प्रहरीलाई मोटरसाइकल सहयोग

 

काठमाडौँ, १६ जेठ (रासस) । चन्द्रागिरि नगरपालिकाले नेपाल प्रहरीलाई दुई थान मोटरसाइकल सहयोग गरेको छ । सो नगरपालिकाले आज महानगरीय प्रहरी वृत्त थानकोटलाई रु चार लाख ७१ हजार ८०० मूल्य बराबरको यमाहा कम्पनीका दुई थान मोटरसाइकल सहयोग गरेको हो ।
नगरपालिकाका प्रमुख घनश्याम गिरीले महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक श्यामलाल ज्ञवालीलाई उक्त सहयोग गर्नुभएको हो । कार्यक्रममा परिसरका प्रमुख ज्ञवालीले समुदाय तथा स्थानीय निकायले प्रहरीलाई निःस्वार्थ प्रदान गरेका स्रोतसाधनको उपयोग गरी समाजको शान्ति सुव्यवस्था, अपराध अनुसन्धान तथा नियन्त्रणमा थप प्रभावकारिता हासिल गरी समुदायलाई थप सुरक्षाको प्रत्याभूति दिलाउन मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले नेपाल प्रहरीको तर्फबाट कुनै पक्षपात नगरी निष्पक्षरुपमा साङ्गठनिक निर्देशनबमोजिम कार्य गर्न वृत्तमा कार्यरत प्रहरी कर्मचारीलाई निर्देशनसमेत दिनुभयो । चन्द्रागिरिका प्रमुख गिरीले चन्द्रागिरिमा शान्ति सुरक्षा व्यवस्थापन र अपराध नियन्त्रण कार्यमा थप मद्दत पु¥याउने उद्देश्यअनुरुप महानगरीय प्रहरी वृत्त थानकोटलाई उक्त मोटरसाइकल प्रदान गरिएको बताउनुभयो ।
महानगरीय प्रहरी वृत्त थानकोटका प्रमुख प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले प्राप्त मोटरसाइकलको सही प्रयोग गरी नगरपालिकाको सुरक्षामा लाग्ने विश्वास व्यक्त गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *