मजदूरलाई स्वास्थ्य सुरक्षाको व्यवस्थासहित परिचालन

 

बुटवल, १८ जेठ(रासस) । बुटवल उपमहानगरपालिकाले दैनिक ज्यालादारीका काममा खटिएका मजदूरलाई स्वास्थ्य सुरक्षाको व्यवस्थासहित परिचालन गरेको छ । प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत छनोट भएका कामदारलाई सुरक्षाका उपायसहित काममा परिचालन गरिएको उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत चक्रपाणि शर्माले जानकारी दिनुभयो ।
बुटवलका तीन वटा वडामा ७८ जनाले दैनिक ज्यालादारीका काम शुरु गरेको बताइएको छ । उहाँले उनीहरूलाई वडा तहबाट छनोट भएका काममा खटाइएको र सबैको स्वास्थ्य परीक्षण गरिएको बताउनुभयो । उपमहानगरपालिका वडा नं २ मा ४१ जना, वडा नं ७ मा ६ र वडा नं १० मा ३१ जना गरी ७८ जनालाई समावेश गर्दै दैनिक ज्यालादारीका काममा खटाइएको छ । उपमहानगरले यसअघि पनि वडा नं १६ मा रहेको कपरकट्टी बैठौलिया तालको सरसफाइ र केही संरचना निर्माणका लागि त्यस क्षेत्रकै बासिन्दालाई दैनिक ज्यालादारी कामको व्यवस्था मिलाएको थियो । अहिले तीन वटा वडामा शुरु भइसकेको यो कार्यक्रम अरु वडामा पनि छिट्टै गरिने प्रधानमन्त्री रोजगार कार्यक्रमका कार्यक्रम संयोजक अरविन्द पाण्डेले जानकारी दिनुभयो ।
यसैबीच उपमहानगरपालिकाले हरेका क्षेत्रमा महामारीविरुद्ध सामाजिक दूरीसहित स्वनियममा बस्न नगरवासीमा अपिल गरेको छ । अत्यावश्यक काम परे पनि पूर्ण सुरक्षाको प्रबन्धसहित घरबाट निस्किन र सामाजिक दूरी कायम राख्न उपमहानगरले आग्रह गर्दै आएको छ ।
बुटवल प्रदेशको अस्थायी मुकाम भएको तथा प्रदेश सरकारका मन्त्रालय, प्रादेशिक अस्पताल, कोरोना विशेष अस्पताल र आइसोलेशन सेण्टरसमेत सञ्चालनमा रहेकाले नागरिकको आवागमन बाक्लो हुने गरेको छ । उपमहानगरका प्रमुख शिवराज सुवेदीले आफैँ अनुगमनमा खटेर महामारीविरुद्ध सामाजिक दूरीसहित काममा लाग्न अपिल गर्नुभएको छ । अत्यावश्यक काम परेर हिंँडडुल गर्नैपर्ने नागरिकलाई कसरी सहज वातावरण बनाउने र स्वास्थ्यलाई सुरक्षित राख्ने भन्ने उद्देश्यले बुटवलले नियमित अनुगमन गरेको प्रमुख सुवेदीको भनाइ छ । उहाँले किसानले उत्पादन गरेको तरकारी सम्बन्धित वडा कार्यालयको सिफारिसमा उपभोक्ताका घरघरमा बिक्रीवितरण गर्न पाउने गरी व्यवस्थासमेत मिलाइएको बताउनुभयो । केन्द्र, प्रदेश र स्थानीय सरकारका कार्यालयलगायत अत्यावश्यक सेवालाई सञ्चालन गर्नुपर्ने आवश्यकता औल्याउँदै उपमहानगरका प्रवक्ता रामप्रसाद रेग्मीले जारी गरेको सार्वजनिक अपिलमा भनिएको छ, ‘बुटवलले नै समग्र प्रदेशको अभिभावकत्व निर्वाह गर्ने र लकडाउनको पालना गर्दै नगरका नागरिकको सुरक्षाको समेत प्रबन्ध मिलाउनुपर्ने छ । यसैले सबैले स्वनियम पालना गरौंँ र गर्न लगाऔंँ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *