प्राकृतिक प्रकोपमा परेका व्यक्तिको खोजी, उद्धार र राहतका लागि हेलिकप्टर तयारी अवस्थामा, बाढी, पहिरो र डुबानका कारण हजारौ विस्थाापित

काठमाडौँ, ९ साउन । प्राकृतिक प्रकोपका घटनामा परेका व्यक्तिको खोजी, उद्धार र राहतका लागि सेनाले काठमाडौँ, इटहरी, भरतपुर र सुर्खेतमा हेलिकप्टर तयारी अवस्थामा राखेको जानकारी गराएको छ । अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा गएको बाढी, पहिरो र डुबानबाट प्रभावित स्थानमा नेपाली सेनाले खोज तथा उद्धारको कार्यलाई जारी राखेको छ ।
सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार, सेनाले बाढीपहिरो प्रभावित क्षेत्रमा जनशक्ति र स्रोतसाधन परिचालिन गरी खोज उद्धार तथा राहत वितरणको कामलाई जारी राखेको छ । परिचालित फौजले अस्थायी तटबन्ध निर्माण, अस्थायी पुल निर्माण, अवरुद्ध भएका सडक सञ्चालन गर्ने र जोखिममा रहेका स्थानीयलाई सुरक्षित स्थानमा स्थानान्तरणको कार्य गरिरहेको छ । सोही क्रममा झापा, तनहुँ, गोरखा, ललितपुर र रुपन्देहीका विभिन्न स्थानमा बाढी तथा पहिराका कारण विपत्मा परेका नागरिकलाई उद्धार गरी सुरक्षित स्थानमा स्थानान्तरण गरिएको उक्त निर्देशनालयले जनाएको छ । सेनाले झापा, चितवन र भक्तपुरमा स्थानीयको सहयोगमा अस्थायी तटबन्ध निर्माण गरी बाढी तथा पहिराबाट हुनसक्ने जोखिमको न्यूनीकरण गरेको जानकारी दिएको छ । रसुवा, पर्वत, तनहुँ, पाल्पा, मनाङ र काठमाडौँका विभिन्न स्थानमा अवरुद्ध सडक सञ्चालन गरेको तथा दार्चुलाको मालिकार्जुन गाउँपालिकाको पहिराका घाइतेलाई सेनाले उपचारका लागि हेलिकप्टरबाट उद्धार गरी नेपालगञ्ज लगेको थियो ।
यसैगरी, बारपाक सुलिकोट गाउँपालिकामा केही दिनदेखि परेको अविरल वर्षापछि आएको पहिराका कारण ६९ घरपरिवार विस्थाापित भएका छन् । गाउँपालिकाको वडा नं १ र २ बाहेकका सबै वडाका गरी पहिराका कारण ६९ घरपरिवार विस्थापित भएका गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भट्टले जानकारी दिए ।
लगातारको वर्षापछि आएको पहिरो वडा नं ३ को चित्रे भञ्ज्याङ, चिसापानी, काफलडाँडाका चार घरपरिवार विस्थापित भएको उनले जानकारी दिए । त्यस्तै वडा नं ४ को जौवारी, जेडाँडा र अर्चलेकालगायतका स्थानका १० घरपरिवार पहिराका कारण विस्थापित भएका अध्यक्ष भट्टको भनाइ छ ।
पहिराका कारण वडा नं ५ को पतेनाबारी र डुम्रेका चार घरपरिवार, वडा नं ६ को मसार र डाँडाका १४ घरपरिवार, वडा नं ७ को च्याजी पोखरी र डुम्रे र बालुवाका गरी १८ घरपरिवार विस्थापित भएका उनले जानकारी दिए । गाउँपालिका अध्यक्ष भट्टका अनुसार वडा नं ८ को तिनखण्डे, जराङलगायतका स्थानका १९ घरपरिवार पहिराले विस्थापित भएका छन् । निरन्तरको वर्षापछि आएको पहिराले गाउँपालिकाभित्रका छ वटा विद्यालयमा समेत क्षति पु¥याएको उनले बताए । पहिराका कारण वडा नं ६ ताकुकोटमा रहेको सूर्यज्वति माध्यामिक विद्यालय र मनासलु आधारभूत विद्यालय बहकोटको भवनमा क्षति पु¥याएको अध्यक्ष भट्टले बताए ।
त्यस्तै वडा नं ४ सौरपानीमा रहेको मूलदेवी आधारभूत विद्यालय, हिमालय माध्यामिक विद्यालय, वडा नं २ बारपाकस्थित कन्यादेवी आधारभूत विद्यालय, वडा नं ३ शिम्भुमा रहेको शिव आधारभूत विद्यालयमा पनि पहिराले क्षति पु¥याएको उनले जानकारी दिएका छन ।
यसैगरी, गत सोमबारदेखि आएको अविरल वर्षाका कारण ललितपुर महानगरपालिका– २४ धापाखेलका सात घर जोखिममा परेका छन् । यीमध्ये पहिराले दुई घर भत्किएका महानगरपालिकाले जनाएको छ । गत मङ्गलबार सो स्थानको जानकारी लिन जाँदा तीनदेखि चार तलाका घरमा समेत क्षति भएका पाइएको महानगरपालिकाका उपप्रमुख गीता सत्यालले बताईन । उनले वडा नं २३ धापाखेलको अर्काे टोल पानीले डुबाउँदा यहाँका स्थानीयवासीलाई समस्या परिरहेको बताईन ।
यस्तै,वर्षासँगै आएको बाढी र पहिराका कारण बागलुङ नगरपालिका–५ मालिकामा सात घरगोठ भत्किएका छन् ।
मालिकाका हेमराज रेग्मी, भरत रेग्मी र टकमाया किसानको घर पहिराले भत्काएको हो । सोही ठाउँका भरत रेग्मी, हर्कबहादुर क्षेत्री, भीमप्रसाद शर्मा र देवीप्रसाद शर्माको गोठ भत्किएको वडाध्यक्ष शिव सापकोटाले जानकारी दिए । पहिराले विद्युत् प्रसारण लाइनका पोल बगाउँदा मालिकामा विद्युत् सेवा पनि अवरुद्ध छ । खानेपानीका मुहान तथा वितरण लाइनका पाइप बगाएपछि स्थानीय बासिन्दाले सास्ती खेपेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *