स्वदेश फर्केका युवालाई कृषिमा जोडेर मुलुकलाई आत्मनिर्भर बनाउनुपर्छ ः कोइराला


काठमाडौँ, २९ साउन । कोभिड–१९ लाई अवसरको रुपमा बदल्नका लागि स्वदेश फर्केका युवालाई कृषिमा जोडेर मुलुकलाई आत्मनिर्भर बनाउनुपर्ने नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले बताएका छन । सुशील कोइराला मेमोरियल फाउण्डेशनले काँग्रेसका पूर्वसभापति एवम् पूर्वप्रधानमन्त्री सुशील कोइरालाको ८१ औँ जन्मजयन्तीका अवसरमा बुधबार आयोजित ‘अन्वेषण यात्रा’ विषयक जुम कार्यक्रममा उनले कोभिड–१९ का कारण स्वदेश फर्केका युवालाई कृषि क्षेत्रमा लगाएर देशको विकास गर्नुपर्ने बताउनुभएका हुन ।
उनले महामारीको रुपमा फैलिएको कोरोना सङ्क्रमणलाई अवसरको रुपमा लिएर देशको विकास गर्नुपर्ने बताएका छन । काँग्रेसले मुलुकको सम्भावनालाई हेरेर विकासको खाका बनाउनुपर्नेमा उनले जोड दिए । महामन्त्री कोइरालाले वीपी कोइरालाले देखेको जनप्रतिनिधिद्वारा निर्माण गरिने संविधानको सपना स्व सुशील कोइराला नेतृत्वको सरकारले पूरा गरेको बताउँदै नैतिकताको राजनीतिमा विश्वास गर्ने सुशील कोइरालामा सादा जिवन, उच्च विचार रहेको थियो भने । फाउण्डेशनका अध्यक्षसमेत रहेका महामन्त्री कोइरालाले व्यक्तिभन्दा पार्टीलाई प्राथमिकतामा राख्ने स्व कोइराला भ्रष्टाचारविरोधी नेताका रुपमा आफूलाई स्थापित गरेको बताए । कार्यक्रममा प्राडा जयराज आचार्यले मूल्य, मान्यता र सिद्धान्तको राजनीतिमा विश्वास गर्ने स्व कोइराला सरल र सादगी नेता भएको उल्लेख गर्दै वीपी कोइरालाले देखाएको बाटोलाई सधै पछ्याउने स्व कोइरालाले संविधान निर्माण गरेर वीपीको सपनालाई पूरा गरेको बताए । पछिल्लो समय काँग्रेसभित्र मूल्य मान्यता र सिद्धान्त हराउँदै गएकोप्रति चिन्ता व्यक्त गर्दै उनले पार्टीभित्र सिद्धान्तभन्दा पनि पैसा भएका व्यक्ति हावी हुँदै गएको धारणा व्यक्त गरे । फाउण्डेशनका सदस्य–सचिव अतुल कोइरालाले फाउण्डेशनले आगामी दिनमा ‘अन्वेषण यात्रा’लाई निरन्तर रुपमा अगाडि बढाउने जानकारी दिए ।
यसैगरी, नेपाली काँग्रेसका पूर्व सभापति एवम् पूर्व प्रधानमन्त्री सुशील कोइरालाको जन्मजयन्तीका अवसरमा पोखरामा आयोजित कार्यक्रममा उनको योगदानको स्मरण गरिएको छ । नेपाल प्रेस युनयन कास्कीको संयोजनमा जिपी कोइराला फाउन्डेशन क्षेत्र नं २ द्वारा सञ्चारकर्मीका लागि गरिएको ज्याकेट वितरण कार्यक्रममा वक्ताहरूले राष्ट्र, राष्ट्रियता एवम् सार्वभौमिकताका पक्षमा कोइरालाले गरेको योगदान चिरकालसम्म जीवन्त रहने बताए । कार्यक्रममा संविधानसभा सदस्य एवम् जिपी कोइराला फाउन्डेशन गण्डकी प्रदेशका संयोजक शारदा पौडेलले सुशील कोइलाले नेपाली राजनीतिमा देखाउनुभएको त्याग तथा समर्पण सबैका लागि अनुकरणीय भएको बताए । समाजमा सूचनाको संवाहक सञ्चारकर्मीको पेशागत हक हितका स्थापनाका लागि फाउन्डेशन सँधै तयार रहेको बताउँदै उनले समाचार सङ्कलनमा निस्कँदा सहज होस् भन्ने उद्देश्यले यसअघि पनि फाउन्डेशनका तर्फबाट स्वास्थ्य सामाग्रीसहित ज्याकेट वितरण गरिएको बताए ।
कार्यक्रममा जिपी कोइराला फाउन्डेशन क्षेत्र नं २ का अध्यक्ष वसन्त चालिसेले समाजमा सञ्चार क्षेत्रको महत्वपूर्ण भूमिका हुने बताए । नेपाल प्रेस युनियन कास्कीका अध्यक्ष एवम् नेपाली काँग्रेस कास्कीका प्रवक्ता नविन सिग्देल, नेपाल पत्रकार महासङ्घ कास्कीका उपाध्यक्ष विमला भण्डारी, विजयराज आचार्यलगायतले स्व कोइरालाको योगदानबारे चर्चा गरे । सो अवसरमा विभिन्न सञ्चारमाध्यममा कार्यरत सञ्चारकर्मीलाई फाउन्डेशनका गण्डकी प्रदेश संयोजक पौडेल, क्षेत्र नं २ का अध्यक्ष वसन्तराज चालिसे र प्रेस युनयन कास्कीका अध्यक्ष सिग्देलले ज्याकेट हस्तान्तरण गरेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *