जिल्ला अस्पताललाई १०० श्यया बनाउन माग

– हिमलाल पराजुली

स्याङ्जा, १८ जेठ (रासस) । कोरोना सङ्क्रमण (कोभिड–१९) बाट सङ्क्रमण देखिएका बिरामीलाई आइसोलेशनमा राखेर उपचार गरिरहेको जिल्ला अस्पताल स्याङ्जालाई स्तरोन्नति गर्नुपर्ने माग बढ्दै गएको छ ।
सदरमुकाममा रहेको सो अस्पतालले बालबालिका र प्रसूति सेवाका लागि गण्डकी प्रदेशभित्र पर्ने अन्य जिल्ला अस्पतालले भन्दा राम्रो सेवा दिदै आएको जनाइएको छ । पछिल्लो समयमा अस्पताललाई १०० श्ययाको बनाउनुपर्ने जिल्लावासीको माग रहेको छ ।
पुतलीबजार नगरपालिका–३ का अनन्तकुमार श्रेष्ठले जिल्ला अस्पताल स्याङ्जालाई स्तरोन्नति गरेर कम्तीमा पनि १०० श्ययाको बनाउनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “सरकारले जनताको स्वास्थ्यमा ध्यान दिनुपर्छ, यो सरकारको दायित्व भएकाले स्याङ्जावासीका लागि मात्रै नभएर सिमाना जोडिएका छिमेकी जिल्ला पर्वत र तनहुँका समेत केही स्वास्थ्य चौकी र प्राथमिक स्वास्थ्य केन्द्रले थप उपचारका लागि सिफारिस गरी पठाउनुपर्ने अवस्थामा यो अस्पताल पायक पर्ने भएकाले स्तरोन्नति अति आवश्यक छ ।”
पुतलीबजार नगरपालिकाकी नगरप्रमुख सीमाकुमारी क्षेत्रीले नगरपालिकाको तर्फबाट सक्दो सहयोग गरिरहेको प्रदेश र सङ्घीय सरकारसँग जिल्ला अस्पतालको स्तरोन्नतिका लागि माग गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले स्थानीय तहबाट गर्नुपर्ने जति सहयोग गरेका छौँ, अस्पताललाई थप व्यवस्थित गर्न अब प्रदेश र सङ्घीय सरकारले ढिला गर्नु हुँदैन । यसका लागि सबैको सहयोग र खबरदारी आवश्यक छ ।” विसं २०५७ मा स्थापना गरिएको सो जिल्ला अस्पतालमा १५ श्ययाको स्थायी दरबन्दी भए पनि मन्त्रालयको निर्देशनमा १० श्यया थप गरी हाल २५ श्ययाको रहेको छ । अस्पतालकी मेडिकल अधिकृत अञ्जु अर्यालले यही अवस्थामा अस्पतालको संरचनाले धान्न नसक्ने भएकाले स्तरोन्नति गर्नुपर्ने अति आवश्क रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “अहिलेको जटिल अवस्थामा पनि अस्पतालले जिल्ला अस्पतालले दिनुपर्ने सबै सेवा दिइरहेको र चिकित्सकका साथै सबै स्वास्थ्यकर्मी चौबीसै घण्टा काममा खटिएका छौँ, दिनप्रतिदिन बिरामीको सङ्ख्या बढ्दै जाने अवस्था आएकाले अस्पतालको स्तरोन्नतिका साथै आवश्यक उपकरणको व्यवस्था गर्नुपर्ने देखिन्छ ।” कोरोना विशेष स्रोत व्यक्तिसमेत रहनुभएकी उहाँले कोरोना सङ्क्रमितका लागि १० श्ययाको आइसोलेशन वार्ड रहेको र त्यसमा अहिले चारजना सङ्क्रमित बिरामीको उपचार भइरहेको र बिरामी सामान्य अवस्थामा रहेको जानकारी दिनुभयो । अस्पतालमा दुईजना स्थायी चिकित्सक र एकजना कन्सल्टेन्ट, करारका ६ जना चिकित्सकसहित ५६ जना कर्मचारी रहेका छन् । गण्डकी प्रदेश सामाजिक विकास मन्त्री नरदेवी पुर र स्वास्थ्य निर्देशक विनोदविन्दु शर्मा बिहीबार जिल्ला अस्पताल पुगेर कोभिड–१९ बाट सङ्क्रमित भई आइसोलेशनमा उपचार गराइरहेका बिरामीको स्वास्थ्य अवस्था बुझ्नु भएको छ । हाल २५ श्ययाको मात्रै रहेको जिल्ला अस्पताल स्तरोन्नति भएमा स्याङ्जा जिल्लावासीलाई मात्रै नभएर पर्वत र तनहुँका केही स्थानीयवासीलाई समेत उपचारमा सहज हुने देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *