भुवन केसीलाई सम्मान दिने बहानामा राजेश हमालको अपमान गरेको निरुतालाई आरोप


काठमाण्डौ, १९ साउन । भुवन केसीलाई सम्मान दिने बहानामा राजेश हमालको अपमान गरेको आरोप अभिनेत्री निरुता सिंहलाई लागेको छ । एक महिनायता ‘महानायक’ विवादमा फिल्म क्षेत्र तातिरहेको अवस्थामा अभिनेत्री निरुता सिंहले शनिवार फेसबुकमा भुवन केसीलाई आफ्नो सपनाको महानायक भनेपछि सामाजिक सञ्जाल प्रयोगकर्ता उनीमाथि खनिएका छन् । भुवन केसीलाई सम्मान दिने बहानामा राजेश हमालको अपमान गरेको र भुवन केसीको चमचागिरी गरेको भन्दै उनको विरोध भइरहेको छ । यस विषयमा निरुताले आइतवार फेसबुकमा स्टाटस लेख्दै आफूले भुवन केसीलाई महानायकको उपाधि नदिएको र चमचागिरी पनि गरेको बताएकी छन् । राजेश हमाल फिल्ममा आउनुभन्दा अगाडि भुवन केसीका ‘कुसुमे रुमाल’, ‘सम्झना’, ‘साइनो’ फिल्म हेरेको उल्लेख गर्दै उनले ‘मेरो सपनाको महानायक’ शब्दको मतलब दर्शकहरुले नबुझेकै हुन् त भनेर प्रश्न पनि गरेकी छन् । उनले राजेश हमाललाई आफूले पनि ‘महानायक’ मान्ने बताउँदै लेखेकी छन्, ‘एउटा कलाकारको नाताले के मलाई मेरो अग्रज दाई अनि दिदीहरूलाई सम्मानपूर्वक उपाधि दिने अधिकार पनि छैन र ? मेरो लागि ति सबै अग्रज कलाकारहरू नै महानायक अनि महनायिका हुन्, जसले हाम्रो सानो नेपाली चलचित्र क्षेत्रलाई यहाँसम्म पु¥याउनका लागि आफ्नो कलाको योगदान दिनुभएको छ ।’
उनले आफ्नो लागि राजेश हमाल, भुवन केसी, शिव श्रेष्ठ, हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, नीर शाहलगायत महानायक र भुवन चन्द, बसुन्धरा भुसाल, करिश्मा मानन्धर, गौरी मल्ल, मिथिला शर्मालगायत महानायिका रहेको बताएकी छन् । कसैलाई सम्मान गरेर महानायक, महानायिका, सुपरस्टार वा मेघास्टारको उपाधि दिनु आफ्नो नितान्त विचार रहेको निरुताको भनाई छ ।
भुवन केसीको चमचागिरी गरेको भन्ने दर्शकको आरोपमा निरुताले थपेकी छन्, ‘म उहाँहरूलाई भन्न चाहन्छु कि म नेपाली चलचित्रदेखि टाढा रहेको धेरै वर्ष भइसक्यो । अनि मैले नेपाली चलचित्रमा काम गर्नको लागि आज आएर कसैको चमचागिरी गर्नु जरूरी नै छैन ।’ उनले कोरोनाको महामारीको समयमा ‘महानायक’ को विषयमा अल्झिनु राम्रो नभएको पनि बताएकी छन् । तुलसी घिमिरे निर्देशित फिल्म ‘दक्षिणा’ बाट निरुता सिंहले अभिनेत्रीको रुपमा डेब्यू गरेकी थिइन् । यसमा उनको अपोजिटमा भुवन केसी थिए । यो फिल्म बक्सअफिसमा सुपरहिट भएपछि निरुताको करिअरले एकाएक उचाइ लिएको थियो । यसकारण पनि उनका लागि यो फिल्म निकै विशेष छ । ‘दक्षिणा’ पछि निर्देशक घिमिरेका हरेक फिल्ममा उनले स्थान पाउन थालेकी थिइन् । दार्जीलिङमा जन्मे हुर्केकी उनले नेपाली फिल्मको हिरोइन हुने कहिल्यै कल्पना समेत गरेकी थिइनन् । तर, जीवनमा कहिले काहिँ नसोचेका कुरा भइदिन्छन् । निरुताको जीवनमा पनि त्यही भयो । उनका पितासँग तुलसी घिमिरेको राम्रो सम्बन्ध भएका कारण उनी ‘दक्षिणा’ की हिरोइन बनिन् । डेब्यू फिल्ममै भुवन केसीसँग काम गर्न पाउनु उनका लागि अर्को खुसीको कुरा थियो । हाल भारतको मुम्बईमा रहेकी निरुताले भुवन केसीलाई आफ्नो सपनाको महानायक भनेकी छन् । नेपाली फिल्मको नायक र नायिकाको रुपमा पहिलो पटक चिनेको नै भुवन केसी र तृप्ति नाडकर रहेको उनको भनाई छ । उनले शनिवार फेसबुकमा एक स्टाटस लेख्दै पहिलो फिल्ममा नै भुवन केसीसँग काम गर्न पाउँछु भनेर आफूले सपनामा पनि नसोचेको उल्लेख गरेकी छन् । आफूलाई पहिलो फिल्ममा भुवन केसीले निकै सहयोग गरेको बताउँदै निरुताले लेखेकी छन्, ‘भुवन दाई हजुरले गर्नुभएको हर सहयोग अनि मायाको लागि मुरी मुरी धन्यवाद । हजुरको त्यो माया र सहयोग म मेरो जीवनको अन्तिम दिनसम्म भुल्ने छैन । हजुर मेरो लागि रियल हिरो हो ।’ उनले पछिल्लो पटक अभिनेता भुवन केसीसँग फिल्म ‘क्याप्टेन’ को एक गीतमा नृत्य गरेकी थिइन् । ‘महानायक’ विवाद र साम्राज्ञी आरएल शाहले भुवन केसीमाथि दुव्र्यवहारको आरोप लगाएको समयमा निरुताको यो भनाईलाई सामान्य रुपमा बुझ्न सकिन्न । उनले घुमाउरो शैलीमा भुवन केसीलाई ‘महानायक’ भनेकी छन् । त्यस्तै, पहिलो फिल्ममा भुवन केसीले आफूलाई निकै सहयोग गरेको बताउनुले साम्राज्ञीले लगाएको आरोपमा सत्यता नभएको उनको आशय हुनसक्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *