देशभर कोरोना सङ्क्रमितको सङ्ख्या २१ हजार ७५० पुग्यो, कोरोना भाइरसबाट निधन हुनेको सङ्ख्या ६५

काठमाडौँ, २३ साउन । नेपालमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या २१ हजार ७५० जना पुगेको छ । त्यस्तै सक्रिय सङ्क्रमितको सङ्ख्या भने ६ हजार २९६ रहेको छ । यससँगै कोरोना भाइरसबाट निधन हुनेको सङ्ख्या ६५ पुगेको छ । पछिल्लो २४ घण्टामा देशभर थप ३६० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ६ हजार ६२२ जनामा गरिएको पिसीआर परीक्षणमा उक्त सङ्ख्यामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।
त्यसैगरी पछिल्लो २४ घण्टामा २३३ जना उपचारपछि निको भएका छन् भने नेपालमा हालसम्म १५ हजार ३८९ जना उपचारपछि निको भएका छन् । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा थप पाँच जना व्यक्तिको निधन भएको छ । मृत्यु हुनेमा मोरङका ४५÷४५ वर्षीय दुई पुरुष, सर्लाहीका ६५ वर्षीया महिला, धनुषाका ७२ वर्षीया महिला र सप्तरीका ४२ वर्षीय पुरुषको निधन भएको हो । उहाँहरु सबैको निधन साउन २१ गते भएको हो ।
त्यसैगरी काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा ८७ जना कोरोना सङ्क्रमति थपिएका छन् । मन्त्रालयका अनुसार काठमाडौँमा ७६, ललितपुरमा १० र भक्तपुरमा एक जना व्यक्तिलाई कोरोना सङ्क्रमण देखिएको हो । मन्त्रालयका प्रवक्ता डा गौतमले काठमाडौँ उपत्यकालगायत अन्य बाक्लो बस्ती भएको ठाउँमा सङ्क्रमणको दर बढेकाले अस्पतालमा बेड उपकरण र स्वास्थ्यकर्मी अभाव हुन सक्ने भएकाले सबैलाई सावधानी अपनाउन आग्रह गरेका छन । उनले कोरोनाको औषधि पत्ता नलागिसकेको भन्दै सबै अस्पतालले चिकित्सकलाई सिफ्टअनुसार मिलाएर काम गराउन आग्रह गरेका छन ।
यस्तै,प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्की होम आइसोलेशनमा बसेका छन । केही दिन पहिले सङ्घीय राजधानी काठमाडौँमा प्रदेश प्रहरी विधेयक पारित भइसकेपछि प्रदेशमा प्रहरी व्यवस्थापन सम्बन्धमा भएको छलफलमा सात वटै प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री सहभागी रहेका अवस्थामा प्रदेश नं.२ का आन्तरिक मामिलामन्त्री ज्ञानेन्द्र यादवलाई कोरोना सङ्क्रमण भएको पुष्टिसँगै उनि होम आइसोलेशनमा बसेको मन्त्री कार्कीका स्वकीय सचिव कमल पौडेलले जानकारी दिएका छन ।
पौडेलका अनुसार मन्त्री कार्कीले आफूहरुसँग प्रत्यक्ष सम्पर्कमा रहेका सबैलाई स्वाब परीक्षण गर्न आग्रह गरेका छन । मन्त्रीको निवासमा कार्यरत सबैको स्वाब लिने तयारी भइरहेको सचिव पौडेलको भनाइ छ ।
उता, प्रदेश नं २ मा पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरीको रुपनी नगरपालिका–५ का ४२ वर्षीय एक पुरुष रहेका छन् । श्वासप्रश्वासमा समस्या हुन थालेपछि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएका ती पुरुषको स्वास्थ्य अवस्था गम्भीर भएपछि थप उपचारका लागि धरानतर्फ लग्ने क्रममा बुधबार साँझ बाटोमैं मृत्यु भएको थियो । मलेसियाबाट करिब डेढ महिनाअघि आएका उनी आफ्नै घरमा होम क्वारेन्टिन भएर बसेका थिए ।
पछिल्लो २४ घण्टामा यस प्रदेशमा ११ महिलासहित ६३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । तीमध्ये सबैभन्दा बढी ३९ जना पर्सा जिल्लाबाट थपिएको समाजिक विकास मन्त्रालयले जनाएको छ ।
यसका साथै धनुषामा नौं, सर्लाहीमा आठ, महोत्तरी र बारामा दुई÷दुई तथा सिरहा, सप्तरी र रौतहटमा एक÷एक जना गरी कूल ६३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । योसँगै यो प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या पाँच हजार ३३५ पुगेको छ । त्यस्तै कोरोना सङ्क्रमणबाट हालसम्म यो प्रदेशमा मृत्यु हुनेको सङ्ख्या २२ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *