एन्फाले भदौ पहिलो साताबाट खेलाडीलाई बन्द प्रशिक्षणमा राख्ने


काठमाडौं, २३ साउन । भदौ पहिलो साताबाट खेलाडीलाई बन्द प्रशिक्षणमा राख्ने उद्देश्यले ३३ जना खेलाडीलाई एन्फाले काठमाडौं बोलाएको छ । फिफा विश्वकप–२०२२ र एएफसी एसियन कप–२०२३ को छनोट प्रतियोगिताका लागि अखिल नेपाल फुटबल संघ (एन्फा)ले ३३ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएकोमा ३२ खेलाडी सम्पर्कमा आएका हुन । एक खेलाडी भने व्यक्तिगत कामले काठमाडौं आउन पाएका छैनन् । घरेलु मैदानमा हुने खेलका लागि राष्ट्रिय टोलीका सबै खेलाडी सम्पर्कमा आइसकेको र एक खेलाडी भने व्यक्तिगत कामले काठमाडौं आउन नसकेको नेपाली टोलीका व्यवस्थापक मधुसुदन उपाध्यायले जानकारी दिएका हुन् । त्यसअघि सबै खेलाडीलाई क्वारेन्टिनमा राखिनेछ भने पिसिआर परीक्षण पनि गरिनेछ । विश्वव्यापी बनेको कोरोना भाइरस (कोभिड—१९) का कारण गत चैत ४ गतेबाट एन्फाले सचिवालयसमेत बन्द रहने गरी सम्पूर्ण फुटबल गतिविधि बन्द गरेको थियो । त्यसयता सम्पूर्ण फुटबल गतिविधि स्थगित भएका थिए । तर जुन ५ मा एशियाली फुटबल महासंघ (एएफसी) ले कतारमा हुने फिफा विश्वकप २०२२ तथा चीनमा हुने एसियन कप २०२३ को छनोट खेलका लागि नयाँ मिति तय गरेपछि एन्फालाई राष्ट्रिय टीमको प्रशिक्षण थाल्न दबाब परेको थियो । एएफसीले प्रस्ताव गरेको नयाँ तालिकाअनुसार नेपालले अक्टोबर ८ मा चाइनिज ताइपेई र अक्टोबर १३ मा अस्ट्रेलियाविरुद्ध घरेलु मैदानमा प्रतिस्पर्धा गर्ने तय छ। त्यस्तै नोभेम्बर १२ मा नेपालले जोर्डनविरुद्ध खेल्नेछ । छनोट खेलका लागि भदौ पहिलो साता भित्र खेलाडीको पिसिआर परिक्षण गरेर सहायक प्रशिक्षक किरण श्रेष्ठले टोलीलाई अभ्यास गराउने तयारी भइरहेको उपाध्यायले जानकारी दिए। बन्द प्रशिक्षणमा रहदा खेलाडीले विभिन्न समूहमा रहेर अभ्यास गर्ने व्यवस्थापक उपाध्यायले जानकारी दिए । एन्फाले घरेलु छनोट खेल दर्शक विना खेलाउने तयारीका साथ मैदानको मर्मत कार्यलाई पनि तीब्रता दिइरहेको छ । छनोट अन्तर्गत समूह ‘बी’ मा रहेको नेपाल तीन अंकका साथ चौथो स्थानमा छ । नेपालको समूहमा अस्ट्रेलिया १२ अंकका साथ शीर्ष स्थानमा छ समान १० अंक जोडेको कुवेत र जोर्डन क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् । कुनै अंक नजोडेको चाइनिज ताइपेई पाँचौं स्थानमा छ ।
कोरोना भाइरस सङ्क्रमणका कारण स्थगित भएको छनोट खेलहरू आगामी अक्टोबर र नोभेम्बरमा गराउने एसियाली फुटबल महासङ्घ (एएफसी) ले तयारी गरेको छ । स्थगित भएका खेलहरू आगामी अक्टोबर ८ र १३ तारिख तथा नोभेम्बर १२ र १७ तारिखमा गराउने भनिएको छ । दोस्रो चरणको छनोटअन्तर्गत नेपालले अब तीन खेल खेल्न बाँकी छ । ती सबै खेल नेपालले घरेलु मैदानमा खेल्ने तय छ । तर कोरोनाको संक्रमण एसियाली देशमा बढिरहेकाले होम एन्ड अवे म्याच नहुने सम्भावना देखिएको छ । एक समूहका बाँकी खेल सम्बन्धित एक देशमा मात्र गर्ने वा तेस्रो देशमा गर्ने नयाँ प्रस्तावसँगै नेपालले घरेलु मैदानमा खेल्ने भनिएका खेल पनि संकटमा परेका छन् । बाँकी रहेका समूहका खेल सम्बन्धित समूहको एक देश वा तेस्रो देशमा गर्दा उपयुुक्त हुने प्रस्ताव अघि सारिएको छ । क्वारेन्टिनको नियम पालना गर्दा एक सातामा होम एन्ड अवे म्याच सम्भव नहुने तर्क छ । युरोपियन च्याम्पियन्स लिगको अन्तिम ८ का खेल एक देशमा मात्र गर्ने निर्णय भएको अवस्थामा विश्वकप छनोटका लागि पनि नयाँ प्रस्ताव अघि सारिएको हो । समूह ’ए’मा रहेको चीनले एक समूहको खेल एक देशमा मात्र भए आफू आयोजक बन्न पाउनु पर्ने दाबी गरेको छ । चीनको समूहमा सिरिया, फिलिपिन्स, माल्दिभ्स र गुआम छन् । चीनका बाँकी चार मध्ये तीन खेल घरेलु मैदानमा हुने तय भएकाले चीनले नयाँ प्रस्ताव आफ्नो पक्षमा हुनु पर्ने दाबी गरेको हो । चीनको फुटबल संघका अध्यक्ष चेन सुयुवानले फिफाले समूहका बाँकी खेल एकै देशमा गर्न सुझाव दिन सक्ने बताउँदै त्यसो भए चीनले आयोजना गर्न पाउनु पर्ने एक अन्तर्वार्तामा बताएको गोल डटकमले लेखेको छ । नयाँ प्रस्तावमा फिफा तथा एएफसीले निर्णय गरे समूह ’बी’मा रहेको नेपालले पनि आयोजना दाबी गर्न सक्छ । किनकी नेपालले बाँकी तीनै खेल घरेलु मैदानमा खेल्न बाँकी छ । तर पर्याप्त अभ्यास मैदान तथा खेल मैदान अभाव र कोरोना संक्रमित बढिरहेकाले नेपालले आयोजना गर्न पाउन कठीन छ ।
यता नेपालको समूहमा रहेको अस्ट्रेलियाले पनि बाँकी चार मध्ये तीन खेल घरेलुु मैदानमा खेल्न बाँकी छ। जसकारण अस्ट्रेलियाले पनि बाँकी खेलको आयोजनाको दाबी गर्न सक्छ । समूहका अन्य टिम कुबेत र चाइनिज ताइपेइको तीन मध्ये १–१ खेल मात्र घरेलु मैदानमा हुने तय छ। जोर्डनको भने बाँकी तीनै खेल अवे रहेका छन् । नेपाल र अस्ट्रेलिया बाहेक समूहका अन्य तीन देश वा तेस्रो देशमा पनि खेल हुने सम्भावना छ । नेपालले चाइनिज ताइपेई,अस्ट्रेलिया र जोर्डनसँग खेल्न बाँकी छ । नेपाल पाँच खेलमध्ये एउटामा जित निकाल्दै तीन अङ्क जोडेर चौथो स्थानमा छ । नेपालले चाइनिज ताइपेईलाई हराएको थियो । अन्य चार खेलमा पराजित भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *