कविता टेलिभिजन शो लिएर आउँदै


काठमाडौं, ६ चैत फिल्म ‘बोबी’ बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी कविता गुरुङ टेलिभिजन शो ‘विस फर अ डे विथ डल्लु’ लिएर आउँदैछिन् । मंगलवार राजधानीमा एक कार्यक्रमका बीच टेलिभिजन शो को ट्रेलर सार्वजनिक भएको छ ।
डल्लु इन्टरटेन्टमेन्टले निर्माण गर्ने शोमा एकजना व्यक्तिको एक दिनको इच्छा, आकांक्षा, सपना र खुशीको कथा देखाइनेछ । वेब टिभीको स्टुडियोमा सम्पादन र छायांकन गरिएको कार्यक्रमलाई डम्बर राईले छायांकन र धुव्रराज पराजुलीले सम्पादन गरेका छन् । अभिनेत्री कविताको कन्सेप्ट र प्रस्तुतिकरण रहेको शोको १० वटा एपिसोडको छायांकन पूरा भैसकेको छ । शोको ट्रेलर रिलिज कार्यक्रममा कविताले नर्वेमा मैले र उमेशले कमाएको पैसा महंगो जुत्ता र कपडामा खर्च हुन्छ । तर, यो रकम नेपालमा सामान्य परिवारको एक महिनाको खर्च चल्छ । यसैले, हामीले कमाएको धेरै रकम राम्रो काममा लगाउने सोचका साथ यो कार्यक्रमको लिएर आएको बताइन् । पाक्षिक रुपमा डल्लु इन्टरटेन्टमेन्ट युट्यूब च्यानलमा यो कार्यक्रम हेर्न सकिनेछ ।कविता डेढ वर्षअघि अभिनेत्रीको रुपमा डेब्यू गरेकी फिल्म ‘बोबी’ पछि पर्दामा देखिएकी छैनन् । यो फिल्म उनकै वास्तविक प्रेम कथामा निर्माण भएको थियो । उमेश थापासँग भागी विवाह गरेपछि कविताको जीवनमा आएका उतार–चढावलाई फिल्ममा मनछुने ढंगबाट उतारिएको थियो । दर्शकले फिल्म निकै रुचाएका थिए ।
फिल्ममा कविता र उमेश स्वयंको अभिनय थियो । ‘बोबी’ को सक्सेस पार्टीमा निर्देशक मिलन चाम्सले फिल्मको सिक्वेल घोषणा गरेका थिए । तर, अहिलेसम्म फिल्मको दोस्रो पार्ट निर्माण हुन सकेको छैन । निर्देशक चाम्स फिल्म ‘गोर्खा वारियर’ मा व्यस्त भएका कारण यो फिल्मपछि ‘बोबी २’ को निर्माण हुने बताइएको छ । फिल्मको सिक्वेलमा पनि कविता र उमेश अभिनय गर्नेछन् । श्रीमान् उमेशसँग लामो समयदेखि देश नर्वेमा बसोबास गर्दै आइरहेकी कविताले फिल्म ‘बोबी २’ भन्दा अगाडि एक टेलिभिजन शोमार्फत् दर्शकसँग प्रत्यक्ष रुपमा साक्षात्कार गर्ने भएकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *