पार्टी एकतालाई उच्चस्तरमा सुदृढ गर्नुपर्छ प्रचण्ड

काठमाडौँ, १८ साउन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को एकतालाई अझै माथिल्लो स्तरमा सुदृढ गर्नुपर्नेमा
अध्यक्ष एवं पूर्वप्रधानमन्त्री प्रचण्डले जोड दिएका छन । तुलसीलाल अमात्यको स्मृति दिवसका अवसरमा शनिबार ललितपुरमा आयोजित कार्यक्रममा उनले आम कार्यकर्ता र जनताको चाहना नेकपा विभाजन नहोस् भन्ने रहेको बताउदै जन चाहनालाई कदर गर्न एकतालाई उच्चस्तरमा सुदृढ गर्नुपर्ने बताए । उनले पार्टीमा बहस र विवाद हुनु सामान्य भएको बताए । विचार, मान्यता, विधि र पद्धति कस्तो हुने भन्ने बहस नेकपाभित्र र त्यसलाई प्रतिक्रियावादीले पद प्राप्तिको झिनाझम्टी भन्ने गरेकाले नपत्याउन उनले आग्रह गरे । अध्यक्ष प्रचण्डले पदका लागि होइन, राष्ट्र र जनताको सेवा नै मुख्य भएको बताए । पद हाम्रो विषय होइन । राष्ट्र र जनताको भविष्य सुनिश्चित गर्ने र विकास गर्ने जिम्मेवारीमा हामी छौँ ।
उनले कम्युनिष्ट पार्टी विचार र पद्धतिमा चल्ने भएकाले बहस हुने कुरा स्वभाविक बताए । राजनीतिक अस्थिरता र एकताका निम्ति आफूले पद त्याग गर्दै आएको समेत स्मरण गर्दै उनले भने, “मैले संविधान बनाउने बेलामा पनि, स्थानीय तहको निर्वाचन गर्ने बेलामा पनि र गठबन्धन गर्ने बेलामा पनि पद हाम्रो विषय होइन, राष्ट्र र जनताको भविष्य स्थापित गर्ने ऐतिहासिक जिम्मेवारी हो भनेर स्पष्ट पारेको छु ।”
अहिलेको बहसले पार्टी फुटाउने प्रवृत्तिलाई परास्त गर्ने दाबी गर्दै उनले पार्टीभित्रको बहसलाई छोपछाप गर्न नहुनेमा जोड दिए । अध्यक्ष प्रचण्ड भने, “अहिलेको बहस तिखो भइरहेको छ । हामीभित्र तिखो बहस चलिरहेको छ, चिल्ला शब्द छैनन् । इतिहासको अनुभवबाट शिक्षा लिएर पार्टी एकता कायम गर्नुको विकल्प छैन । पार्टी फुटाउने प्रवृत्ति परास्त हुन्छ, गरिनेछ । बहसले माथिल्लोस्तरमा लगेर पार्टीलाई सुदृढ गर्छ ।
यसैगरी, गण्डकी प्रदेशका मुख्यमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य पृथ्वीसुब्बा गुरुङले नेकपाभित्रको अहिलेको विवाद वैचारिक र सैद्धान्तिक नभएको बताएका छन । पे्रस सङ्गठन नेपाल नवलपुर शाखाले शनिबार कावासोतीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले अहिलेको विवाद वैचारिक र सैद्धान्तिक नभएको स्पष्ट पारेका छन ।
एकता महाधिवेशनसम्म दुवै अध्यक्ष रहने र त्यसपछि वैधानिक अध्यक्ष भित्र्याउनुको अर्को विकल्प नभएको समेत उनले तर्क गरे । अहिले अध्यक्ष हटाउने कुरा वैधानिक नभएको उल्लेख गर्दै पार्टी अध्यक्षलाई बहुमतका आधारमा हटाउनतर्फ लागे दुर्घटनामा फस्ने उनले बताए । अहिले अध्यक्ष हटाउनतर्फ लागे गुडिरहेको गाडी दुर्घटनामा पर्छ मुख्यमन्त्री गुरुङले भने, “सहमतिका साथ एकता महाधिवेशन गरी वैधानिकरूपमा अध्यक्ष भित्र्याउनुको अर्को विकल्प छैन ।” उनले अहिले प्रधानमन्त्रीको राजीनामा तर्फ जानु मात्र समस्याको समाधान नभएको समेत र प्रधानमन्त्रीबाट राजीनामा दिने कुरा पार्टीको आन्तरिक कुरा मात्रै नभएर जनताको कार्यादेश विपरीत हुने उल्लेख गरे । “निर्वाचनमा जनतासँग स्थायी सरकार चलाउने बाचाका साथ जुन कार्यादेश दिएका छन्, हाम्रो आफ्नो झगडाका कारण जनताको कार्यदेशमाथि अपमान गर्न पाइँदैन”, मुख्यमन्त्री गुरुङले भने ।
मुख्यमन्त्री गुरुङले सङ्घ र प्रदेशबीचको असमझदारी कम हुँदै गएको, प्रदेशमा समेत धेरै आधारभूत प्रबन्ध भएको बताएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *