ट्राफिक महाशाखा सिल, कामकाज ठप्प

काठमाडौँ, १९ साउन । दुई जना ट्राफिक प्रहरीलाई कोरोना सङ्क्रमण देखिएपछि महानगरीय ट्राफिक महाशाखा सिल गरिएको छ । गत शुक्रबार नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा गरिएको स्वाब सङ्कलनमा दुई ट्राफिक प्रहरीमा कोरोना सङ्क्रमण देखिएपछि महाशाखा सिल गरिएको हो । महाशाखा प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले ट्राफिक प्रहरीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि महाशाखामा आवतजावतमा रोक लगाइएको जानकारी दिए । उनले कोरोना पुष्टि भएका प्रहरीको सम्पर्कमा आएकालाई बाहिर आवतजावतमा समेत बन्द गरिएको जानकारी दिए । स्वाब सङ्कलनको रिपोर्ट नआएसम्म महाशाखाभित्रबाट सेवाग्राहीका लागि गरिने दैनिक कामकाज रोकिएका छन । यस्तै महाशाखाभित्र बस्ने ३७५ ट्राफिक प्रहरी कर्मचारीलाई क्वारेन्टिनमा राखिएको छ । महाशाखामा हाल एक हजार ५०० भन्दा बढी ट्राफिक प्रहरी कार्यरत रहे पनि ३७५ जना क्वारेन्टिनमा रहेकाले बाँकीलाई सवारी चापको अवस्था हेरेर काममा खटाइएको महाशाखा प्रमुख ढकालले बताउनुभयो । क्वारेन्टिनमा बसेका प्रहरीको चाँडो स्वाब सङ्कलन गर्ने तयारी भइरहेको महाशाखाले जनाएको छ ।
यसैगरी, आइतबार काठमाडौं उपत्यकामा ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा २२, ललितपुरमा ८ र भक्तपुरमा १ जना भेटिएका छन् । मन्त्रालयले संक्रमितको ठेगाना खुलाएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *