नेपालमा कोभिड–१९ बाट मृत्यु हुनेको सङ्ख्या ७३ पुग्यो, शनिबार उपत्यकामा ६२ जनासहित देशभर ३७८ जना सङ्क्रमित थपिए

काठमाडौँ, २५ साउन । नेपालमा कोभिड–१९ बाट मृत्यु हुनेको सङ्ख्या ७३ पुगेको छ । शनिबार कोभिड–१९ बाट तीन जनाको मृत्यु भएसँगै कोभिड–१९ बाट मृत्यु हुनेको सङ्ख्या ७३ जना पुगेको हो ।
शनिबार काठमाडौँ उपत्यकामा ६२ जनासहित देशका विभिन्न जिल्लामा ३७८ जनामा कोरोना सङ्क्रमण भएको पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आयोजित नियमित प्रेस ब्रिफिङमा शनिबार मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताएका छन उनले भने, “सक्रिय सङ्क्रमित ६ हजार २०६ मध्ये प्रदेश नं १ मा ४७८, प्रदेश नं २ मा दुई हजार ९२९, वाग्मती प्रदेशमा एक हजार २९, गण्डकी प्रदेशमा २४२, प्रदेश नं ५ मा ३९०, कर्णाली प्रदेशमा १६३ र सुदूरपश्चिम प्रदेशमा ९७५ सक्रिय सङ्क्रमित रहेका छन् ।”
पछिल्लो २४ घण्टामा सात हजार ७८८ जनाको पिसीआर परीक्षण गरिएको प्रवक्ता डा गौतमले जानकारी दिए । हालसम्म जम्मा चार लाख ३५ हजार २८९ परीक्षण भएको छ । क्वारेन्टिनमा रहेका व्यक्तिको सङ्ख्या १० हजार ७९२ छ । गत २४ घण्टामा कोरोनामुक्त भई घर फर्किनेको सङ्ख्या ४९९ जना छन् । हालसम्म डिस्चार्ज हुने १६ हजार ३१३ छन् । पिसीआर सात हजार ८८८ जनामा परीक्षण गरिएको छ । सङ्क्रमितको शून्य सङ्ख्या भएका जिल्ला खोटाङ, धनकुटा, सङ्खुवासभा, मनाङ, मुस्ताङ, डोल्पा र हुम्ला गरी सात जिल्ला छन् ।
हालसम्म विश्वभर एक करोड ९५ लाख ४९ हजार ९०१ कोभिड–१९ बाट सङ्क्रमित छन् । सात लाख २४ हजार १८६ व्यक्तिको मृत्यु भइसकेको छ र एक करोड २५ लाख ७० हजार ६३१ व्यक्ति यस रोगबाट निको भएका छन ।
यसैगरी, प्रदेश नं १ को राजधानी विराटनगरमा ३३ सहित प्रदेशका ६१ जनामा आज कोरोना सङ्क्रमण पुष्टि भएको छ । प्रदेशमा शनिबार एक हजार ५३४ जनाको पिसीआर परीक्षण गरिएकामध्ये १४ महिलासहित ६१ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङमा ४८, सुनसरीमा १० र अन्य प्रदेशका जिल्लाका तीन जनामा सङ्क्रमण देखापरेको हो ।
मोरङको विराटनगरका सात महिलासहित ३३, बूढीगङ्गाका १२, धनपालथान, कटहरी र उर्लाबारीका एक÷एक महिला, सुनसरीको धरानका दुई महिलासहित चार, दुहवीका एक महिलासहित चार, इनरुवाका दुई, महोत्तरीका एक महिलासहित दुई र सप्तरीका एक जनाको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।
प्रदेशमा सङ्क्रमितको सङ्ख्या एक हजार ३८३ पुगेको छ । प्रदेशमा अहिलेसम्म ५१ हजार ६६६ जनाको पिसीआर परीक्षण गरिएको सामाजिक मन्त्रालयले जनाएको छ ।
यस्तै, समुदायस्तरमा कोरोना फैलिएसँगै झापाका स्थानीय तहहरूले साप्ताहिकरूपमा लाग्ने हाटबजार धमाधम बन्द गराउन थालेका छन् । पन्ध्र स्थानीय तहमध्ये कनकाई, विर्तामोड, अर्जुनधारा र शिवसतासी नगरपालिकाले आफ्ना क्षेत्रमा लाग्ने विभिन्न शहरका सप्ताहिक हाटबजार बन्द गराएका हुन् । कनकाई नगरपालिकाले शनिबार विज्ञप्ति जारी गरेर भदौ ५ गतेसम्मलाई हाटबजार पूर्णरूपमा बन्द गराएको जनाएको छ ।
कोरोना भाइरसको बढ्दो सङ्क्रमणबाट सतर्कता अपनाउन यस्तो निर्णय गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रुद्रप्रसाद न्यौपानेले बताए । शिवसतासी नगरपालिकाले नगर क्षेत्रमा लाग्ने आधा दर्जन बढी साप्ताहिक हाटबजार एक हप्ताअघिदेखि बन्द गराएको छ । नगरले कोरोनाको सङ्क्रमण समुदायमा फैलिन नदिन बढी भीडभाड हुने हाटबजार तथा धार्मिक र पर्यटकीय स्थलहरू भदौ २ गतेसम्मका लागि बन्द गरेको नगर प्रमुख चन्द्र शेर्माले बताएका छन ।
त्यसैगरी विर्तामोड र अर्जुनधारा नगरपालिकाले समुदायस्तरमा कोरोनाको सङ्क्रमण बढेसँगै नगर नै बन्दाबन्दी गरेका छन् । दुवै नगरले कोरोना सङ्क्रमितसँग सम्पर्कमा रहेका व्यक्तिको कन्टयाक्ट ट्रेसिङ गर्ने र वित्तीय संस्थाका कर्मचारी तथा व्यवसायीको समेत धमाधम स्वाब सङ्कलन गरिरहेका छन् । मेचीनगर नगरपालिका–१० का स्थानीयवासी १५ वर्षीय फुटबल खेलाडी कोरोना सङ्क्रमित भएको पुष्टि भएसँगै वडा नं १० र ९ मा नगरले लकडाउन घोषणा गरेको छ । दुईवटा वडामा गरिएको लकडाउनसँगै धुलाबारी बजारमा अर्धसप्ताहिकरूपमा लाग्दै आएको हाटबजार बन्द गरिएको नगर उपप्रमुख मीना उप्रेतीले बताईन । पालिकाहरूले तोकेको मापदण्डविपरीत गएमा जो कोहीलाई सङ्क्रामक रोग ऐन २०२० अनुसार कारवाही हुने ती नगरपालिकाले जनाएका छन् । सो ऐनमा एक महिना कारागार वा रु १०० जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ । जिल्ला प्रशासन कार्यालय झापाका सहायक प्रमुख जिल्ला अधिकारी राजकुमार राईले बजार अनुगमनलाई तीव्र बनाइने र भीडभाड भएको पाइएमा कानूनअनुसार कारवाही गरिने बताएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *