काठमाडौँ, २८ साउन । विभाग गठनका कार्य तत्काल रोक्न र गठन गरिएका औचित्यहीन विभाग खारेज गर्न
नेपाली काँग्रेसका युवा नेताले माग गरेका छन । पार्टीका एक दर्जन युवा केन्द्रीय सदस्यले मंगलबार संयुक्त विज्ञप्तिमार्फत महाधिवेशन सम्पन्न भएको दुई महिनाभित्र गरिनुपर्ने विभाग गठन कार्यकाल समाप्त भइसकेपछि गरिएको भन्दै उनिहरुले उक्त निर्णय कसरी वैधानिक र उपयुक्त हुन्छ भनी प्रश्न गरेका छन । काँग्रेसको १४ औँ महाधिवेशनको मिति तोकिसकेपश्चात् विभिन्न नियुक्ति गर्नु निर्वाचन आचारसंहिताको ठाडो उल्लङ्घन भएको उल्लेख गर्दै उनिहरुले विभाग गठनका कार्य तत्काल रोक्न र गठन गरिएका औचित्यहीन विभाग खारेज गर्नुपर्ने माग गरेका छन । पार्टीका केन्द्रीय सदस्य डा चन्द्र भण्डारी, धनराज गुरुङ, कमला पन्त, गगन थापा, गुरुराज घिमिरे, बद्री पाण्डे, रत्ना शेरचन, जीवन परियार, प्रदीप पौडेल, सरिता प्रसाईं, रामकृष्ण यादव, किरण यादवले विज्ञप्तिमार्फत पार्टी सभापति विधानको संरक्षक, पालक र कार्यान्वयनकर्ताको भूमिका निर्वाह गर्न आग्रह गरेका छन । उनिहरुले समयको पदचाप, पार्टीका साथीहरुको चाहना, नयाँ पुस्ताको आकांक्षा, राष्ट्रप्रतिको दायित्व र इतिहासको आवश्यकतालाई नेतृत्वले महसुस गरी अघि बढ्नपर्ने आग्रह गरेका छन ।
यसैगरी,नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले नेपाली काँग्रेसलाई युवाको पार्टी बनाउनुपर्ने बताएका छन । मंगलबार आफ्नै निवास महाराजगञ्जमा आयोजित ‘पार्टी प्रवेश’ कार्यक्रममा उनले काँग्रेसलाई युवाको पार्टी बनाउनुपर्ने बताएका छन । महामन्त्री कोइरालाले भने, “काँग्रेसमा युवा प्रवेश गरेर पार्टीमा नयाँ ऊर्जा थपिएको छ, यो ऊर्जालाई खेर जान दिनु हुँदैन ।” मुलुकलाई राजनीतिक, आर्थिक र विकासको दृष्टिकोणले सक्षम बनाउन काँग्रेसको विजयी आवश्यक रहेको उल्लेख गर्दै उनले वर्तमान सरकारको कार्यशैलीप्रति जनतामा अविश्वास जागेको बताए । उनले अन्याय र अत्याचारको विरुद्धमा युवाले आवाज उठाउनुपर्ने बेला आएको पनि बताए । कार्यक्रममा काँग्रेस केन्द्रीय सदस्य बद्री पाण्डे, जीवन परियार, काँग्रेस रामेछापका जिल्ला सभापति लवश्री न्यौपाने, काँग्रेस रामेछापका पूर्वसभापति रामचन्द्र खड्कालगायतको सहभागिता रहेको थियो । सोही अवसरमा रामेछाप दोरम्बा गाउँका करिब तीन दर्जन युवा विभिन्न पार्टी छोडेर नेपाली काँग्रेसमा प्रवेश गरेका थिए । नवप्रवेशीलाई महामन्त्री कोइरालाले माला, खादाद्वारा सम्मान गरेका थिए ।
यस्तै,नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले काँग्रेस पुनर्जागरणका लागि सातबुँदे प्रस्ताव अगाडि सारेका छन । वरिष्ठ नेता पौडेलले मंगलबार सातबुँदे प्रस्ताव अगाडि सार्दै पार्टीलाई नवजीवन दिनका लागि ‘निमुखालाई न्याय र विपन्नलाई आय’ साकार पार्न कर्मशील काँग्रेसको निर्माण गर्नुपर्ने बताएका हुन । उनले सैद्धान्तिक विचलन नभएको स्वच्छ छवि, देशभक्ति र फराकिलो राष्ट्रवादी विचारले काँग्रेस बलियो हुने बताए ।
उनले संसद्, सडक र बस्ती–बस्तीमा भरोसाको केन्द्र काँग्रेस बनाउने आफ्नो दृष्टिकोण रहेको भन्दै न्याय, पारदर्शी मूल्याङ्कन र निष्पक्षता पार्टी एकताको आधार हुने उल्लेख गरे । वरिष्ठ नेता पौडेलले लोकतान्त्रिक समाजवाद, समुन्नतिका आधार, हाम्रो बसोवास, व्यवस्थाको प्रश्न, सामाजिक–धार्मिक सद्भाव र परराष्ट्र सम्बन्धबारे आफ्नो दृष्टिकोण अगाडि सारेका छन । उनले उत्पादनमुखी अर्थनीति, गाउँमुखी विकास र जनमुखी शासन आवश्यक रहेको भन्दै युवा केन्द्रित रोजगारी सिर्जना गर्नुपर्ने बताए । प्रविधि प्रयोग गरी दक्ष नागरिक निर्माण गर्ने, स्वच्छ पानी, हावा र खुल्ला मैदानसहितको सुरक्षित बस्ती निर्माण गर्ने बताउँदै उनले ७० वर्षको सङ्घर्षबाट प्राप्त बहुलवादमा आधारित संसदीय समावेशी प्रणालीको जगेर्ना, समाजमा हरेक समूहबीच सहकार्य तथा नेपालको अखण्डता र स्वाभिमानको रक्षालाई अगाडि बढाउनुपर्ने बताएका छन ।