मनिषले अभिनेत्री द्वय साम्राज्ञी र आनासँग अनस्क्रिन रोमान्स गर्ने

काठमाडौं, २५ साउन । फिल्म ‘प्रेमगीत ३’ बाट अभिनेताको रुपमा डेब्यू गर्न लागेका मनिष राउतले नयाँ फिल्ममा अभिनेत्री द्वय साम्राज्ञी राज्यलक्ष्मी शाह र आना शर्मासँग अनस्क्रिन रोमान्स गर्ने भएका छन् । तीनै कलाकारसँग बिहिबार निर्माण टिमले कागजी सम्झौता गरेको हो । यसअघि ‘अमेरिका बोइज’ निर्देशन गरेका प्रवेश पौडेलले फिल्मको निर्देशन गर्नेछन् । फिल्मको नाम भने फाइनल भएको छैन । प्रवेशले ओस्कार इन्टरनेशनल कलेजबाट निर्देशन बिषय अध्ययन गरेका हुन् । उनका अनुसार, अहिले फाइनल स्क्रिप्टमा काम भइरहेको छ । यूवा मनोविज्ञानमा आधारित हुने फिल्ममा उपयुक्त कलाकार छान्ने क्रममा साम्राज्ञी, आना र मनिषलाई छनौट गरिएको उनले बताए । अब फिल्मका लागि एकजना पुरुष कलाकार र एकजना महिला कलाकारको खोजी भइरहेको छ । ‘हामीले अडिशनबाट छान्ने प्रक्रियामा छौँ’, निर्देशक पौडेलले भने( ‘कमिङ् एज’ को कथामा हामीले दुई बर्षदेखि काम गरिरहेका थियौँ, अब भने यसले मूर्तरुप लिन लागेको छ । कोरोना महामारी पश्चात सहज वातावरण बनेपछि हामी फ्लोरमा जानेछौँ ।’ ‘डक्टर डेनिम’ को प्रस्तुतीमा बन्ने यस फिल्मका निर्माता छत्र जंग पाण्डे र अनुप पौडेल हुन् । सह–निर्मातामा करन साउद रहेका छन् । नेपाली फिल्मकी महंगी अभिनेत्रीको रुपमा चिनिएकी साम्राज्ञीले यो फिल्ममा कति पारिश्रमिक बुझेकी छन् भन्ने निर्माण टिमले खुलाएको छैन । उनी पछिल्लो पटक फिल्म ‘रातो टिका निधारमा’ देखिएकी थिइन् । त्यस्तै, आना ‘द म्यान फ्रम काठमाडौं’ पछि पर्दामा देखिएकी छैनन् । साम्राज्ञी, आना र मनिषलाई एकसाथ स्क्रिनमा हेर्न दर्शकलाई निकै रोचक हुने अनुमान गरिएको छ ।
यसैगरी,अभिनेत्री उपासना सिंह ठकुरीको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । काठमाडौंको ह्याम्स अस्पतालमा गराएको परीक्षणमा उनको कोरोना रिपोर्ट नेगेटिभ आएको हो । केही हप्ताअघि यामहा कम्पनीको फेसिनो स्कुटरको विज्ञापनको फोटोसुटमा उपस्थित भएकी एक महिलामा कोरोना संक्रमण पुष्टि भएपछि उपासनाले दुई दिन अगाडि पीसीआर नमूना परीक्षण गराएकी थिइन् । कोरोना परीक्षणका लागि स्वाब दिएपछि रिपोर्ट नआउँदासम्म उपासना निकै डराएकी थिइन् । तर, शनिवार साँझ अस्पतालले कोरोना नेगेटिभ रहेको रिपोर्ट दिएपछि उनी खुसी भएकी छन् । उक्त विज्ञापनका लागि फोटोसुट गराएका अभिनेता अनमोल केसीले पनि दुई दिनअघि कोरोना परीक्षण गराएका छन् । उपासनाले फिल्म ‘क्याप्टेन’ बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी थिइन् । यो फिल्ममा उनको अपोजिटमा अनमोल केसी थिए । यसपछि उनले दयाहाङ राईसँग ‘कबड्डी’ को तेस्रो सिरिजमा काम गरिन् । दुवै फिल्ममा उनको अभिनयको प्रशंसा भएको थियो । अहिले उनको नेपाली फिल्ममा राम्रो माग छ । तर, उनले अध्ययनका कारण ‘कबड्डी’ पछि नयाँ फिल्म साइन गरेकी छैनन् । अध्ययनका कारण उनी भदौसम्म कुनै फिल्ममा आबद्ध नहुने सोचमा छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *