पूर्ण लकडाउन मुलुकले धान्न नसक्ने काँग्रेसको ठहर

काठमाडौँ, २७ साउन । पूर्ण लकडाउन मुलुकले धान्न नसक्ने भन्दै नेपाली काँग्रेसको कोभिड–१९ अनुगमन समितिले कोरोना परीक्षणको नतिजाको आधारमा सङ्क्रमित स्थानहरुमा लक्षित लकडाउन र आइसोलेशनको उचित व्यवस्था गर्न सरकारसँग माग गरेको छ । समितिले सोमबार पत्रकार सम्मेलन गरी कोरोना सङ्क्रमण समुदायमा पुगिसकेको स्थिति भएकाले सम्भावित सङ्क्रमित स्थानहरुको सघन अनुगमनका आधारमा त्यस्ता क्षेत्रहरुमा लक्षित गरी परीक्षणको दायरा व्यापक बनाउन सरकारसँग आग्रह गरेको छ ।
समिति संयोजक एवं काँग्रेस सहमहामन्त्री डा प्रकाशशरण महतले लकडाउन खोलिएयता पनि मुलुकको आर्थिक सामाजिक क्षेत्र पूर्णरुपमा पुनःसञ्चालन हुने अवस्था नभएको र शिक्षा तथा अर्थतन्त्रका धेरै क्षेत्रहरु लामो समय जोखिममा रहने अवस्था रहेकाले जोखिम न्यून गर्ने उपायतर्फ सरकारलाई गम्भीर बन्न माग गरेका छन ।
समितिले सम्भावित सङ्क्रमितहरुलाई सीमामा प्रवेश रोक्न कडाइका साथ व्यवस्थापन गर्न, खाडी मुलुकहरुमा रोजगार गुमाई प्रवेशाज्ञा अवधि सकिएकाहरुलाई तत्काल नियमित उडान गरी सस्तो दरमा व्यस्थित रुपमा स्वदेश फिर्ता गर्ने व्यवस्था मिलाउन माग गरेको छ । समुदायमा सङ्क्रमण विस्तारसँगै ज्येष्ठ नागरिकहरु सङ्क्रमित हुँदा मृत्यु दर बढेको र बिरामीको सङ्ख्या पनि बढ्दो देखिएकाले तत्काल निजी अस्पताललाई पनि सहभागी गराई कोभिड–१९ को उपचारमा परिचालन गर्ने व्यवस्था मिलाउन उनले माग गरेका छन ।
आवश्यक सङ्ख्यामा भेन्टिलेटर, हस्पिटल बेड, आइसियु कक्ष, अक्सिजन र अन्य स्वास्थ्य उपकरणहरुको चाहिंदो व्यवस्था मिलाउन, स्वास्थ्यकर्मी र यसमा संलग्न अन्य सहयोगीहरुको हौसला कायम राख्न कोभिड–१९ जोखिम भत्ता तत्काल व्यवस्था गर्न, बीमाको व्यवस्थालाई तत्काल कार्यान्वयन गर्न, भविष्यमा थप स्वास्थ्यकर्मीहरुको आवश्यकतालाई समेत ध्यानमा राखी स्वास्थ्यकर्मीको अभाव हुन नदिने व्यवस्था सुनिश्चित गर्न माग गरिएको छ ।
समिति संयोजक डा महतले क्वारेन्टिन केन्द्रहरुलाई मापदण्डअनुसार बनाउने व्यवस्था गर्न, कुनै पनि नागरिक कोभिड–१९ सम्बन्धी होस् वा अन्य बिरामी हुन् उपचारको ढोका बन्द भएर मर्नु नहुनेलगायत विषयमा सरकारको ध्यानाकर्षण गराए । समितिले कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि प्रभावकारी नेतृत्वलाई जिम्मेवारी दिनुपर्ने तथा स्वास्थ्य मन्त्रालयमा वरिष्ठता र व्यवसायिकताका आधारमा जिम्मेवारी दिनुपर्ने माग गरेको छ ।
यसैगरी, नेपाली काँग्रेसले त्रिभुवन विश्वविद्यालयमा भइरहेको अनियमितता र राजनीतीकरण एवं पोखरा विश्वविद्यालय केन्द्रीय क्याम्पसमा १८ दिनदेखि जारी विद्यार्थीहरुको अनशनप्रति सरकारी बेवास्तालाई गम्भीरता पूर्वक लिएको जनाएको छ । काँग्रेसले सोमबार एक विज्ञप्तिमार्फत त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरुले प्राज्ञिक संस्थाको जिम्मेवारी अनुरूपको गरिमा राख्न नसक्दा विश्वविद्यालय अन्वेषण र चिन्तनको थलो भन्दा विसंगतिपूर्ण द्वन्द्वको खेल मैदान बन्न्दै जानु दुःखद भएको उल्लेख गरेको छ ।
प्रजातन्त्रवादी प्राध्यापक सङ्घ नेपालले त्रिविलाई प्राज्ञिक सुशासनको केन्द्र बनाऔं भन्ने उद्घोष साथ प्राज्ञिक, शैक्षिक एवं प्रशासनिक पदको नियुक्ति राजनीतिक भागवण्डामा नगरी ज्येष्ठता र प्राज्ञिक वरिष्ठताको आधारमा निश्चित मापदण्ड पारदर्शी ढङ्गले निर्धारण गरी नियुक्ति गर्नुपर्ने लगायतका ३३ बुँदे माग अघि सारेर दबाबमूलक कार्यक्रम गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *