बजेटको प्रभावकारी कार्यान्वयनमा जोड

काठमाडौँ, १८ जेठ (रासस) । सत्तारूढ दलका सांसदहरूले सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेट वस्तुनिष्ठ र प्रभावकारी रहेको भन्दै प्रभावकारी कार्यान्वयनमा जोड दिनुभएको छ । प्रतिपक्षी दलका सांसदहरूले भने बजेटले यथार्थतालाई सम्बोधन नगरेको भन्दै आलोचना गर्नुभएको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०७७÷७८ को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा भाग लिँदै सत्तारूढ दलका सांसद जयपुरी घर्तीले अनावश्यक खर्च कटौती तथा राहत वितरणमा बजेटले सकारात्मक कदम चालेको बताउनुभयो । उहाँले सरकारी विद्यालयलाई निजी क्षेत्रले सञ्चालन गरेको विद्यालयले व्यवस्थापन गर्ने विषय मिल्दो नभएको भन्दै सच्याउन माग गर्नुभयो । सांसद घर्तीले जनयुद्धका शहीदलाई राष्ट्रिय शहीद घोषणा गर्न माग गर्नुभयो ।
नेकपाका सांसद खगराज अधिकारीले सरकारले स्वास्थ्य क्षेत्रको पूर्वाधार निर्माणमा यथेष्ट रकम विनियोजन गरेको भन्दै प्रशंसा गर्नुभयो । नेकपाका सांसद मेटमणि चौधरीले भौतिक विकास र सङ्घीयता कार्यान्वयनलाई प्राथमिकता राखेको भन्दै बजेटको समर्थन गर्नुभयो । उहाँले दाङको टरिगाउँ विमानस्थल स्तरोन्नतिका लागि बजेट विनियोजन गर्न माग गर्नुभयो ।
नेकपाकै सांसद खेमप्रसाद लोहनीले सन्तुलित, उत्साहजनक र यथार्थपरक रहेको भन्दै बजेटको समर्थन गर्नुभयो । सुखी नेपाली समृद्धि नेपाल निर्माण गर्दै समाजवादतर्पm उन्मुख बजेट आएको भन्दै सरकारको प्रशंसा गर्नुभयो । बजेटले स्वास्थ्य र कृषि क्षेत्रलाई प्राथमिकतामा राखेको भन्दै उहाँले यसले गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न र कृषि उत्पादनमा आत्मनिर्भर बन्न सघाउ पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
नेकपाका सांसद गजेन्द्रबहादुर महतले जुम्ली जनता र कर्णालीका जनताको भाग्यमा उज्यालो नलेखेकै हो भनेर सरकारसँग प्रश्न गर्नुभयो । सोही पार्टीका सांसद विरोध खतिवडाले सबै नेपालीको घरमा बिजुली पु¥याउने विषय सकारात्मक भएका भन्दै मुलुकभर रहेको काठे पोल विस्थापित गर्न रकम विनियोजन गर्न माग गर्नुभयो ।
नेपाली काँग्रेसका सांसद उमेश श्रेष्ठले निर्माणाधीन आयोजनालाई सम्पन्न गर्नेतर्फ बजेट विनियोजन हुनुपर्नेमा जोड दिँदै कोभिड–१९ का कारण प्रभावित व्यवसायीलाई थप राहतको व्यवस्था गर्नुपर्ने बताउनुभयो । सोही दलका सांसद रङ्गमती शाहीले कर्णालीमा उज्यालो पु¥याउने कार्यक्रम हालसम्म कार्यान्वयन हुन नसकेको र रोजगार अभिवृद्धिका लागि यसअघि ल्याइएका कार्यक्रम प्रभावकारी हुन नसकेको भन्दै बजेट परम्परावादी र कार्यकर्तामुखी भएको आरोप लगाउनुभयो । काँग्रेस सांसद विनोद चौधरीले कृषि क्षेत्रमा नै ठूलो सङ्ख्यामा रोजगारी सिर्जना गर्न सकिने भएकाले छिमेकी भारत र चीनका उत्पादनसँग प्रतिस्पर्धा गर्न सक्ने गरी आवश्यक बजारीकरण र पूर्वाधारको विकास गरेर बेरोजगारलाई सीपसँग जोडेर पूँजीका रुपमा बदल्ने काम गर्नुपर्नेमा जोड दिनुभयो । काँग्रेसका सांसद देवप्रसाद तिमिल्सिनाले ठूला परियोजनालाई बर्सेनि बजेट छुट्याउने तर आयोजनाको उल्लेख्य प्रगति नहुने प्रवृृत्तिको अन्त्य गरिनुपर्नेमा जोड दिनुभयो ।
सांसद नवराज सिलवाल, प्रेमबहादुर आले, कृष्णबहादुर राई, सुदन किँराती, नारायणप्रसाद खतिवडा, रामबहादुर विष्ट, राजेन्द्रकुमार राई, विजय सुब्बा, रमकुमारी चौधरी, यज्ञबहादुर बोगटी, थममाया थापा, गोपालबहादुर बम, सत्या पहाडी र हरिराज अधिकारीलगायतले वर्तमान सरकारले यथार्थलाई आत्मसात् गरी बजेट ल्याएकाले प्रभावकारी कार्यान्वयन गरी नेपाली जनताको मुहारमा खुसी ल्याउन आग्रह गर्नुभयो । प्रतिनिधिसभाको अर्को बैठक यही जेठ १९ गते बिहान ११ बजे बस्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *