पहिलो पटक गीतमा आवाज भर्न पाएकोमा अभिनेत्री अनु प्रफुलित

काठमाण्डौ, २३ साउन । बाल्यकालदेखि नै गायनमा रुची भएको बताउने अभिनेत्री अनु शाह पहिलो पटक गीतमा आवाज भर्न पाएकोमा प्रफुलित छिन् । एक दर्जनको आसपासमा फिल्ममा अभिनय गरिसकेकी उनले बुधवार एउटा गीत रेकर्ड गरेकी छन् । रंग पत्रकार शान्तिप्रियको शब्द र सन्तोष श्रेष्ठको संगीतमा रहेको ‘मेरो सम्झनामा’ बोलको गीतमा उनले आवाज दिएकी हुन् । उक्त गीतलाई मनोज चौलागाईंले संगीत संयोजन गरेका छन् । उनी आफूलाई घरभित्रको राम्रो गायिका भन्न रुचाउँछिन् । स्टूडियोमा गएर भने अहिलेसम्म गाउने हिम्मत नगरेको उनको भनाई छ । गीतकार शान्तिप्रियले राम्रो गीत गाएको भनेर प्रशंसा गरेपछि खुसी भएकी उनी दर्शकले पनि आफ्नो आवाज रुचाउनेमा विश्वस्त छिन् । गायनमा लाग्न कठोर साधना चाहिन्छ । अनुले गायिका बन्न संगीतमा कति साधना गरेकी छन्, गीत सार्वजनिक भएपछि त्यो थाहा हुने नै छ । तर, परिवारले स्वर राम्रो छ भनेर फुरुङ्ग बनाएको भरमा सिधै स्टूडियो छिरेकी हुन् भने उनले दर्शकबाट तालीको अपेक्षा राख्नु बेकार हुनसक्छ । गायनको बाटो हुँदै फिल्ममा प्रवेश गर्नेको संख्या दिन प्रतिदिन बढिरहेको छ । फिल्म क्षेत्रमा स्थापित कलाकारहरु पनि आफ्नो सौख पूरा गर्न गायक र गायिका बनेका छन् । रेखा थापा र निरुता सिंह यसका उदाहरण हुन् । उनीहरुले अभिनयसँगै गीतमा अवाज पनि भरेका छन् । तर, न गायनमा लाग्नेलाई फिल्म क्षेत्र फापेको छ न त कलाकारको गायनलाई दर्शकले रुचाएका छन् । फिल्म अभिनयबाट गायिकाको रुपमा फड्को मार्नेमा अभिनेत्री अनु शाह पनि थपिएकी छन् ।
यसैगरी, ‘स्केप’ बाट अभिनय करिअर थालनी गरेका प्रदीप खड्का अहिले नेपाली फिल्मका चल्तीका अभिनेतामध्ये एक हुन् । फिल्म बक्सअफिसमा चलोस् वा नचलोस्, उनी भने राम्रै चलेका छन् । अनमोल केसीपछि महंगो पारिश्रमिक बुझ्ने अभिनेताको रुपमा चिनिएका उनी अभिनीत नयाँ फिल्म ‘प्रेमगीत ३’ प्रदर्शनको पखाईमा छ । उनले केही फिल्म साइन गरेर पनि बसेका छन् । फिल्म र विज्ञापनमा आफूलाई सीमित राख्दै आएका उनले कोरोनाको संक्रमण फैलिन नदिन सरकारले जारी गरेको लकडाउनको समयमा म्यूजिक भिडियोमा पनि डेब्यू गरे । ‘प्रेमगीत २’ यता आफ्ना हरेक फिल्मका गीतमा आवाज भर्दै आएका गायक प्रताप दासको स्वरमा रहेको ‘सुनौलो बिहानी फर्किनेछ’ र ‘जय जय नेपाल’ बोलको दुई गीतको भिडियोमा उनले अभिनय गरेका छन् । ‘सुनौलो बिहानी फर्किनेछ’ गीतमा कोरोनाविरुद्ध डटेर लड्न आग्रह गरिएको थियो । ‘जय जय नेपाल’ बोलको गीतमा भने राष्ट्रप्रतिको प्रेमभाव पोखिएको छ । युवापुस्तामाझ राम्रो क्रेज बनाएका प्रदीपले अभिनय गरेका कारण यी दुई भिडियोले यूट्यूबमा उल्लेख्य भ्यूज पाउने धेरैको विश्वास थियो । तर, दुवै गीतको भिडियोले यूट्यूबमा ४ लाख भ्यूज कटाउन पनि सकेका छैनन् । अचेल सामान्यतयाः करोड भ्यूज प्राप्त गरेका म्यूजिक भिडियोलाई हिट मान्ने गरिन्छ । प्रदीप अभिनीत दुई गीतका भिडियो साढे ३ लाखको आसपासमा अड्किँदा फिल्मवृतमा उनलाई म्यूजिक भिडियो नफापेको र फ्लप मोडलको रुपमा टिप्पणी हुन थालेको छ । एकपछि अर्को फिल्म फ्लप भएर तनावमा रहेका उनलाई म्यूजिक भिडियोबाट पनि ‘हातमा लाग्यो शून्य’ झैँ भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *