खाद्य अभाव हुन नदिने मन्त्रीको दाबी

काठमाडौं, ६ चैत । बजारमा कुनैपनि खाद्य वस्तुको अभाव हुन नदिने उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले दाबी गरेका छन् । मन्त्रालयमा बुधबार भएको ‘कोरोना प्रभावः आपूर्ति व्यवस्था’ विषयक अन्तक्रिया कार्यक्रममा मन्त्री भट्टले बजारमा खाद्यान्न तथा औषधि लगायतका वस्तुको अभाव नदिने बताएका हुन् ।
मन्त्री भट्टले मन्त्रालयले नियमित बजार अनुगमनलाई तिव्रता दिएको र कृत्रिम अभाव सिर्जना गर्नेलाई कारवाही गरिरहेको उल्लेख गर्दै राज्यले कुनै पनि वस्तुको अभाव हुन नदिने बताएका छन् । उनले बजारमा पेट्रोल, डिजेल, ग्यास, खाद्यन्न, औषधि र अन्य कुनै वस्तुको अभाव नभएको दाबी गरेका छन् । उनले बजार खाद्य वस्तु लागयत सामाग्री अभाव भए विभागिय मन्त्रीको हैसियतले त्यसको जिम्मा लिने बताए । उनले उपभोक्ताहरुलाई पेट्रोल तथा सिलिण्डर घरमा राखेर दुर्घटनाको जोखिम नबढाउन आग्रह गरेका छन् ।
कार्यक्रममा सरोकारवालाहरुले पेट्रोलको मूल्य घट्ने सूचना सार्वजनिक भएलगत्तै पम्पहरु बन्द हुँदा उपभोक्ताहरु मारमा परेको बताएका थिए । खुद्रा व्यापार संघका निवर्तमान अध्यक्ष पवित्रमान बज्राचार्यले थोक पसलबाट सामान ढुवानी गर्दा केही समस्या उत्पन्न भइरहेको बताए । कोरोना भाइरस (कोभिड—१९) विश्वव्यापी प्रभावको असर नेपालमा पनि परेको छ । नेपाली बजारमा दैनिक उपभोग्य वस्तु समेत अभाव हुन थालेको उपभोक्ताहरुले गुनासो गरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *