पुम्से च्याम्पियनसिपमा नेपाल ४ स्वर्ण, ३ रजत र १४ कास्यगरी कुल २१ पदक जित्न सफल

काठमाडौँ, ९ साउन । अनलाइन भिडियो पुम्से च्याम्पियनसिपअन्तर्गतको ब्ल्याकबेल्टमा नेपालले ४ स्वर्ण ३ रजत र १४ कास्यगरी कुल २१ पदक जित्न सफल भएको छ । नेपालमा आयोजना भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) स्वर्णधारी कमल श्रेष्ठ र पार्वती गुरुङले अनलाइन भिडियो पुम्से च्याम्पियनसिपअन्तर्गतको ब्ल्याकबेल्टमा स्वर्ण हात पारेका छन् ।
अन्तर्राष्ट्रिय खुला मैत्री तेक्वान्दो च्याम्पियनसिप (आईओएफटीसी) को आयोजनामा भएको च्याम्पियनसिपमा कमल र पार्वतीसँगै निकुन गुरुङ र सरगम थापाले स्वर्ण पदक जितेका छन् । ३० वर्षको विधामा कमल पहिलो भए । हस्तबहादुर तामाङले रजत तथा जितबहादुर बोट र प्रेम बहादुर लिम्सोले कास्य पाए । जित र प्रेमले १३औं सागमा पनि कास्य जितेका थिए ।
महिला ३० वर्षको इभेन्टमा पार्वतीले स्वर्ण जितिन् । नेपालकी सजिंला तिमल्सिनाले कास्य जितिन् । ७ वर्ष मुनिको इभेन्टमा नेपालका निकुन गुरुङले स्वर्ण जिते । महिला ९ वर्षमुनि विधामा सरगम च्याम्पियन बनिन् । पुरुष ९ वर्षमुनि प्रज्ञान तामाङले रजत र करुण खाँड तथा आर्यन्सजङ राणाले कास्य पाए । ११ वर्षमुनिको इभेन्टअन्तर्गत पुरुषमा नेपालका हर्कबहादुर गुरुङ र महिलामा इसिका रानाले कास्य पाए ।
महिला १४ वर्षमुनिको इभेन्टमा सन्ध्या लामालाई कास्य जितिन् । १७ वर्षमुनि पुरुषमा दिपेश गुरुङ र महिलामा मोनिका रम्तेलले कास्य पदक पाए । ४० वर्षमा पुरुषतर्फ सुरज श्रेष्ठ र महिलामा रेशमाया गुरुङले कास्य जितिन् । ५० वर्षको इभेन्टमा मधुसुदन सापकोटा र पर्शुनाराण बोहरा कास्यमा सीमित भए । ६० वर्ष उमेरसमूहमा फणिन्द्र खड्काले रजत हासिल गरे ।
डेइडो, युएसए, एभरेष्ट तेक्वान्दो संघ र युनिभर्सल युनाइटेड नेप्लिज तेक्वान्दो फेडेरेसन (युयुएनटीएफ) को सहयोगमा भइरहेको प्रतियोगतामा पठाइएको श्रब्यदृष्यलाई विश्व तेक्वान्दो महासंघबाट मान्यता प्राप्त निर्णायक प्यानलले मूल्यांकन गरी नतिजा सार्वजनिक गरिएको हो । नेपालबाट अशोक खड्काले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।

यसैगरी, अखिल नेपाल फुटबल सङ्घ (एन्फा) खेलाडी प्रशिक्षणको तयारीमा जुटेको छ । कोरोना भाइरस सङ्क्रमण महामारीका कारण फुटबल प्रशिक्षण गत चैत महिनादेखि रोकिएको थियो । एन्फाले राजधानीमा तथा बाहिर रहेका राष्ट्रिय फुटबल टोलीका सबै पुरुष खेलाडीलाई प्रशिक्षणका लागि तयार रहन निर्देशन दिएको छ । राष्ट्रिय फुटबल टोलीका सबै पुरुष खेलाडीलाई यही साउन १७ गतेसम्म काठमाडौँ बोलाइएको एन्फा प्रवक्ता किरण राईले बताए । साउन १७ गतेदेखि ३० गतेसम्म प्रशिक्षणका लागि आउनै सबै खेलाडीलाई क्वारेन्टीनमा राखिने उनले बताए । राष्ट्रिय फुटबल टोलीको प्रशिक्षण आगामी भदौ १ गतेदेखि प्रारम्भ हुनेछ । उक्त प्रशिक्षण एन्फा कम्पलेक्स सातदोबाटोमा गरिने प्रवक्ता राईले उल्लेख गरे । खेलाडीलाई क्वारेन्टीनमा राखी उनीहरुको पिसिआर परिक्षण गरिने छ । त्यसकै नतिजा अनुसार खेलाडीलाई प्रशिक्षणमा सहभागी गराइनेछ । सरकारले २०७६ चैत ११ गतदेखि लकडाउन लागू गरेको थियो । लकडाउन लगत्तै फुटबल प्रशिक्षण पनि रोकिएको थियो । सरकारले बुधबार लकडाउन खुला गरेसँगै एन्फाले खेलाडी प्रशिक्षणको प्रक्रिया अघि बढाएको हो । खेलाडीका लागि प्रशिक्षण अति आवश्यक भएकाले आफूहरु सरकारको निर्णयको पर्खाइमा रहँदै आएको राईले बताए । नेपालले विश्वकप छनोटअन्तर्गतको खेलका लागि प्रशिक्षण थाल्नेछ । यसअघि एन्फाले नेपाली राष्ट्रिय फुटबल टोलीको प्रशिक्षण शुरु गर्नका लागि युवा तथा खेलकूद मन्त्रालयमार्फत कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसी)सित अनुमति मागेको थियो । एन्फाले फिफा विश्वकप–२०२२ र एएफसी एसियन कप–२०२३ को छनोट प्रतियोगिताको तयारीका लागि अनुमति मागेको थियो ।
कोरोना भाइरस सङ्क्रमणका कारण स्थगित भएको छनोट खेलहरू आगामी अक्टोबर र नोभेम्बरमा गराउने एसियाली फुटबल महासङ्घ (एएफसी) ले फिफालाई प्रस्ताव गरेको छ । स्थगित भएका खेलहरू आगामी अक्टोबर ८ र १३ तारिख तथा नोभेम्बर १२ र १७ तारिखमा गराउने भनिएको छ । दोस्रो चरणको छनोटअन्तर्गत नेपालले अब तीन खेल खेल्न बाँकी छ । ती सबै खेल नेपालले घरेलु मैदानमा खेल्नेछ । नेपालले चाइनिज ताइपेई, अस्ट्रेलिया र जोर्डनसँग खेल्नेछ । समूह ‘बी’ मा रहेको नेपाल पाँच खेलमध्ये एउटामा जित निकाल्दै तीन अङ्क जोडेर चौथो स्थानमा छ । नेपालले चाइनिज ताइपेईलाई हराएको थियो । अन्य चार खेलमा पराजित भएको थियो । खेलाडीहरु प्रशिक्षण गर्न पाउने भएपछि उत्साहित भएका छन् । लामो समयदेखि प्रशिक्षणको पर्खाइमा रहेको र अब केही राहत मिलेको राष्ट्रिय फुटबल टोलीका खेलाडी विक्रम लामाले बताए । लकडाउन खुलेसँगै खेल्ने वातावरण बन्नेमा आफू आशावादी बनेको उनले उल्लेख गरे । घरेलु मैदानमा हुने तीन खेलमा उत्कृष्ट खेल प्रदर्शन गर्नुपर्ने नेपाली खेलाडी सामु चुनौती रहेको उनको बुझाइ छ । नेपाली टोलीले अबका खेलमा आफ्नो प्रदर्शनमा सुधार ल्याउने लामाले बताए । पुरुष टोलीलाई प्रशिक्षका लागि तयारी अवस्थामा रहन एन्फाले निर्देशन दिए पनि राष्ट्रिय महिला फुटबल टोलीको प्रशिक्षणको भने कुनै टुङ्गो छैन । राष्ट्रिय महिला फुटबल टोलीकी महत्वपूर्ण खेलाडी सावित्रा भण्डारीले महिला खेलाडीको प्रशिक्षण अन्योलमा रहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *