कालापानीबाट भारतीय सेना फिर्ता गराउनु पर्छ ः प्रदेश सरकार

धनगढी, १८ जेठ (रासस) । सुदूरपश्चिम प्रदेश सरकारले नेपाली भूमि कालापानीबाट भारतीय सैनिक फिर्ता गराउन, त्यहाँ निर्माण गरिएको सडक बन्द गराउन र त्यस क्षेत्रमा राज्यको पूर्ण उपस्थिति गराउन आवश्यक पहल गर्न सङ्घीय सरकारलाई आग्रह गरेको छ । प्रदेशसभाको आजको बैठकको विशेष समयमा सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाशबहादुर शाहले लामो समयको अन्तरालपछि नेपालको अखण्ड भूमि लिम्पियाधुरा, लिपुलेक, कालापानीसहितको नक्सा जारी गर्ने ऐतिहासिक र देशभक्तिपूर्ण कार्यका लागि सङ्घीय सरकारलाई हार्दिक धन्यवाद दिनुभयो ।
उहाँले त्यस क्षेत्रमा राज्यको पूर्ण उपस्थिति हुने गरी सीमा प्रहरी र प्रशासन कार्यालयका साथै थप बिओपी कार्यालय स्थापनासहित ब्यास गाउँपालिकावासीलाई विकासको मूलधारमा ल्याउनका लागि तत्काल पहल गर्न आग्रह गर्नुभयो । प्रवक्ता शाहले भन्नुभयो, “सन् १८१६ को सुगौली सन्धिको मर्म, भावना, व्यवस्थाबमोजिम भारत सरकारसँग निर्णायक संवादका लागि कूटनीतिक राजनैतिक ठोस पहलकदमी होस् ।”कोभिड–१९ को रोकथाम उपचार व्यवस्थापनका साथै सीमा नाकाबाट नागरिकको उद्धारलगायतका कामका लागि सरकारले सबैको साथ लिएर प्रयास गरिरहेको उल्लेख गर्दै मन्त्री शाहले भन्नुभयो, “सबैको सहयोगबाट यो प्रदेशमा कोरोनालाई ‘रेड जोनबाट ग्रिन जोन’मा परिणत गर्न सफल भएका छौँ ।”
यसअघि बैठक प्रारम्भ हुनासाथ प्रदेशसभा सदस्य पूर्णा जोशी र कर्णबहादुर मल्लले भारत लगायतका देशबाट डडेलधुरमा भित्रिनेहरू बढ्दै गए पनि भित्रिनेहरूको समयमै स्वास्थ्य जाँच नहुँदा थप जोखिम बढेकाले समयमै स्वास्थ्य जाँच गरी क्वारेन्टिनमा व्यवस्थित बसोबास मिलाउन माग गर्नुभयो ।अर्का सदस्य शान्ति नेपालीले धनगढी उपमहानगरपालिका–३ का महिला जयन्ती जोशीको शनिबार शङ्कास्पद मृत्यु भएको भन्दै यो घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई करावाही गर्न माग गर्नुभयो ।
आजको बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहराले प्रदेश सरकारको आर्थिक वर्ष २०७७÷७८ को पूर्वबजेट छलफलका क्रममा सदस्यहरूले उठाएका प्रश्नहरूको जवाफ दिनुभयो । यही जेठ १३ गतेबाट शुरु भएको पूर्वबजेट माथिको छलफल आज सकिएको छ । यसैबीच सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७७÷७८ को नीति कार्यक्रम र बजेट यही जेठ १९ गते सोमबार अपराह्न ४ बजे बस्ने प्रदेशसभा बैठकमा प्रस्तुत गर्न लागेको छ ।
यसैगरी जिल्लाको विष्णु गाउँपालिकास्थित भारतीय सिमा क्षेत्र पकडीमा भारतीय नागरिकले आक्रमणको प्रयास गरेका छन् । आज विष्णु गाउँपालिका–५ फेनराबजारस्थित सशस्त्र प्रहरी बलको बोर्डर आउट पोष्ट (बिओपी) मा उनीहरूले आक्रमणको प्रयास गर्दा सशस्त्र प्रहरीले गोली चलाएको छ ।सशस्त्र प्रहरी बलको बोर्डर आउट पोष्टमा आक्रमण गरी हतियारसमेत खोस्ने प्रयास भएपछि तत्काल हवाईफायर गरेको सशस्त्र प्रहरीका एक प्रहरी अधिकृतले बताएका छन् । जबर्जस्ती नेपाल प्रवेश गर्न खोजेपछि सर्लाहीको सीमा सुरक्षार्थमा खटिएको सशस्त्र प्रहरीको टोलीले एक राउण्ड हवाईफायर गरेको सशस्त्र प्रहरी बल १० नम्बर गण कविलासीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक गङ्गाराम श्रेष्ठले जानकारी दिनुभयो ।
भारतबाट अवैध सामान लिएर नेपालतर्फ आउन खोज्दा सशस्त्र प्रहरीले रोकेपछि उनीहरूले आफूहरूमाथि दुव्र्यवहार भएको भन्दै गाउँलेलाई बोलाएर आएपछि सशस्त्र प्रहरी बलको बोर्डर आउट पोष्टमा आक्रमणमा उत्रिएका थिए । झण्डै ४० जनाको समूहमा आएका उनीहरूले बिओपीमा आक्रमणको प्रयाससहित हतियार नै खोस्न खोजेपछि तत्काल फायर गर्न बाध्य भएको सशस्त्र प्रहरी जनाएको छ । आज बिहान घटना भएको र अहिले त्यस क्षेत्रको अवस्था शान्तिपूर्ण रहेको सशस्त्र प्रहरी बल १० नम्बर गण कविलासीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक गङ्गाराम श्रेष्ठले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *