नेपालमा कोरोना संक्रमितको संख्या २४ हजार ४३२ पुग्यो, एकैदिन ४८४ जनामा कोरोना पुष्टि, ९२ जनाको मृत्यु

 

काठमाडौँ, २९ साउन । नेपालमा कोरोना संक्रमितको संख्या २४ हजार ४३२ पुगेको छ । एकैदिन ४८४ जनामा कोरोना पुष्टि भएको छ । बुधबारसम्म कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सख्या ९२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । १६ हजार ७२८ जना निको भएका छन् । विगत २४ घण्टामा १० हजार ४८१ जनाको पिसिआर परीक्षण गर्दा ४८४ जनामा कोरोना सङ्क्रमण देखिएको मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । योसँगै कोरोना सङ्क्रमितको कूल सङ्ख्या २४ हजार ४३२ पुगेको छ । उपत्यकामा थप १३९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । काठमाडौँमा मात्र १०९ जना सङ्क्रमित थपिएका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा १०, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा गरिएको परीक्षणमा २९, पाटन अस्पतालमा गरिएको परीक्षणमा ११, वीर अस्पतालमा गरिएको परीक्षणमा दुई, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा गरिएको परीक्षणमा ११ र नेपाल प्रहरी अस्पतालमा गरिएको परीक्षणमा २२ जनामा सङ्क्रमण भेटिएको उनले बताए । पछिल्लो समय कोरोना भाइरस मुक्त भएर ६४ जना घर फर्किएका छन् । हालसम्म १६ हजार ७२८ जना निको भई घर फर्किएका छन् । ६८ प्रतिशत कोरोनाबाट ठीक भएको पनि मन्त्रालयले जनाएको छ । देशभर सात हजार ६१३ जना सक्रिय सङ्क्रमित छन् । आजसम्म चार लाख ७२ हजारभन्दा बढीको पिसिआर विधिबाट परीक्षण गरिएको छ । बुधबारसम्म ९२ जनाले कोरोनाबाट जीवन गुमाएका छन् । पछिल्लो २४ घण्टामा आठ जनाको निधन भएको मन्त्रालयले जनाएको छ । निधन हुनेमा धनुषाका दुई, काठमाडौँ, धादिङ, सप्तरी, मोरङ, कपिलवस्तु र बाराका एक–एकजना रहेको पत्रकार सम्मेलनमा प्रवक्ता गौतमले जानकारी दिए ।

बुधबार थप १० जनाको मृत्यु भएको छ । किस्ट अस्पतालमा दुई जनाको मृत्यु भएको छ भने ह्याम्स, मेडिसिटी, पाटन, बीपी कोरोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र बुटवल कोरोना विशेष अस्पताल र कोशी कोभिड अस्पतालमा एकरएक जनाको मृत्यु भएको छ । यस्तै सप्तरीमा संक्रमण पुष्टिपछि अस्पताल लैजाँदै गर्दा, महोत्तरी र बारामा मृत्युपछि संक्रमण पुष्टि भएको छ । काठमाडौंको टेकुकी ७८ वर्षीया महिलाको मंगलबार राति किस्ट अस्पतालमा मृत्यु भएको छ । उनलाई कोरोना संक्रमण भएको बुधबार विहान पुष्टि भयो । ज्वरो र झाडावान्ता भएपछि पाटन अस्पताल पुगेकी उनलाई २६ गते किस्ट लगिएको थियो । बारा, कलैयाका ७७ वर्षीय पुरुषको बुधबार विहान मृत्यु भयो । २६ गते त्रिवि शिक्षण अस्पतालबाट रिफर भएर किष्ट पुगेका उनको पनि मृत्युपछि संक्रमण पुष्टि भयो ।
जनकपुरकी ३८ वर्षीय महिलाको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको छ । उनी १८ गते अस्पताल भर्ना भएकी थिइन् । जनकपुरका ७२ वर्षीय पुरुषको मेडिसिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । श्वासप्रश्वासमा समस्या आएपछि हेलिकप्टर चार्टर गरेर अस्पताल ल्याइएका उनको एक सातादेखि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । ह्याम्स अस्पतालमा मंगलबार मृत्यु भएका धादिङको नीलकण्ठ नगरपालिका–१४ धुँवाकोटका ३२ वर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएको छ । रुघाखोकी र ज्वरो आएपछि २४ गतेनजिकै रहेको गनेडाँडा स्वास्थ्य चौकी पुगेका उनी भोलिपल्ट जिल्ला अस्पताल गएका थिए । स्वास्थ्यमा अवस्था थप गम्भीर भएपछि उनलाई २७ गते ह्याम्स अस्पताल भर्ना गरिएको थियो । कपिलवस्तु नगरपालिका–२ तौलिहवाका ४२ वर्षीय पुरुषको कोरोना विशेष अस्पताल, बुटवलमा मंगलबार राति मृत्यु भएको छ । उनी २५ गते भर्ना भएका थिए ।
सप्तरीको डाक्नेश्वरी–८ घर भई राजविराज ६ मा बस्ने ७२ वर्षका संक्रमितको मंगलबार राति मृत्यु भएको छ । चार दिनदेखि ज्वरो आएका उनलाई कोरोना संक्रमण भएको मंगलबार पुष्टि भएको थियो । त्यही दिन साँझ उनको आइसोलेसन सेन्टर लैजाने क्रममा को एम्बुलेन्समै मृत्यु भएको छ । मोरङ, बुढीगंगा गाउँपालिका २ का ५५ वर्षका पुरुषको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा उपचारका क्रममा बुधबार विहान मृत्यु भएको छ ।
सोमबार राम जानकरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएका महोत्तरीको मटिहानी नगरपालिका–६ का ५२ वर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएको छ ।
मंगलबार दिउँसो वीरगञ्ज–१६ नगवास्थित सडकमा मृत भेटिएका बाराको बिश्रामपुर–५ का ३८ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । बुधबार कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा विराटनगर महानगरपालिका– ३ का ५७ वर्षका पुरुषको मृत्यु भएको हो । मृतक पुरुष नेपाल विद्युत प्राधिकरण विराटनगर वितरण केन्द्रका प्राविधिक हुन् । उनलाई सोमबार कोरोना पोजेटिभ देखिएको थियो ।
स्वास्थ्य मन्त्रालयका अनुुसार देशभरका प्रयोगशलामा १० हजार ४८१ नमुना परीक्षण गरिएको थियो । त्यसक्रममा सबैभन्दा धेरै काठमाडौंमा १०९ संक्रमित भेटिएका छन् । मोरङका ४८, महोत्तरीका ४४, धनुषाका ३९, रौतहटका २४, ललितपुरका २१, सुर्खेतका १८, मकवानपुरका १६, सुनसरी, चितवन र, बाराका १५÷१५ जना, कास्कीका १३, झापा र सिराहाका १०÷१० जना, भक्तपुरका ९, रुपन्देहीका ८ सर्लाही र स्यााङ्जाका ६÷६ तथा सप्तरी, काभ्रे र दार्चुलाका ५÷५ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै दैलेखका ४, कञ्चनपुर, पर्सा, अर्घाखाँची र रुकुम पश्चिमका ३÷३ जना, गोरखा, नुवाकोट, तनहुँ, दोलखा, धादिङ र डोटीका २÷२ तथा इलाम, ताप्लेजुङ, वैतडी, दाङ, बाँके, ओखलढुंगा, रामेछाप, जाजरकोट, कपिलवस्तु, खोटाङ, पाल्पा, सल्यान र बैतडीका एकएक जनामा संक्रमण देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *