नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ५७ पुग्यो,जनकपुर, वीरगन्ज, विराटनगर र विर्तामोडमा निषेधाज्ञा जारी

काठमाडौँ, १९ साउन । नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ५७ जना पुगेको छ । स्थानिय प्रशासनले जनकपुर, वीरगन्ज, विराटनगर र विर्तामोडमा निषेधाज्ञा जारी गरेको छ । देशभरमा आइतबार थप २४६ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । योसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार ६७२ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आइतबार आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा आठ हजार ८६१ जनाको पिसीआर नमूना परीक्षण गर्दा उक्त सङ्ख्यामा कोरोना सङ्क्रमण पुष्टि भएको जानकारी दिए ।
प्रवक्ता डा गौतमका अनुसार कोभिड–१९ बाट सङ्क्रमण मुक्त भई गत २४ घण्टामा डिस्चार्ज हुनेको सङ्ख्या १११ रहेको छ । योसँगै १४ हजार ६०३ सङ्क्रमित कोरोनामुक्त भएर घर फर्किएका छन् । हाल क्वारेन्टिनमा १० हजार ९३४ जना रहेका छन् । सङ्क्रमितमध्ये ७२ प्रतिशत निको भएको र मृत्यु हुनेमा ०.२८ प्रतिशत रहेको छ ।
काठमाडौँ उपत्यकामा आज थप ३१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार काठमाडौँमा २२, ललितपुरमा आठ र भक्तपुरमा एक जनामा कोरोना सङ्क्रमण भएको पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल संक्रमितको संख्या २० हजार ३३२ जना रहेका छन् ।आइतबार कोरोना संक्रमण निको भएर १११ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या १४ हजार ६०३ जना रहेका छन् । कोरोना संक्रमणका कारण आइतबारसम्म ५७ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै पर्सामा ८१ जनामा संक्रमण पुष्टि भएको छ । धनुषाका ३५, काठमाडौंका २२, मोरङका १६, सुनसरीका १२, डोटीका ११, कैलाली र बर्दियाका १०र१०, ललितपुर र स्याङ्जाका ८र८ जना तथा महोत्तरी र कास्कीका ५–५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।यस्तै नवलपुर र लम्जुङका ३र३ जना, सर्लाही, रौतहट र तनहुँका २–२ जना तथा भक्तपुर, चितवन, सिन्धुली, गोरखा, बाग्लुङ, डोटी र दार्चुलाका एकरएक जनामा संक्रमण पुष्टि भएको छ ।
यसैगरी,जनकपुरधाम उपमहानगरपालिकामा सोमबार रातिदेखि लागू हुने गरी एक हप्ता सम्मका लागि निषेधाज्ञा जारी गरिएको छ । धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले उपमहानगर क्षेत्रमा कोरोनाको जोखिम बढ्दै गएकाले सोमबार राति १२ बजेदेखि लागू हुने गरी निषेधाज्ञा जारी गरिएको जानकारी दिए । कोरोना संक्रमणको प्रभावकारी रोकथाम तथा नियन्त्रण र यसको संक्रमण फैलिन नदिनका लागि जिल्लाभरि प्रतिकूल प्रभाव पर्नसक्ने कुनै किसिमको गतिविधि हुन र गर्न नदिन नेपाल राजपत्रमा तोकिएका अत्यावश्यक सेवा बाहेकका अन्य सबै सेवा र स्थलहरू सोमबार राति १२ बजेदेखि एक हप्तासम्मका लागि स्थानीय प्रशासन ऐन,२०२८ को दफा ६ (३) र संक्रामक रोग ऐन २०२० को दफा २ बमोजिम जिल्ला सुरक्षा समितिको निर्णय अनुसार जनकपुरधाम उपमहानगरपालिकाभित्र निषेधाज्ञा जारी गरिएको प्रजिअ भट्टराईले बताए । प्रशासनले औषधि पसल, खाद्यान्न, फलफूल तथा तरकारी, अस्पताल तथा स्वास्थ्य केन्द्र सञ्चालनसम्बन्धी सेवा, मालसामान ओसारपसार गर्ने तथा निर्माण कार्यमा प्रयोग हुने ढुवानीका यातायात, सरकारी छापाखाना, सञ्चार सेवा, बैंकिङ सेवा, आन्तरिक सुरक्षा कार्य, खानेपानी सञ्चालन तथा वितरण, पेट्रोलियम पदार्थको ढुवानी भण्डारण र वितरण, फोहोरमैला संकलन तथा ढुवानी, विद्युत सेवा, कृषिजन्य कार्य तथा कृषि तथा पशुपंक्षीजन्य उत्पादन, ढुवानीमा प्रयोग हुने साधन, वर्कसपलाई अत्यावश्यक सेवामा राखेको छ ।
यस्तै, वीरगन्जमा जारी रहेको निषेधज्ञा सोमबारबाट जिल्लाभर लागु हुने भएको छ । जिल्ला सुरक्षा समितिको बसेको बैठकले पर्सामा संक्रमणको जोखिम बढेको भन्दै सोमबार बिहान ५ बजेबाट लागु हुने गरी पूरा जिल्लामा निषेधज्ञा गर्ने निर्णय गरेको हो। जिल्ला प्रशासन कार्यालयले गत साउन १० गते वीरगन्जमा मात्र लागु हुनेगरी निषेधज्ञा जारी गरेको थियो । तर फेरी अर्को सूचना जारी गर्दै सोमबारबाट भने पूरा जिल्लाभर निषेधज्ञा लागु गर्ने भनिएको छ । निषेधज्ञा अवधिभर औंषधी उपचार तथा अन्य अत्यावश्यक काममा बाहेक कुनै पनि व्यक्ति घर बाहिर निस्कन नपाउने भनिएको छ । स्वास्थ्य, खानेपानी, दुध, फोहोरमैला, औषधी पसल जस्ता अत्यावश्यक सेवा भने सञ्चालन गर्न पाइने छन् । यस्तै भारतसँग सीमा जोडिएका नाकाहरू तथा खुला सीमाबाट जुनसुकै मानिसहरूको आवगमन निषेध गरिएको छ । पछिल्लो समय पर्सामा थप ७३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । वीरगञ्जको नारायणी अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा सेना, प्रहरी र पत्रकारसहित थप ७३ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमित हुनेमा ६१ जना पुरुष र १२ जना महिला रहेको अस्पताल प्रशासनले जानकारी दिएको छ । संक्रमितहरु १० वर्षदेखि ६७ वर्ष उमेर समूहका छन् । संक्रमित हुनेमा प्रहरीका दुई जना, सेनाका एक जना, पत्रकार एक जना, वीरगञ्ज महानगरपालिकाका विभिन्न वडाका पाँच जना, बारा जिल्लाका पाँच जना र भारतीय नागरिक एक जना छन् । योसँगै पर्सामा संक्रमितको संख्या ५ सय ८० पुगेको छ । संक्रमित र मृतकको संख्या बढ्न थालेपछि पर्सामा जिल्लाभर नै निषेधाज्ञा जारी गरिएको छ ।
उता, विराटनगरमा सात प्रहरीसहित थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोशी अस्पताल विराटनगरमा परीक्षण गर्दा प्रदेश प्रहरी कार्यालय विराटनगरमा कार्यरत सात प्रहरी कर्मचारीसहित १५ जना संक्रमित थपिएका विराटनगर महानगरपालिका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले जानकारी दिए । संक्रमित प्रहरीहरु ४१, ४२, ३७, २५, ३५, २४ र ३३ वर्षका छन् । संक्रमितहरु विराटनगर महानगरपालिका वडा नं. ६ र ७ का हुन् । वडा नम्बर ७ मा ३०, ३६, २५ र ४५ वर्ष उमेरका पुरुषहरुमा संक्रमण देखिएको छ । यसैगरी वडा नम्बर ६ काका २४ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै कोशी अस्पताल विराटनगरमा कार्यरत दुई जना र विराट मेडिकल कलेजमा कार्यरत एकजना पुरुष कर्मचारीमा पनि कोरोना संक्रमण देखिएको छ ।
यसैबीच, विश्वभर महामारीका रुपमा फैलिएको कोभिड– १९ को सङ्क्रमणबाट बितेका सात दिनमा विदेशमा २८ नेपालीको मृत्यु भएको छ । भारतमा २५, र साउदी अरेबियामा दुई र दक्षिण अफ्रिकामा एक जनाले ज्यान गुमाएका हुन् । यससँगै सङ्क्रमणका कारण विदेशमा १८९ नेपालीको मृत्यु भएको गैरआवासीय नेपाली सङ्घले जनाएको छ ।
विश्वका ३८ देशमा रहेका नेपाली कोरोना भाइरसको शिकार भएको र सबैभन्दा बढी भारतको महाराष्ट्रमा रहेका नेपाली रहेको बताउँदै सङ्घले लण्डनबाट आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा लक्जम्बर्गमा पारिवारिक जमघटमा भेला भएका ३५ नेपाली एकैपटक सङ्क्रमित भएको उल्लेख गरिएको छ ।
यसैबीच सङ्घले हालसम्म कोभिड–१९का कारण विदेशमा अलपत्र ३७ हजार ४२४ जनालाई सम्बन्धित देशस्थित नेपाली दूतावास र कूटनीतिक नियोगलगायत अन्य स्थानीय निकायसँगको समन्वयमा स्वदेश फर्काइएको बताएको छ । अलपत्र परेकालाई नेपाल फर्काउन ५४ उडानको व्यवस्था मिलाइएको पनि सङ्घले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *