स्क्वास हल पुर्ण रुपमा बन्द, फुटबल टोलीको कोरोना परिक्षण हुदै

काठमाडौं, २७ साउन । राष्ट्रिय खेलकुद परिषद अन्तर्गत स्क्वासका प्रशिक्षक हिरा बहादुर थापालाई कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको छ ।पूर्व राष्ट्रिय च्याम्पियन समेत रहेका थापाले आफुलाई कोरोना देखिएको बताएका छन् । सँगै खेल्ने स्क्वासका सदस्य तथा नेपाल स्क्वास एन्ड र्याकेट्स संघका उपाध्यक्षलाई बिहीबार पोजिटिभ देखिएपछि आफुले पनि शनिबार स्टार अस्पताल पुगेर परिक्षण गराएको र आज (आइतबार) स्वास्थ्य मन्त्रालयबाट कोरोना पोजेटिभ देखिएको भन्दै फोन आएको प्रशिक्षक थापाले जानकारी गराए ।स्क्वासले केही दिनयता, आफ्ना सदस्यहरुका लागि प्रशिक्षण तथा खेल्न कोर्ट खुल्ला गरेको थियो । अहिले स्क्वास हल पुर्ण रुपमा बन्द गरिएको छ । खेल्ने क्रममा नै असहज अनुभव भएपछि संघका उपाध्यक्ष मनोज बहादुर श्रेष्ठले कोरोना परिक्षण गराउदा पोजेटिभ आएको र त्यसपछि ८–१० जनाको परिक्षण गर्दा आफ्नो मात्रै पोजेटिभ आएको प्रशिक्षक थापाले जानकारी गराए ।प्रशिक्षक थापा सातदोबाटोस्थित स्क्वास भवनको एक फ्लोरमा क्वारेन्टिनमा बसिरहेको र कोरोना पोजिटिभ देखिएपनि थापाले आफ्नो स्वास्थ्य सामान्य रहेको र आत्तिनुपर्ने कुनै अवस्था नरहेको बताएका छन् । प्रशिक्षक थापा ६० सालयता राखेप अन्तर्गत स्क्वासको प्रशिक्षक रहेका छन् ।
यसैगरी, कतार विश्वकप २०२२ र एसियन कप २०२३ को दोस्रो चरणको खेलको लागि बन्द प्रशिक्षणमा रहेका नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका खेलाडीहरुको कोरोना परिक्षण सोमबार र मंगलबार हुने भएको छ । एक महिनाको योजनामा राष्ट्रिय टोलीको प्रशिक्षण सुरु गर्नुअघि बन्द प्रशिक्षणमा रहेका सबै खेलाडी, कोचिङ स्टाफ, टिम अफिसियल, होस्टेल स्टाफको कोरोना परिक्षण गर्न लागेको एन्फाले जनाएको छ । सबैको परिक्षण पाटन अस्पताल लगनखेलमा हुनेछ । दुईदिनमा सबैको कोरोना परिक्षण सकिने एन्फाले जनाएको छ ।एन्फाले प्रशिक्षणका लागि १७ बुदे प्रोटोकल तयार पारिसकेको छ । नेपाली टोलीले १ भदौबाट प्रशिक्षण थाल्ने तयारी गरेको छ । सुन्दर ढोका साथी सेवाको समन्वयमा एन्फाले बिहीबार एन्फा होस्टेल र एन्फा कार्यालय डिसइन्फेक्सन गरिसकेको छ । परिक्षणको रिपोर्ट आएपछि खेलाडीलाई एन्फा होस्टेलमा राखिनेछ । प्रशिक्षण अवधिभर खेलाडीले होस्टेल छाड्न पाउनेछैन ।बन्द प्रक्षिणमा ३४ खेलाडीलाई डाकिएको छ । मुख्य प्रशिक्षक योहान कालिन नरहेको अवस्थामा सहायक प्रशिक्षक किरण श्रेष्ठले नेपाली टोलीलाई प्रशिक्षण दिने छ । गोलकिपिङ प्रशिक्षकमा एन्फाले राष्ट्रिय टोलीका पुर्वगोलरक्षक विकास मल्ललाई नियुक्त गरिसकेको छ । एन्फाले १० देखि १२ जना सम्मको समूहमा राखेर खेलाडीलाई प्रशिक्षणमा सहभागी गराउने तयारी गरेको छ । नेपालले घरेलु मैदान दशरथ रंगशालामा ८ अक्टोबरमा चाइनिज ताइपेइ, १३ अक्टोबरमा अष्ट्रेलिया तथा १३ नोभेम्बरमा जोर्डनसँग खेल्ने तालिका छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *