केकीले छाडेपछी ‘बिच्छेद’ मा लक्ष्मी लिड अभिनेत्रीमा अनुबन्ध


काठमाण्डौ, २८ साउन । बिच्छेद फिल्मका लागि पहिला अभिनेत्रीको रुपमा निर्माण टिमले केकी अधिकारीसँग सम्झौता गरेको थियो । तर, ‘परदेशी २’ सँग छायांकन जुध्न भएपछि उनले ‘बिच्छेद’ छाड्ने निर्णय लिएकी थिइन् । उनी बाहिरिएपछि निर्माण टिमले लक्ष्मीलाई लिड अभिनेत्रीमा अनुबन्ध गरेको हो । कोरोना भाइरस (कोभिड १९) को चपेटामा परेको फिल्म हो, ‘बिच्छेद’ । गत वर्षको चैत ५ गतेबाट सुरु भएको फिल्मको छायांकन लकडाउन भएपछि रोकियो । अब तिहारपछि बाँकी छायांकन सुरु गर्ने तयारीमा निर्माण टिम छ । ‘अनुराग’ फेम्ड निर्देशक सत्यराज चौलागाईंले क्याप्टेनसिप सम्हालेको फिल्ममा अभिनेता मुकुन भुषाल र अभिनेत्री लक्ष्मी वर्देवाको जोडी बाँधिएको छ । मुकुन र लक्ष्मीले यसअघि फिल्म ‘बुलबुल’ मा काम गरेका थिए । दुवै अभिनयमा उम्दा मानिन्छन् । राज पण्डित र सुबास राई निर्माता रहेको फिल्ममा सुष्मा निरौला, प्रिया रिजाल, लय संग्रौला, हिउवाला गौतम, सरिता राजउपाध्याय, जीवन थापालगायतका कलाकारहरुको अभिनय रहनेछ । संकल्प भुजेल छायाँकार रहेको फिल्म गाउँले परिवेशमा आधारित भएर निर्माण हुने निर्देशक चौलागाईंले जानकारी दिए । फिल्मलाई अर्को वर्ष प्रदर्शन गर्ने निर्माण टिमको तयारी छ । फिल्मको रामेछापको एक गाउँमा सम्पूर्ण छायांकन हुनेछ । अधुरैमा फिल्मको छायांकन रोकिँदा निर्मातालाई ठूलो आर्थिक क्षति भएको निर्देशक चौलागाईं बताउँछन् । ‘बिच्छेद’ प्रदर्शन भएपछि यही टिमले ‘अन्तरे’ नामक फिल्म पनि निर्माण गर्दैछ । यसमा लिड अभिनेताका लागि मुकुन भुषालसँग सम्झौता भइसकेको छ । अभिनेत्रीको भने टुंगो नलागेको निर्देशक सत्यराजले बताए ।
यसैगरी, निर्माता सन्तोष सेनले निरन्तर फिल्म निर्माण गरिरहेका छन् । ‘प्रेमगीत’ पछि वर्षमा एउटा फिल्म निर्माण गर्दै आएका उनी अर्को वर्षका लागि एक कमेडी फिल्म लिएर आउँदैछन् । फिल्मको नाम ‘हुतुतु’ जुराइएको छ । छेतन गुरुङ र सन्तोष सेनले संयुक्त रुपमा फिल्मको निर्देशन गर्नेछन् । अर्को वर्षबाट छायांकन सुरु हुने फिल्ममा नाम चलेका कलाकारहरु फाइनल गरिएको छ ।
फिल्ममा हरिवंश आचार्य, माओत्से गुरुङ, राजाराम पौडेलका साथै प्रदीप खड्का, पल शाह, गौरव पहारी, सलोन बस्नेत, नाजिर हुसेनको प्रमुख भूमिका रहनेछ । उनीहरु सबैसँग निर्माण टिमको कागजी सम्झौता भइसकेको छ । ठूलो लागतमा निर्माण हुने फिल्मको कथा सन्तोष सेनको हो भने त्यसलाई पटकथामा ढाल्ने काम छेतन गुरुङ र अभिमन्यू निरवीले गरिरहेका छन् ।
फिल्मको बारेमा जानकारी दिँदै सन्तोषले भने, ‘अहिले फिल्मको स्क्रिप्टमा काम भइरहेको छ । फिल्मका लागि पुरुष कलाकार छनौट भइसके पनि महिला कलाकार चाँडै छनौट गर्नेछौं । फिल्म पूर्ण कमेडी कथामा बन्नेछ । फिल्ममा जति पनि पुरुष कलाकार फाइनल हुनुभएको छ, उहाँहरु सबैको प्रमुख भूमिका छ । कोरोनाको महामारीपछि फिल्म फ्लोरमा जानेछ ।’
लामो समयदेखि दर्शकहरु प्रदीप र पललाई एउटै फिल्ममा हेर्न प्रतिक्षारत थिए । अब त्यो पूरा हुने भएको छ । उनीहरुलाई एकसाथ स्क्रिनमा हेर्न निकै रोचक हुने देखिन्छ । त्यस्तै, दुई पुस्ताको समिश्रणले फिल्म कस्तो बन्ने हो भन्ने चासो पनि सुरु भएको छ । कलाकार आचार्यले धेरैपछि बाहिरी ब्यानरको फिल्ममा काम गर्न लागेका हुन् । फिल्ममा मदनकृष्ण श्रेष्ठ भने हुने छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *