कोरोनाको कारण राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षण स¥यो


काठमाडौं, २५ साउन । कोरोनाको कारण राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षण सरेको छ ।
राष्ट्रिय क्रिकेट टोलीले भदौ १ गते देखि गर्ने भनेको बन्द प्रशिक्षण तत्काल नहुने भएको हो । नेपाल क्रिकेट संघ (क्यान) ले भदौ १ गतेदेखि प्रशिक्षण थाल्ने र २२ देखि २४ खेलाडी प्रशिक्षणमा बोलाउने तयारी गरेको थियो । प्रशिक्षणकै लागि टीयू मैदानभित्र परिसरमै क्वारेन्टाइन, खाना र बस्ने ब्यवस्था गर्ने जनाएको थियो । खेलाडी र टीयू मैदानका सबै कर्मचारीको कोरोना परिक्षण पिसिआर गर्ने बताएपनि अन्तिममा नगर्ने जनाएको छ । पिसिआर परिक्षण क्यानको पहलमा स्वास्थ्य मन्त्रालयले गर्ने जनाएको थियो । बिहीबार क्यानले आगामी दुई महिनासम्म प्रशिक्षण गर्न नसकिने जनाएको छ ।‘हामीले प्रशिक्षण सार्नुपरेको छ । मुख्यत आगामी पाँच महिना सम्म कुनै अन्तर्राष्ट्रिय खेल छैन । अर्कोतर्फ काठमाडौंमा ७–८ जना मात्र खेलाडी छन् । धेरै खेलाडी काठमाडौं बाहिर छन् । कोरोनापनि पछिल्लो समय बढ्दै गएको छ । जसको कारण असोज अन्तिम अघि प्रशिक्षणको सम्भावना रहँदैन’, क्यानका सचिव अशोकनाथ प्याकुरेलले भने ।‘आइसिसीले पछिल्लो पटकको कुराकानीमा डिसेम्बर अघि नेपालको कुनै अन्तर्राष्ट्रिय खेल नभएको जनाएको छ । पाँच महिनासम्म प्रशिक्षण गरिराख्ने कुरा भएन । अर्कोतर्फ कोरोनाको कारण थुप्रै चुनौती छन् । त्यसैले हामीले प्रशिक्षण सारेका छौं’, उनले भने ।केहि समयअघि क्यानले ६ महिना देखि खेलाडी प्रशिक्षण बाहिर हुँदा लयमा ल्याउनको लागि बन्द प्रशिक्षण थाल्ने जनाएको थियो । राष्ट्रिय टोलीले अन्तिम पटक पछिल्लो समय फागुनमा थाईल्यान्डमा एसिसी इस्टर्न रिजन टि२० प्रतियोगिता खेलेको थियो । सेप्टेम्बरमा नामिबियामा आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिजको प्रस्तावको चर्चा चलेपनि क्यानले औपचारिक पुष्टि गरेको थिएन ।
क्यानले दुई महिनापछि अन्तर्राष्ट्रिय प्रतियोगिता र खेल नभएमा घरेलु क्रिकेटमा जोड दिने बताएको छ । विदेशी प्रशिक्षकको लागि पनि पहल जारी राख्ने जनाएको छ । हाल सबै अवस्था हेर्दा आगमी दुई महिना अघि सम्म नेपालले विदेशी प्रशिक्षण पाउने सम्भावना देखिदैन ।नेपालले यस वर्ष खेल्ने तालिका रहेका विश्वकप लिग–२ का तीन त्रिकोणात्मक सिरिज स्थगित भएसँगै यो वर्ष अन्तर्राष्ट्रिय प्रतियोगिता र खेलको सम्भावना कम रहेको छ । डिसेम्बरमा बंगलादेशमा इमर्जिङ टिम्स एसिया कप एकदिवसिय खेल्न बाँकी छ । त्यो पनि कोरोनाको कारण हुने नहुने अन्यौल छ ।
यसैगरी, नेपाली राष्ट्रिय फुटबल टोली तथा आईलिग क्लब मिनेर्भा पन्जाबका गोलरक्षक किरण चेम्जोङलाइ विदेशी कम्पनिले प्रायोजन गरेको छ । साइप्रसको ग्लोभ्स कम्पनि आरजीले दुई वर्षका लागि किरणसँग सम्झौता गरेको हो । सम्झौता अनुसार आरजीले किरणलाई प्रत्यक वर्ष २० जोर ग्लोभ्स उपलब्ध गराउनेछ । दुई वर्ष गरेर झन्डै ६ लाख बराबरको सामग्री किरणले प्राप्त गर्नेछन् । नेपाली फुटबलमा गोलरक्षकका लागि यसरी ग्लोभ्सकै व्यावसायिक सम्झौता भएको यो पहिलो पटक हो । किरणले पहिलोपटक भएकाले व्यक्तिगत माग राख्न भन्दापनि सुरुवात राम्रो होस् भन्ने चाहेको बताए । ‘ हामीले यसअघि आफ्नै पैसा खर्च गरेर खरिद गर्दै आएका थियौं । यो सम्झौतालाई सुरुवातको रुपमा लिएको छु ।’‘आउने दिनमा म मात्र होइन अन्य खेलाडीले पनि यस्तो अवसर पाउने विश्वास लिएको छु । हाललाई दुई वर्ष मात्र भएपनि आउने दिनमा सम्झौता नविकरण हुने विश्वास छ,’ उनले भने ।किरण हाल भारतमा व्यावसायिक फुटबल खेलिरहेका छन् । नेपाल, माल्दिभ्स र भारको शीर्ष श्रेणी लिग जितेका उनी माल्दिभ्स र नेपाल दुवै लिगमा उत्कृष्ट गोलरक्षक समेत बनिसकेका छन् ।राष्ट्रिय टोलीमा दशकयता नियमित खेल्दै आएका उनी नियमित कप्तानको अनुपस्थितिमा टोलीको नेतृत्व समेत गर्दै आएका छन् । कोरोना संक्रमणका कारण भारतमा लिग स्थगित भएपछि किरण लकडाउनअघि नै नेपाल फर्केका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *