६ महिनापछि क्यानले राष्ट्रिय टोलीलाई बन्द प्रशिक्षणमा बोलाउने तयारी


काठमाण्डौ, १९ साउन । ६ महिनापछि क्यानले राष्ट्रिय टोलीलाई बन्द प्रशिक्षणमा बोलाउन लागेको छ । नेपाल क्रिकेट संघ (क्यान) ले कोरोना महामारीपछि पहिलो पटक राष्ट्रिय पुरुष क्रिकेट टोलीको बन्द प्रशिक्षणमा २४ खेलाडीलाई बोलाउने तयारी गरेको हो । क्यानले राष्ट्रिय क्रिकेट टोलीलाई भदौ १ देखि प्रशिक्षणमा राख्ने तयारी गरिरहेको छ । त्यसअघि साउन २७ वा २८ मा सबै खेलाडी र मैदानका कर्मचारीको पिसिआर परिक्षण पनि हुने छ । क्यानको पहलमा स्वास्थ्य मन्त्रालयले पिसिआर परिक्षण गर्ने छ । पछिल्लो पटक नेपालले फागुनमा थाईल्यान्डमा भएको एसिसी इस्टर्न रिजनको लागि माघ तेस्रो साता १८ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको थियो । इस्टर्न रिजन नेपालले अन्तिम पटक खेलको अन्तर्राष्ट्रिय खेल हो । ‘यसपटक २४ खेलाडीलाई बोलाउने तयारी गरेका छौं । खेलाडीलाई आवासीय र खाना दुवै सेवा सुविधा टीयु मैदान भित्रै हुनेछ । त्यसैले खेलाडी मैदान बाहिर जाने छैनन् । खेलाडी क्वारेन्टाइनको समयमा पनि अभ्यास गर्नेछन्’, क्यानका कोषाध्यक्ष रोशनकुमार सिंहले हाम्रो खेलकुदसँग भने । ‘हामीले बन्द प्रशिक्षणमा खेलाडीलाई बोलाउनुको प्रमुख कारण उनीहरुको लयलाई कायम राख्नु हो । खेलाडी खेलमा केन्द्रित हुन् । आगमी आउने खेलको तयारी हुन्छ’, सिंहले भने, ‘असोजमा नामिबियामा आइसिसी विश्वकप लिग–२ को प्रस्ताव तोकिएकै समयमा हुने सम्भावना कम छ । हामी खेलाडीलाई लयमा राख्न चाहन्छौं । त्यसको लागि सबै तयारी र सावधानीका साथ बन्द प्रशिक्षणमा राख्ने छौं ।’ कोरोना महामारीको कारण फागुन यता कुनैपनि घरेलु प्रतियोगिता र उमेर समूहको खेल भएको छैन । त्यसैले क्यानले बोलाउन लागेको बन्द प्रशिक्षणमा नयाँ युवा खेलाडीले मौका पाउने सम्भावना भने निकै न्यून रहन्छ । माघमा नेपालमा भएको आइसिसी विश्वकप लिग–२ र इस्टर्न रिजनमा बोलाएका खेलाडीलेनै निरन्तरता पाउन सक्ने अनुमान गरिएको छ ।
यसैगरी, नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई भेटेर टीयू क्रिकेट मैदानमा रहेको विद्युत समस्याबारे जानकारी गराएको छ । नेपाल क्रिकेट संघ (क्यान) का कोषाध्यक्ष रोशनकुमार सिंह, केन्द्रिय सदस्य दुर्गाराज पाठक, राष्ट्रिय खेलकुद परिषद् (राखेप) बाट चुनिएका केन्द्रीय सदस्य छुम्बी लामा लगायत बुधबार मन्त्रालय पुगेर विद्युत समस्याबारे घिसिङलाई जानकारी गराएका थिए । क्यानले झन्डै डेढवर्ष देखि टीयूमा विद्युत समस्या भोग्दै आएको छ । १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले ठेक्का मार्फत विद्युत बनाएको थियो । तर त्यो दुइ तीन दिनभन्दा लामो समय टिक्न सकेन । क्यानले पछिल्लो समय जेनेटर मार्फत काम चलाउँदै आएको थियो ।‘हामीले बुधबार घिसिङलाई भेटेर समस्याबारे जानकारी गरायौं । वहाँले तुरुन्त कार्यालय प्रमुखलाई फोन गरेर त्यसबारे बुझ्न भन्नुभयो । त्यसको एक घण्टामा विद्युतका कर्मचारी टीयू मैदानमा पुगेका थिए । कर्मचारीले ट्रान्समिटर नै बिग्रिएको जवाफ दिएका थिए’, सिंहले भने । बिहीबार पनि घिसिङले टीयूमा कर्मचारी पठाएका थिए ।टीयू मैदान भित्र ट्रान्समिटर रहेको छ । सागमा फ्युज उड्ने समस्या धेरै भोग्नु परेको थियो । जुन अहिले भित्रैबाट जलेको प्राधिकरण कर्मचारीले बताएका छन् । घिसिङलाई भेटे बितिक्कै एक्सन लिएर कर्मचारी खटाएको सिंहले बताए । त्यसैले समस्या पनि चाडै समाधान हुने आशा क्यानले राखेको छ । क्यानले प्राधिकरणलाई विद्युत उपयोग नगरेको अवस्थामा पनि मासिक १३ हजार रुपैयाँ शुल्क तिर्दै आएको थियो । यस विषयमा पनि घिसिङलाई जानकारी गराएका थिए । यस विषयमा पनि उनी सकरात्मक रहेको र आगमी दिनमा प्रतिक्रिया आउने आशा क्यानले राखेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *