अभिनेत्री पूजा शर्मालाई दारे भनेकोमा सुवेदीले माफी मागे

काठमाडौं, २७ साउन । अभिनेत्री पूजा शर्मालाई दारे भनेकोमा एपी वान टेलिभिजनको ‘रजतपट’ कार्यक्रम संचालक पत्रकार प्रकाश सुवेदीले माफी मागेका छन । एपी वान टेलिभिजनको ‘रजतपट’ कार्यक्रममा पत्रकार प्रकाश सुवेदीले अपमानजनक र अशोभनीय शब्द प्रयोग गरेपछि फिल्मकर्मीहरु उनको विरोधमा उत्रिएका छन् । पत्रकार सुवेदीले कार्यक्रममा कसैको नाम उच्चारण नगरी ‘दारे’ शब्द प्रयोग गरेका थिए । उनले आफूप्रति लक्षित गरेर उक्त टिप्पणी गरेको पूजाको प्रतिक्रियापछि फिल्मकर्मीहरु उनको समर्थनमा उभिएका छन् ।यसबीच, अभिनेत्री शर्माले आइतवार पत्रकार सुवेदीविरुद्ध चलचित्र कलाकार संघमा उजुरी दिएकी छन् । निर्देशक सुदर्शन थापाको साथमा संघ पुगेकी उनी निकै भावुक भएकी थिइन् । पत्रकार सुवेदीले कार्यक्रममा प्रयोग गरेको शब्दले आफ्नो अपमान भएको ठानेर उजुरी दिएको उनको भनाई छ । उनले चलचित्र पत्रकार संघ, एपी वान टेलिभिजनमा पनि उजुरी दिएकी छन् ।
संघमा उजुरी दिँदै पूजाले भनिन्, ‘प्रकाश दाईसँग ३ महिना अगाडि दिएको अन्तर्वार्ताका कारण म ट्रोलको शिकार भएको थिएँ । जसले गर्दा मैले मानसिक तनाव भोगिरहेको थिएँ । फेरि उहाँले मलाई अन्तरर्वार्ताका लागि बोलाउनुभयो, म जान मानिनँ । उहाँले मलाई हरेक हप्ता गिराएर बोलिरहनुभएको छ । पछिल्लो भाग हेरेपछि मलाई नराम्रो लाग्यो र अब लड्छु भन्ने निर्णय गरेँ ।’
अभिनेत्री पूजाको निवेदन लिँदै कलाकार संघका अध्यक्ष रविन्द्र खड्काले उनलाई न्याय दिने आश्वासन दिएका छन् । उनले सञ्चारकर्मीसँग भने( ‘भोली प्रकाशजीले कार्यक्रममा कसैको नाम लिएको छैन भन्दै पन्छिन खोज्नुहोला । तर, उहाँले कसैको नाम नलिएपनि सिंगो फिल्म क्षेत्रलाई होच्याउनुभएको छ । हामी आकस्मिक बैठक बसेर यो विषयमा के गर्ने भनेर निर्णय लिनेछौं ।’
त्यस्तै, निर्देशक थापाले पत्रकार सुवेदीले यसअघि पनि पूजामाथि शब्दमार्फत् ह्यारेस्मेन्ट गरेको आरोप लगाए । ‘कसैलाई शारीरिक खोट लगाएर ह्यारेसमेन्ट गर्न पाइँदैन । पूजाको ठाउँमा उहाँले आफ्नो छोरीलाई राखेर त्यसप्रकारको शब्द प्रयोग गर्न सक्नुहुन्छ ? पत्रकारले अन्तरर्वार्तामा बोलायो भन्दैमा जानै पर्छ भन्ने छ र ?,’ उनले भने । पूजाको लडाईंमा आफू साथमा रहेको उनले बताए ।
यसैगरी, एपी वान टेलिभिजनबाट प्रशारण हुने ‘रजतपट’ कार्यक्रममा छुद्र शब्द उच्चारण गरेपछि विवादमा तानिएका पत्रकार प्रकाश सुवेदीले आइतवार साँझ यूट्युबमा एक भिडियो सार्वजनिक गर्दै माफी मागेका छन् । पछिल्लो श्रृंखलामा उनले कसैको नाम नलिइ ‘दारा’ शब्द प्रयोग गरेका थिए । राष्ट्रिय टेलिभिजनमा यसप्रकारको शब्द प्रयोग गरेको भन्दै उनको आलोचना भइरहेको छ ।
अभिनेत्री पूजा शर्माले उक्त शब्द आफूप्रति लक्षित रहेको भन्दै आपत्ति जनाएपछि फिल्मकर्मीहरुले पनि पत्रकार सुवेदीको विरोध गरिरहेका छन् । आइतवार पूजाले विभिन्न फिल्म सम्बद्ध संघ संस्थामा उजुरी दिएपछि सोही साँझ पत्रकार सुवेदीले माफी माग्दै आफूले बोल्नै नहुने शब्द बोलेको स्वीकार गरेका छन् । भोलीका दिनमा शब्द चयनमा ध्यान पु¥याउने पनि उनले बताएका छन् । उनले भनेका छन्, ‘कार्यक्रममा व्यक्त गरिएका मेरा भावनाहरु व्यक्ति विशेषप्रति लक्षित थिएन । प्रतिकात्मक रुपमा व्यक्त गरिएका विचारहरु थिए । मेरो भन्ने शैली अलि फरक भयो होला । मैले भन्ने खोजेको कुराको अर्थको अनर्थ लाग्न गयो होला । मेरो मुखबाट फुत्किएको दारा भन्ने शब्द वास्तवमा फुत्किनु हुँदैन थियो । गल्ती भयो । भविष्यमा शब्द चयन गर्दा ध्यान पु¥याउनेछु ।’ क्यामेरा पछाडि आफूले केही फिल्मकर्मीलाई यीनै शब्द प्रयोग गरेर जिस्कने गरेको भएता पनि क्यामेरा अगाडि यी शब्द बोल्न नहुने र आफूबाट गल्ती भएको उनले स्वीकारेका छन् । ‘म चुकेकै हो । मैले माफी माग्नै पर्छ । तर, मेरो भनाई कसैप्रति लक्षित थिएन । यस्ता शब्दहरु नेपाली फिल्ममा बढि बोलिने भएका कारण मलाई बानी परेको होला । माफी चाहन्छु,’ उनले भनेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *