फिफा विश्वकप २०२२ कतारको छनोट चरण खेलका लागि तयारी

काठमाडौं, १८ साउन । फिफा विश्वकप २०२२ कतारको छनोट चरण अन्तर्गत दशरथ रंगशालामा हुने खेलका लागि तयारी गर्न राष्ट्रिय पुरुष फुटबल टोलीका खेलाडी शनिबारदेखि क्वारेन्टिनमा बसेका छन् । टोलीका व्यवस्थापक मधुसुदन उपाध्यायले दुई चरणमा क्वारेन्टिन र पीसीआर परिक्षणपछि मात्र प्रशिक्षण सुरु हुने जानकारी दिए । ‘उपत्यकाबाहिर रहेका खेलाडीहरुलाई एन्फाले होटेलमा क्वारेन्टिनको व्यवस्था गरेको छ । केहि दिन क्वारेन्टिनमा बसेपछि सबै खेलाडीको पीसीआर टेस्ट गरिनेछ । उपत्यकामा रहेका खेलाडी भने आ–आफ्नो घरमै सेल्फ क्वारेन्टिनमा बस्नेछन्,’ उनले भने । टोलीका फिजियोथेरापिस्ट आविष्कार पुडासैनीले प्रशिक्षण सुरु गर्नका लागि आवश्यक सावधानी अपनाइएको बताए । ‘ हामीले फिफा र विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले दिएको मापदण्ड पालना गरेको छौं । यससँगै नेपाल सरकारले तोकेको मापदण्डसँगै अन्तरिक नियम पनि बनाएका छौं । चरणवद्ध रुपमा हामी प्रशिक्षणमा फर्कनेछौं । प्रशिक्षणका क्रममा पनि सावधानी अपनाउने छौं । स्वास्थ्यलाई प्राथमिकतामा राख्दै प्रशिक्षणमा फर्कनेछौं,’ उनले थपे । कोरोना संक्रमणका कारण स्थगित भएका खेलहरु नयाँ खेल तालिका अनुसार नेपालले दशैं र तिहारअघि आफ्नो खेल खेल्नेछ । छनोट अन्तर्गत समूह सी मा रहेको नेपालले आफ्नो अन्तिम तीन खेल खेल्न बाँकी रहेको छ । नेपालले बाँकी तीनै खेल आफ्नो घरेलु मैदान दशरथ रंगशालामा खेल्ने कार्यक्रम रहेको छ । सुरुवाती पाँच खेलमा नेपालले १ जित र ४ हारसहित ३ अंक जोडेको छ । पाँच राष्ट्र सम्मिलित समूहमा नेपाल चौथो स्थानमा छ ।
नेपालले पछिल्लो पटक घरेलु मैदान तयार नहुँदा कुवेतसँगको खेल भुटानको चाङलिमिथाङ मैदानमा खेलेको थियो । उक्त खेलमा नेपाल १–० ले पराजित भएको थियो । त्यसअघि खेलेका ४ अवे खेलमध्ये नेपालले चाइनिज ताइपेइको मैदानमा २–० को जित हासिल गरेको थियो । उक्त जितमा दुवै गोल अन्जन विष्टले गरेका थिए ।
नेपालले पहिलो खेलमा कुवेतको मैदानमा ७(० को हार बेहोरेको थियो । दोस्रो खेलमा जित दर्ता गरेपछि अष्ट्रेलिया पुगेको नेपाली टोलीले त्यहाँ ५(० को हार बेहोरेको थियो । चौथो खेलमा नेपाल जोर्डनको मैदानमा ३–० ले पराजित भएको थियो । अब नेपालले घरेलु मैदानमा चाइनिज ताइपेइ, अष्ट्रेलिया र जोर्डनसँग खेल्ने कार्यक्रम रहेको छ । नयाँ खेल तालिका अनुसार नेपालले असोज २२ (८ अक्टोबर)मा चाइनिज ताइपेइसँग खेल्नेछ भने अष्ट्रेलियासँग त्यसको पाँच दिन पछि (असोज २७ गते) प्रतिस्पर्धा गर्नेछ । २७ कार्तिक (१२ नोभेम्बर)मा जोर्डनसँग खेल्दै नेपालले आफ्नो विश्वकप छनोट सम्पन्न गर्नेछ । पाँच राष्ट्र सम्मिलित समूहको शीर्ष स्थानमा रहने टोलीले एसियन कपमा छनोट हुनुका साथै विश्वकप छनोटको तेस्रो चरणमा सहभागी हुन पाउनेछ । दोस्रो हुने उत्कृष्ट चार टोली पनि विश्वकपको तेस्रो चरणका साथै एसियन कपमा अगाडी बढ्नेछन् भने तेस्रो स्थानसम्मका टोली एसियाली कपको छनोटको तेस्रो चरणमा छनोट हुनेछन् । समूहको उत्कृष्ट ४ चौथो हुने टोली एसियाली कप छनोटको तेस्रो चरणमा पुग्दा बाँकी टोलीले उक्त छनोटमा पुग्न प्लेअफ खेल्नुपर्नेछ । हालसम्मको नतिजा हेर्दा नेपाल एसियन कप छनोटका लागि प्लेअफ खेल्नुपर्ने स्थितिमा छ । नेपालले बाँकी तीन खेलमा भने सुखद नतिजा हासिल गर्ने अपेक्षा गरिएको छ । नेपालले महाभूकम्पका कारण रंगशाला बिग्रीएपछि अन्तर्राष्ट्रिय मान्यताप्राप्त फिफाको खेल खेलेको छैन । नेपाल रहेको समूह ‘बी’मा अष्ट्रेलिया ४ खेलमा १२ अंकसहित शीर्ष स्थानमा छ । दोस्रो स्थानको कुवेत र तेस्रो स्थानको जोर्डनको समान १०–१० अंक रहेको छ । नेपाल ३ अंकसहित चौथो स्थान तथा अंकविहिन चाइनिज ताइपेइ अंकविहिन रहेको छ । प्रशिक्षणमा डाकिएका खेलाडीमा गोलरक्षक – विकेश कुथु, विशाल श्रेष्ठ, एलन न्यौपाने, किरण चेम्जोङ रहेका छन । रक्षक रञ्जित धिमाल, सुमन अर्याल, अमित तामाङ, सरोज दाहाल, अजित भण्डारी, छिरिङ गुरुङ, विकास खवास, अनन्त तामाङ, देवेन्द्र तामाङ, दिलेन लोक्तान रहेका छन । मिडफिल्डर – विशाल राई ‘बी’, सेसेहाङ आङदेम्बे, तेज तामाङ, विक्रम लामा, सुवास गुरुङ, मिक्छेन तामाङ, पुजन उपरकोटी, एरिक विष्ट, सुजल श्रेष्ठ, रवि पासवान, सुनिल बल, अञ्जन विष्ट, रोहित चन्द रहेका छन । यसैगरी,फरवार्ड – अभिषेक रिजाल, जर्ज प्रिन्स कार्की, दर्शन गुरुङ, भरत खवास, नवयुग श्रेष्ठ, आशिष लामा र विमल राना रहेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *