फ्लप फिल्मकी हिट हिरोइन वर्षालाई छायांकनको सेड्युल मिलाउन सकस

काठमाण्डौ, २६ साउन । वर्षा सिवाकोटीलाई फिल्म क्षेत्रमा ‘फ्लप फिल्मकी हिट हिरोइन’ भन्ने गरिन्छ । ‘नाईं नभन्नू ल २’ बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी उनी प्रमुख भूमिकामा रहेका कुनै फिल्म सफल नहुनु र यसका बावजूद फिल्मविहीन हुनु नपरेका कारण उनलाई यो ट्यागलाइन लागेको हो । एकपछि अर्को फिल्म असफल भएपछि प्रायः कलाकार कामविहीन हुन्छन् । वर्षाको हकमा भने ठीक उल्टो छ । साइन गरेको फिल्म छाड्न पनि सिपालु मानिने उनी लकडाउनभन्दा अगाडि फिल्म ‘परदेशी २’ को छायांकनमा व्यस्त थिइन् । यसमा उनको जोडी गायकबाट नायक बन्न लागेका प्रकाश सपूतसँग बाँधिएको छ । फिल्ममा अभिनेत्री केकी अधिकारी पनि छिन् । कोरोनाका कारण सरकारले लकडाउन गरेपछि रोकिएको फिल्मको छायांकन अब कहिलेबाट सुरु हन्छ, कुनै निश्चित छैन । ‘परदेशी २’ भन्दा अगाडि उनी ‘चालबाज’ को छायांकनमा व्यस्त थिइन् । यो फिल्मको छायांकन पनि पूरा भइसकेको छैन । ‘परदेशी २’ पछि उनले रमेश बुढाथोकीको निर्देशनमा फिल्म ‘सुदूर’ गर्ने फाइनल भएको थियो । उनले मिलन चाम्ससँग फिल्म ‘गोर्खा वारियर’ का लागि पनि सम्झौता गरेकी छन् । तर, कोरोनाका कारण यी सबै फिल्मको छायांकन सेड्युल विग्रिएको छ । फिल्म क्षेत्र खुलेपछि ‘गोर्खा वारियर’ बाहेक वर्षाले साइन गरेका अन्य फिल्म फ्लोरमा निस्कने तयारीमा छन् । यो अवस्थामा उनलाई फिल्मको छायांकन सेड्युल मिलाउन सकस पर्न सक्नेछ । छायांकन जुध्ने अवस्था आए उनले कुनै एक फिल्म छाड्नु पर्ने पनि हुनसक्छ । अहिले वर्षालाई यही पिरलोले सताएको छ ।
यसैगरी, कोरोना भाइरसका कारण पाँच महिनादेखि ठप्प रहेको फिल्म क्षेत्र अझै खुल्न सकेको छैन । लकडाउन अन्त्य भएपछि अन्य क्षेत्र खुले । तर, सरकारले फिल्म निर्माण, प्रदर्शन र वितरणमा अनिश्चितकालका लागि प्रतिबन्ध लगाएको छ । फिल्मकर्मीहरु निर्देशिका बनाएर फिल्म क्षेत्र खोल्नु पर्ने बताइरहेका छन् । तर, दशैंअघि यो क्षेत्र सञ्चालनमा आउने सम्भावना न्यून देखिएको छ । सरकार फिल्म क्षेत्र खोल्ने विषयमा गम्भीर नहुँदा दर्जन बढी फिल्मको निर्माण रोकिएको छ । निर्देशक हेमराज विसी आउँदो कात्तिकबाट नयाँ फिल्मको छायांकन सुरु गर्ने तयारीमा थिए । तर, अब अर्को वर्षका लागि फिल्मको छायांकन सारिएको छ । बेनामे फिल्ममा हेमराजले गत वर्ष नै अभिनेता प्रदीप खड्का र अभिनेत्री साम्राज्ञी आरएल शाहसँग कागजी सम्झौता गरेका थिए । छायांकनमा जान ढिलाइ भएपछि प्रदीप र साम्राज्ञीले यो फिल्मबाट हात झिकेको गाईंगुईं सुनिएको छ । ‘प्रेमगीत ३’ प्रदर्शनपछि प्रदीप निर्देशक दिनेश राउतको फिल्म गर्ने तरखरमा रहनु र साम्राज्ञीले हालै एक फिल्म साइन गर्नुले पनि यो चर्चालाई थप मलजल मिलेको छ । तर, यसमा कुनै सत्यता नभएको हेमराज बताउँछन् । फिल्ममा प्रदीप र साम्राज्ञी यथावत रहेको उनको भनाई छ ।उनले भने ‘कात्तिकबाट छायांकनमा जाने तयारी थियौं । तर, कोरोनाका कारण अर्को वर्षका लागि धकेलिएको छ । स्क्रिप्ट लगभग फाइनल भइसकेको छ । प्रदीप र साम्राज्ञी दुवैले पहिला यही फिल्म गर्नुहुनेछ ।’ उनी कोरोनाका कारण फिल्मका लागि छायांकन स्थल समेत तोक्न नसकेको बताउँछन् । प्रदीप र साम्राज्ञीसँग हेमराजले पहिलो पटक सहकार्य गर्न लागेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *