‘झ्यानाकुटी ’ को सिक्वेल बन्ने


काठमाडौं, १७ साउन । फिल्म ‘झ्यानाकुटी’ को सिक्वेल बन्ने भएको छ । यस फिल्ममा फेरी सौगात र बेनिशालाई एकसाथ देख्न सकिन्छ । यस अघि निशा अधिकारीले निर्माण गरेको फिल्म ‘झ्यानाकुटी’ ले सोचे जस्तो सफलता हात पार्न सकेको थिएन । उक्त फिल्म बैबाहिक जीवनमा आउने समस्यामा फिल्म केन्द्रित रहेको थियो । तर अब बन्ने फिल्म ‘झ्यानाकुटी २’ मा दमदार कथाका साथ निर्माण गर्न लागेको निर्माण पक्षले जनाएको छ । ‘झ्यानाकुटी ’ को कथा भन्दा दमदार कथा लिएर आएको लेखक प्रदिप भारद्वाजले जानकारी दिए । निर्माण टिमको अनुसार सौगात र बेनिशाको विवाह अगाडीको कथा बनाउने कि विवाह पछिको कथामा फिल्म बनाउने भन्ने कुरामा छलफल भइरहेको बताए ।
सुपरहिट नभएको फिल्मको दोस्रो सिरिज बनाउने जोखिम किन उठाउन लाग्नुभएको ? भन्ने प्रश्नमा निर्देशक सिमोस भन्छन्, ‘हो, फिल्मको इनिसियल व्यापार राम्रो भएन । अरु फिल्म जस्तो सुपरहिट पनि भएन । तर, फिल्मको कमाईबाट हामी सन्तुष्ट छौं । फिल्म ५ हप्तासम्म हलमा चलेको थियो । म स्वयंलाई पनि फिल्म मन परेको थियो । दर्शकहरुले पनि रुचाउनुभएको थियो ।’
फिल्मको सिक्वेल वा प्रिक्वेल जुन बने पनि सौगात र बेनिशा नै दोहोरिने निर्देशक सुनुवारको भनाई छ । लेखक प्रदीप भारद्धाज आफूले लेखेका स्क्रिप्टमा बनेका फिल्ममध्ये ‘झ्यानाकुटी’ बाट सबैभन्दा सन्तुष्ट रहेको बताउँछन् । उनी स्वयंले यो फिल्मको सिक्वेलको इच्छा देखाएका थिए । ‘झ्यानाकुटी २’ कस्तो बन्ने हो त्यो भने अब हेर्न बाँकी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *