एकै दिन कोरोनाका ६ सय ३८ संक्रमित थपिए, ८३ जनाको मृत्यु, शैक्षिक संस्था, पार्टी प्यालेस र सैलुन अनिश्चितकालका लागि बन्द


काठमाडौँ, २८ साउन । मुलुकभर मंगलबार कोरोनाका ६ सय ३८ संक्रमित थपिएका छन् । यीसहित हालसम्म संक्रमितको संख्या २३ हजार ९ सय ४८ पुगेको छ । त्यस्तै, ८३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । काठमाडौं उपत्यकामा मंगलबार १ सय ३४ व्यक्तिमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा उपत्यकामा १ सय ३४ जनामा संक्रमण पुष्टि भएको जनाए । संक्रमितमध्ये काठमाडौंका ११०, ललितपुरका १६ र भक्तपुरका ८ जना छन । उनीहरूको उपत्यकाका विभिन्न प्रयोगशालाहरूमा परीक्षण गरिएको हो । यो अहिलेसम्म उपत्यकामा एकैदिन देखिएको धेरै संक्रमित संख्या हो ।
यसैगरी, सरकारले शैक्षिक संस्था अनिश्चितकालका लागि बन्द गरेको छ । कोरोना जोखिम रहेकोले अर्को सूचना जारी नभएसम्म शैक्षिक संस्था बन्द नै रहने सरकारका प्रवक्ता युवराज खतिवडाले जानकारी दिए । मन्त्रिपरिषदले गरेको निर्णय मंगलबार सार्वजनिक गर्दै खतिवडाले भने, ‘शैक्षिक संस्था, सेमिनार, पार्टी प्यालेस, सैलुन, पुस्तकालय अर्को सूचना नभएसम्म बन्द रहने निर्णय भएको छ ।’उनले काठमाडौं उपत्यका र २०० भन्दा बढी कोरोना संक्रमित भएका जिल्लामा जनतासँग प्रत्यक्ष जोडिएर दिने सेवा प्रवाहका काम सकेसम्म घरबाटै गर्ने व्यवस्था मिलाउन आग्रह गरेका छन् । ‘सरकारी तथा गैरसकारी संस्थामा ५० प्रतिशत कर्मचारीमात्रै कार्यालयमा आउने र बाँकीले घरबाटै काम गर्ने व्यवस्था सम्बन्धित कार्यालय प्रमुखले मिलाउने,’ उनले भने।बढी जनसम्पर्क हुने कार्यालयका सेवा अनलाइनबाट सम्भव नदेखिए अर्को निर्णय नभएसम्म बन्द गर्न उनले आग्रह गरेका छन् । सरकारले होटल तथा रेष्टुरेन्टमा बसेर खान नपाइने नियम पुनः लागू गरेको छ । साउन १५ देखि रेष्टुरेन्टमा बसेर खान पनि पाइने नियम लागू भएकोमा र कोरोना महामारी बढेकोले फेरि टेक अवेमात्रै गर्न मिल्ने बनाइएको सरकारका प्रवक्ता युवराज खतिवडाले जानकारी दिए ।‘होटल रेष्टुरा खोल्ने भनिएको थियो । अब होटल र रेष्टुराबाट तयार गरेको खाद्य परिकार लैजाने सेवा टेक अवेमात्र दिने निर्णय भएको छ,’ मंगलबार मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्दै उनले भने, ‘स्वास्थ्य सुरक्षाका उपाय अपनाएर परिचालित हौऔं भन्दा मास्क नलगाउने र भीडभाड बढेपछि टेक अवेमात्रै सञ्चालन गर्न दिइएको हो ।’
यस्तै, सरकारले १० वटा नाकाबाट मात्रै नेपाल आउन पाइने बताएको छ । स्वदेश आउनै पर्ने नेपालीलाई स्थलमार्गबाट आउन यसअघि २० नाकाबाट प्रवेश दिइएकोमा अबदेखि १० नाकाबाट मात्रै नेपाल भित्रन दिइने निर्णय गरेको सरकारका प्रवक्ता युवराज खतिवडाले जानकारी दिए । उनका अनुसार काकँडभिट्टा, रानी, माडर, गौर, वीरगञ्ज, बेलहिया, कृष्णनगर, जमुनाहा, गौरीफन्टा र गड्डाचौकीबाट मात्रै नेपाल आउन पाइनेछ ।
सीमा नाका भने भदौ ३१ गते बुधबारसम्म बन्द गर्ने निर्णय मन्त्रिपरिषदले गरेको खतिवडाले बताए । मालसामान ढुवानी र जोखिममा रहेका नेपालीलाई नाकाबाट आउन दिने उनले बताए ।
यसैगरी, प्रदेश १ मा एकै दिन अहिलेसम्मकै धेरै कोरोना सक्रमित भेटिएका छन् । यो प्रदेशमा मंगलबार एकै दिन ९८ जना कोरोना संक्रमित थपिएका हुन् । यो अहिले सम्मकै उच्च संख्या भएको प्रदेश सामाजिक विकास मन्त्रालयले जनाएको छ । जसअनुसार मोरङ जिल्लामा ६१, सुनसरीमा १८, उदयपुरमा १५, झापामा २ , इलाम र ताप्लेजुङमा १–१ जनामा संक्रमण देखिएको प्रदेश १ को सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखा प्रमुख सुरेश मेहताले जानकारी दिए । उनका अनुुसार झण्डै १५ सयको पीसीआर परीक्षण गर्दा ९८ जनामा कोरोना पोजेटिभ रिपोर्ट आएको हो । जसमध्ये विराटनगरका मात्रै ५० जना छन् । विराटनगरका २१ महिला र २९ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *