काँग्रेसद्वारा आधिकारिक उम्मेदवार विरुद्ध स्वतन्त्र उम्मेदवारी दिने, निजका प्रस्तावक र समर्थक गरी जम्मा २७९ जनालाई पार्टीबाट निष्काशन

काठमाडौँ, १२ साउन । आधिकारिक उम्मेदवार विरुद्ध स्वतन्त्र उम्मेदवारी दिने, निजका प्रस्तावक र समर्थक गरी जम्मा २७९ जनालाई पाँच वर्षका लागि नेपाली काँग्रेसले पार्टीबाट निष्काशन गर्ने निर्णय गरेको छ । काँग्रेसको केन्द्रीय अनुशासन समितिले तीन तहका निर्वाचनमा पार्टीको उम्मेदवारविरुद्ध स्वतन्त्र उम्मेदवारी दिने, असहयोग गर्ने र पार्टीको अनुशासन उल्लङ्गन गर्ने अधिकांशलाई कारवाही गरेको समिति सदस्य धनराज गुरुङले जानकारी दिएका छन ।नेपाली काँग्रेसले पार्टी विधानको अनुशासन उल्लङ्घन गर्नेलाई कारवाही प्रक्रिया तीव्र बनाएको छ ।
समितिमा स्थानीय, प्रदेश एवं सङ्घीय निर्वाचनको क्रममा पार्टीका विभिन्न तहका नेता तथा कार्यकर्तालाई आधिकारिक उम्मेदवारलाई असहयोग गरेको भनी नगर वडासमिति, साविकको गाविस वा गाउँपालिका कार्यसमिति, नगर कार्यसमिति तथा साविकको क्षेत्रीय कार्यसमितिबाट सिफारिस भई आएका र सम्बन्धित उम्मेदवारको समेत गरी एक हजार २५० उजूरी परेका थिए । सो उजूरीमध्ये छानबिन गरी अधिकांशलाई विधानअनुसार कारवाही गरिएको समिति सदस्य गुरुङले जानकारी दिए । शनिबार बसेको समिति बैठकले तनहँु निवासी पूर्व सहमहामन्त्री एवं पूर्वमन्त्री गोविन्दराज जोशी र कैलाली निवासी पूर्व राज्यमन्त्री एवं महासमिति सदस्य पुष्करनाथ ओझालाई पार्टीको विधानअनुसार अनुशासन उल्लङ्घन गरेको आरोपमा पाँच वर्षका लागि पार्टीबाट निष्काशन गर्ने निर्णय गरेको छ ।
जोशीलाई पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलविरुद्ध उम्मेदवारी दिएको र ओझालाई पार्टीका आधिकारिक उम्मेदवार आरजु राणा देउवालाई असहयोग गरेको आरोपमा कारवाहीको माग गर्दे उजूरी परेको थियो ।
यसैगरी बैठकले डडेल्धुराका जिल्ला कार्यालय सचिव रामबहादुर विष्टलाई पार्टीको विधानअनुसार अनुशासन उल्लङ्घन गरेको आरोपमा तीन वर्षका लागि पार्टीबाट निष्काशन गर्ने निर्णय गरेको समितिले जनाएको छ । उनिहरु तीनै जनालाई समितिको गत फागुन १९ गतेको बैठकले कारवाही किन नगर्ने भनी तीन दिनको म्याद राखी अन्तिम स्पष्टिकरण सोधेका थियो । निजहरुले दिएको स्पष्टिकरण चित्तबुझ्दोे नभएको र केन्द्रीय अनुशासन समितिलाई प्राप्त सबुद प्रमाण अडियो भिडियोको आधारमा तीनै जनाले विधानअनुसार अनुशासन उल्लङ्घन गरेको आरोपमा पार्टीबाट निष्काशन गर्ने निर्णय गरिएको हो । समितिले बाँकेका महासमिति सदस्य महेन्द्र मल्ललाई विधानबमोजिम अनुशासन उल्लङ्न गरेको भन्दै गत असार २४ गते पाँच वर्षका लागि पार्टीबाट निष्काशन गर्ने निर्णय गरेको थियो ।
यसैगरी समितिले उजूरीसँग सम्बन्धित बाँकी आरोपीलाई पार्टीको वृहत्तर हितमा कार्य गर्न सचेत गराउँदै आगामी दिनमा निजहरुले पार्टीमा खेल्ने भूमिका एवं गतिविधिअनुसार मूल्याङ्कन गर्दै जाने कुरा सूचित गर्ने निर्णय गरेको छ । समितिले उजूरीसँग सम्बन्धित आरोपीलाई स्पष्टिकरणको पत्राचार गरिएकामा कतिपय जिल्लाबाट आरोपितहरुलाई पत्र नबुझाएको भन्ने गुनासो आरोपितबाट आएको हुँदा पार्टीका सम्बन्धित जिल्ला सभापतिलाई समेत सचेत गराएको छ । काँग्रेस केन्द्रीय सदस्य भीष्मराज आङदेम्बे संयोजकत्वको केन्द्रीय अनुशासन समितिमा पार्टीका केन्द्रीय सदस्यहरु उमाकान्त चौधरी, धनराज गुरुङ, किशोरसिंह राठौर र देवेन्द्रराज कँडेल सदस्य छन ।
यसैगरी, नेपाली काँग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले पार्टीका महाधिवेशन प्रतिनिधिका लागि जुम प्रविधिमार्फत प्रशिक्षण कार्यक्रम पुनः आरम्भ गरेको छ । वर्तमान परिस्थितिलाई मूल्याङ्कन गरी प्रशिक्षण हुन बाँकी प्रदेशहरूको कार्यक्रम जुम प्रविधिमार्फत गर्ने निर्णयअनुरुप शनिबार ओखलढुङ्गाका महाधिवेशन प्रतिनिधिहरूका लागि प्रशिक्षण कार्यक्रम सम्पन्न गरिएको प्रतिष्ठानले जनाएको छ । प्रशिक्षण कार्यक्रममा गर्दै प्रतिष्ठान प्रमुख एवं पार्टी उपसभापति विमलेन्द्र निधिले काँग्रेसलाई थप सशक्त बनाउन प्रशिक्षणलाई निरन्तरता दिइने बताए । पार्टीको सिद्धान्त, नीति र कार्यक्रमलाई सदस्यहरूमाझ पु¥याउने र सदस्यहरूमार्फत नागरिक मतदातालाई बुझाउन सके काँग्रेसको भविष्य थप सशक्त हुने उनको भनाइ थियो ।
प्रतिष्ठानका कार्यकारी निर्देशक प्रा पुरुषोत्तम दाहालले नयाँ पुस्तालाई राजनीतिप्रति आकर्षित गर्नुपर्ने, लोकतन्त्रप्रति विश्वस्त गराउनुपर्ने र काँग्रेसलाई भरपर्दो बनाउने प्रशिक्षणको लक्ष्य रहेको बताए । कार्यक्रममा ओखलढुङ्गा पार्टी सभापति प्रदीप सुनुवार, संविधानसभा सदस्य रामहरि खतिवडा, पार्टीका तर्फबाट प्रदेशसभा उम्मेदवारहरू मित्रसेन दाहाल र बालकृष्ण दाहालले आफ्ना धारणा व्यक्त गरेका थिए । प्रतिष्ठानका जिल्ला शाखा प्रमुख एवं जिल्ला कार्यसमिति ओखलढुङ्गाका उपसभापति तेजेन्द्र खनालको सभापतित्वमा भएको कार्यक्रममा प्रतिष्ठानका प्रशिक्षण निर्देशक खिलानाथ दाहाल र प्रतिष्ठानका सदस्य राजु नेपालले सदस्यहरूलाई प्रशिक्षण दिएका थिए ।
प्रतिष्ठानले यसअघि वाग्मती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश, प्रदेश नं ५ का महाधिवेशन प्रतिनिधिहरूलाई प्रशिक्षण सम्पन्न गरिसकेको छ । गत चैतमा सम्पन्न गर्ने लक्ष्यका साथ प्रशिक्षण तय भए पनि बन्दाबन्दीका कारण प्रदेश नं १, प्रदेश नं २ र सुदूरपश्चिम प्रदेशको प्रशिक्षण हुन सकेको थिएन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *