पहिलो साताबाट फ्लोरमा जाने तयारी गरिएको थियो । तर, कोरोनाको त्रासले फिल्मको छायांकन पछाडि धकेलिएको छ । अहिले अदिती भारत फर्किने अवस्था पनि छैन । त्यहाँ पनि कोरोनाका कारण ‘लकडाउन’ गरिएको छ ।
फिल्म ‘कृ’ बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी अभिनेत्री अदिती बुढाथोकीले लामो समयपछि नेपाली फिल्म गर्न लागेकी हुन् । तर, फिल्ममा अभिनय गर्नका लागि मुम्बईबाट नेपाल आएकी उनी अहिले कोरोना भाइरसका कारण घरको चार कुनामा खुम्चिएर बस्न बाध्य हुनु परेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *