खेलाडीको पारिश्रमिक र ग्रेड विभाजन नहुँदा युवा खेलाडीहरु मारमा

काठमाण्डौ, २८ साउन । कोरोना महामारीको कारण सन् २०२० को खेलाडीको पारिश्रमिक र ग्रेड विभाजन नहुँदा युवा खेलाडी त्यसको मारमा परेको देखिन्छ । नेपाल क्रिकेट संघ (क्यान) ले यो वर्षको राष्ट्रिय क्रिकेट टोलीको श्रेणी (ग्रेड) र पारिश्रमिक (तलब) विभाजन अझै सार्वजनिक गर्न सकेको छैन । क्यानले गत माघमा नै कोषाअध्यक्ष रोशनकुमार सिंहको संयोजकत्वमा केन्द्रिय सदस्य दुर्गाराज पाठक र अमितविर पान्डेको समिति गठन गर्दै पुरुष २४ र महिला १८ खेलाडीलाई एप्लस , ए, बी र सी ग्रेडमा रहने खेलाडीको नाम टुङ्गो लगाउन भनेको थियो । उक्त समिति बनेको ६ महिना बितेको छ । तर अझै खेलाडीको ग्रेड सार्वजनिक हुन सकेको छैन ।खेलाडीको ग्रेड र पारिश्रमिक निर्धारण प्रक्रिया अन्तिम चरणमा रहेको र बोर्ड बैठकले पारित गर्न बाँकी रहेको क्याननिकट स्रोतले हाम्रो खेलकुदलाई जानकारी दिएको छ । यो वर्षको ६ महिना बितिसकेको छ । बाँकी ६ महिना छ । त्यसैले बोर्डले दिएको निर्देशनमा तलमाथि हुने सम्भावना छ । समितिले तीन प्रस्ताव तयार पारेको बुझिएको छ ।
पछिल्लो समय कुनै खेल नभएकाले ग्रेड निर्धारणमा केहि समस्या देखिन्छ ।अर्कोतर्फ २०२० मा आईसिसी विश्वकप लिग २ र एसिसी इस्टर्न रिजन प्रतियोगिता मात्र खेलेको थियो । जसको कारण समितिले १४, १८ र २४ खेलाडी समेट्ने गरि तीन फरक प्रस्ताव सहितको सुझाव बोर्डमा लाने तयारी गरेको छ । सम्झौता अवधि ६ महिनाको हुने र ग्रेड ए, बी र सी मात्र हुने सम्भावना रहेको छ । यो वर्ष खेल नभएका कारण प्लस ए ग्रेड खाली रहने सम्भावना छ ।समितिले थोरैलाई सम्झौतामा राख्दा खेलाडीबीच प्रतिस्पर्धा बढ्ने र खेलाडीले पारिश्रमिक पनि बढि पाउने नीति अगाडि सार्ने सम्भावना छ । तर बोर्डले २४ जनाको नामसहित प्रस्ताव समेत राख्न भनेको छ । खेलाडीको आगमी जनवरीमा नयाँ सम्झौता गर्नुपर्ने हुन्छ, त्यसैले १४ खेलाडीलाई मात्र राख्ने चर्चा पनि छ । ग्रेड निर्धारण गर्न सन् २०१९ र २०२० दुवैको प्रर्दशनलाई आधार मान्ने देखिन्छ ।
यसअघि नै क्यानले राष्ट्रिय महिला टोलीका खेलाडीलाई समेत पहिलोपटक पारिश्रमिक दिने बताएको थियो । १५ महिला खेलाडीलाई तीन ग्रेडमा राख्ने तयारी समितिले गरेको छ । सम्झौता पुरुषझैं ६ महिनाको नै हुने छ । महिला पछिल्लो पटक गतवर्ष मंसिरमा १३ औं दक्षिण एसियाली खेलकुद (साग) खेलेको थियो । त्यसैले महिला खेलाडीको ग्रेड २०१९ को प्रर्दशनमा निर्धारण हुने छ ।समितिले कप्तान रुविना क्षेत्रीसँग पनि सल्लाह लिईसकेको छ । अर्कोतर्फ महिला टोलीका अधिकांश खेलाडी एपिएफ क्लबमा आबद्ध छन् । ती खेलाडीसँग सम्झौता गर्न मिल्ने वा नमिल्ने भन्ने कानुनी कुरामा समिति अझै स्पष्ट हुन नसकेको स्रोतले बताउँछ ।
यसअघि पुरुषतर्फ २०१९ मा २४ खेलाडीसँग सम्झौता रहेको थियो । सम्झौतामा रहेका खेलाडीमध्य ए ग्रेडले ३५, बी ग्रेडले २५ र सीले १५ हजार रुपैयाँ पारिश्रमिक पाउँदै आएका छन् । जसमा क्यानले केहि समयअघि हरेक ग्रेडमा १० हजार वृद्धि गरेर पठाउन आइसिसीलाई आग्रह गर्ने जनाएको थियो । राष्ट्रिय टोलीका खेलाडीले लामो समयदेखि तलब पाएका छैनन् । यताबाट आइसिसीलेनै पैसा नपठाएको कारण खेलाडीले तलब नपाएको स्रोतले जनाएको छ ।पुरुष र महिला दुवैको हकमा २०१९ र २०२० मा भएको प्रर्दशन, खेलाडीको अनुशान, जिम्मेवारी लगायतका थुप्रै पक्षलाई आधार मानेर यो वर्ष ६ महिनाको सम्झौता गर्ने समितिले अन्तिम तयारी गरेको स्रोतले बताउँछ । सकेसम्म थोरै खेलाडीलाई ग्रेडमा राख्न समितिले सुझाव दिएको बुझिएको छ । समितिले दिएको निर्देशन बोर्ड बैठकले पारित गरेपछि औपचारिक रुपमा निर्णय थाहा हुनेछ ।
पछिल्लो समय बढिरहेको कोरोना महामारीको कारण बोर्ड बैठक बस्ने निश्चित छैन । यसअघि साउन २५ वा २६ मा भैरहवामा बोर्ड बैठक बस्ने निर्णय भएको थियो । तर पछिल्लो समयको कोरोना अवस्थाले उक्त समयमा बोर्ड बैठक बस्न सकेन । कोरोना महामारीको विषयलाई लिएर सरकारले कुनै नयाँ निर्णय नगरे भदौ पहिलो साता बोर्ड बैठकको सम्भावना छ । उक्त बैठकमा खेलाडीको ग्रेड, पारिश्रमिकसँगै वाषिक साधरण सभाको तयारीको बारे छलफल र निर्णय हुनेछ ।
यसैगरी, कोरोना संक्रमणको दर झनै बढ्न थालेपछि अखिल नेपाल फुटबल संघ (एन्फा) ले आफ्नो १९औं साधरणसभा अनिश्चितकालका लागि स्थगित गरेको छ । एन्फाले १५ भदौमा साधरणसभा गर्ने जेठको पहिलो साता बसेको बैठकले निर्णय गरेको थियो । एन्फाका प्रवक्ता किरण राईले जारी गरेको विज्ञप्तिमा कोरोना संक्रमण दर झनै बढ्दै गएको, समुदाय स्तरमा संक्रमणको विस्तार हुन सक्ने उच्च जोखिमसमेत देखिएकाले स्थगित गर्नुपरेको विज्ञप्तिमार्फत जनाएका छन् । यसैगरी नेपाल सरकारको कोभिड–१९ संक्रमण रोकथाम, नियन्त्रण तथा व्यवस्थापन निकायबाट गोष्ठी, भेला, सम्मेलन, आवगमन जस्ता कार्यहरु निषेध गरेको परिपेक्षमा सतर्कता अपनाउनुपर्ने भएकाले एन्फाको साधरणसभा अर्काे सुचना जारी नभएसम्मको लागि स्थगित गरिएको उल्लेख गरेको छ । एन्फाले अब स्थिति अनुकुल भएपछि नयाँ मिति निर्धारण गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *