नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या ७९ पुग्यो, देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ६ हजार ७ सय ३८

काठमाडौँ, २७ साउन । नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या ७९ पुगेको छ । सोमबार दुई महिला र दुई पुरुष गरि चार जनाको कोभिड–१९ सङ्क्रमणबाट मृत्यु भएको छ । यससँगै नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या ७९ पुगेको हो । बाँकेको कोहलपुर नगरपालिका–२ का ७० वर्षीया महिलाको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचारका क्रममा आइतबार मृत्यु भएको हो ।
पर्साको देवयानी गाउँपालिका १५ का ४५ वर्षीय महिलाको पनि कोभिड सङ्क्रमणका कारण आइतबार नै नारायणी अस्थायी कोभिड अस्पतालमा मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिए । यसैगरी काठमाडौँ महानगरपालिका–१० मध्यबानेश्वर बस्ने ७६ वर्षीय पुरुषको सोमबार मेडिकेयर अस्पतालमा र कीर्तिपुर नगरपालिका ट्याङ्लाफाँट बस्ने ६४ वर्षीय पुरुषको पनि कोरोना भाइरसका कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
मुलुकका विभिन्न प्रयोगशालामा गरिएको ८ हजार ४३४ नमूना परीक्षणमा आज कुल ३३८ नयाँ सङ्क्रमित थपिएको मन्त्रालयले जनाएको छ । सोमबार सबैभन्दा बढी बाँकेमा ६३ जना नयाँ सङ्क्रमित थपिएका छन् । यस्तै काठमाडौँ उपत्यकामा ४४ जनामा सङ्क्रमण पुष्टि भएको छ । काठमाडौँमा ३६, ललितपुरमा चार र भक्तपुरमा चार जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
रौतहटमा ३१, मकवानपुरमा २३, पर्सामा २२, सर्लाहीमा २१, दैलेखमा १७, मोरङ र प्युठानमा १५÷१५, धनुषामा १३, कपिलवस्तुमा ११, कैलाली र सल्यानमा सात÷सात, सिन्धुलीमा छ, दाङमा पाँच, नुवाकोटमा चार, महोत्तरी, बारा र गोरखामा तीन÷तीन, खोटाङ, तनहुँ, बर्दिया र नवलपरासी पूर्वमा दुई÷दुई तथा झापा, सिन्धुपाल्चोक, अछाम, अर्घाखाँची, बागलुङ, चितवन, पाल्पा, रामेछाप, स्याङ्जा, रुपन्देही, रोल्पा, सुर्खेत, बैतडी र बझाङमा एक÷एक सङ्क्रमित थपिएका मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घन्टामा १४० जना कोरोना जितेर डिस्चार्ज भएका छन् । यससँगै हालसम्म कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या १६ हजार ४९३ पुगेको छ । जुन ७०.७ प्रतिशत हो । धनकुटा, सङ्खुवासभा, मनाङ, मुस्ताङ, डोल्पा र हुम्लामा कोरोनाका सक्रिय सङ्क्रमित छैनन् ।
देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या छ हजार ७३८ रहेको छ । पर्सा, रौटहट, महोत्तरी र काठमाडौँमा ५०० बढी सक्रिय सङ्क्रमित उपचाररत छन् । क्वारेन्टिमा रहनेको सङ्ख्या १० हजार ७५९ छ ।
यसैगरी, बाँकेमा कोरोना सङ्क्रमण पुष्टि भएका १२ जना सङ्क्रमित सम्पर्क विहीन भएका छन् । सम्पर्कविहीन हुँदा समुदायमा झनै सङ्क्रमणको जोखिम बढ्दै गएको स्वास्थ्य कार्यालय बाँकेका स्रोत व्यक्ति नरेश श्रेष्ठले बताए ।
उनका अनुसार, भेरी अस्पतालबाट स्वाब सङ्कलन गरी साउन २३ गते कोरोना सङ्क्रमण पुष्टि भएका नेपालगञ्ज उपमहानगरपालिका–२ का ३४ वर्षीय पुरुष र नेपालगञ्ज ६ का २७ वर्षीया महिला, २४ गते सङ्क्रमित पुष्टि भएका नेपालगञ्ज–१२ का २८ वर्षीया महिला र नेपालगञ्ज १८ का ३५ वर्षीय पुरुष सम्पर्कमा आएका छैनन् ।
यसैगरी, साउन २४ गते सङ्क्रमित भएका नेपालगञ्ज १९ का ११ वर्षीया बालिका, १९ कै २४ वर्षीय पुरुष, नेपालगञ्ज–१६ का १२ वर्षीया बालिका सम्पर्कविहीन रहेकाले खोजी कार्य भइरहेको छ । उनीहरु महेन्द्र बहुमुखी क्याम्पसको क्वारेन्टिनमा बसेका हुन् तर स्वाब दिएपछि घर गएका थिए ।
साउन २२ गते वडा प्रहरी कार्यालयबाट स्वाब सङ्कलन गरी २५ गते सङ्क्रमण पुष्टि भएका ४७ वर्षीया महिला, २४ वर्षीया महिला, चार र दुई वर्षका दुई बालक, र ४२ वर्षीय पुरुष पनि सम्पर्कमा आएका छैनन् । नेपालगञ्ज ११ का २९ वर्षीया महिला पनि सम्पर्कमा नआएको स्रोत व्यक्ति पर्सन श्रेष्ठले बताए ।
पटक–पटक सम्पर्क गर्दा आइसोलेशनमा आउन नचाहने र मोबाइल बन्द गर्ने गरेको पाइएको श्रेष्ठको दाबी छ । यीमध्ये कतिपयको मोबाइल बन्द भएको, कतिपयले नलाग्ने र नमिल्ने सम्पर्क नम्बर दिएको र दिएको नम्बरमा सम्पर्क गर्दा बालकका अभिभावकले हाम्रो बच्चा होइन भन्ने गरेको श्रेष्ठले जानकारी दिए ।
यस्तै, कर्णालीमा कोभिड– १९ सङ्क्रमितको सङ्ख्या दुई हजार तीन पुगेको छ । पछिल्लो चौबिस घण्टामा थप २४ जनाको पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या दुई हजार नाघेको हो । सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका अनुसार दैलेख अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा दैलेखका १७, प्रदेश अस्पताल÷पशुपक्षी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा सल्यानका छ र सुर्खेतका एक गरी २४ जनामा सङ्क्रमण पहिचान भएको हो । त्यस्तै कोरोना निको भई आइसोलेशनबाट डिस्चार्ज हुनेको सङ्ख्या एक हजार ८८० पुगेको छ । हाल कर्णालीमा ११७ जनामात्र कोरोनाका सक्रिय बिरामी रहेका छन् भने ६ जनाको मृत्यु भइसकेको छ ।
विश्वभर सोमबारसम्म दुई करोड २६ लाख ४३४ जनामा कोरोना सङ्क्रमण देखिएको छ । यस्तै सात लाख ३४ हजार २८ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । कोरोनालाई जितेर निको हुनेको सङ्ख्या एक करोड २९ हजार ७८ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *