कोरोना भाइरस संक्रमण रोक्न सरकारद्वारा १५ निर्णय,सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी भेला हुन प्रतिबन्ध


काठमाडौं, ६ चैत । कोरोना भाइरस संक्रमण रोक्न सरकारले १५ वटा निर्णय गरेको छ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा रहेको कोरोना संक्रमण, रोकथाम तथा नियन्त्रणसम्बन्धी उच्चस्तरीय समन्वय समितिको बुधबार बसेको बैठकले १५ वटा निर्णय गरेको हो । सरकारले अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन र सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी भेला नहुन आग्रह गरेको छ । त्यसैगरी सांस्कृतिक, सामाजिक कार्यहरुमा पार्टीप्यालेस, मठमन्दिर,गुम्बा, मस्जिद, चर्चजस्ता धार्मिक र सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी मानिस भेला हुन पनि प्रतिबन्ध लगाएको छ ।
समितिले सबै सिनेमाहल, सांस्कृतिक केन्द्रहरु, रंगशाला, खेल स्थल, जिम, हेल्थ क्लब, म्युजियम, स्वीमिङ्ग पुल, मनोरञ्जन स्थल, डान्सवार तथा क्लव आदीलाई २०७७ साल बैशाख १८ गते सम्म बन्द गर्न निर्देशन दिएको छ । यस सम्बन्धी सुचना गृहमन्त्रालय , संस्कृति, पर्यटन तथा नागरिक उड्डय मन्त्रालय र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गर्ने गरि कार्यविभाजन गरिएको छ ।
बैठकले सार्वजनिक सवारी साधनहरुमा सीट क्षमता भन्दा बढी यात्रु आअ‍ेसारपसार नगर्न , नगराअउन यातायात व्यवसायीलाई अनुरोध गरेको छ । साथै सर्वसाधरण नागरिकहरुलाई भिडभाड गरी यात्रा नगर्न अनुरोध गर्दै नेपाल प्रहरीलाई सार्वजनिक यातायातको अनुगमन गर्ने जिम्मेवारी दिएको छ ।
समितिले सार्वजनिक महत्व र मानिसहरु बढी जमघट हुने स्थानहरु महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका, गाउँपालिकाले दैनिक रुपमा निश्चित समयको अन्तरालमा सरसफाई गर्न निर्देशन दिएको छ । सार्वजनिक यातायातका सवारी धनीलाई पनि यातायात चलाउनु अघि प्रत्येक दिन समय समयमा सवारीसाधनलाई डिसइन्फेक्सन गर्न लगाउन निर्देशन दिएको छ ।
त्यसैगरी सरकारले युरोपका सबै मुलुकहरु, पश्चिम एसियालगायत खाडी क्षेत्रका मुलुकहरु, इरान, टर्की, मलेसिया, दक्षिण कोरिया, जापानबाट आउने र ती मुलुकलाई ट्रान्जिट बनाइ अन्य जुनसुकै मुलुकबाट आउने सबै यात्रुहरुलाई २० मार्च अर्थात् चैत ७ गते देखि १५ अप्रिल अर्थात् बैशाख १८ गते सम्म आगमनमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ । युरोपियन मुलुक इटालीमा कोरोना संक्रमित बढ्दै गएका बेला नेपाल सरकारले युरोपका मुलुकहरु संगै अन्य संक्रिमत मुलुकबाट आउने नागरिकलाई रोक लगाउने निर्णय गरेको हो ।
यसअघि विदेशी नागरिकले कोरोना संक्रमण मुक्त रहेको स्वास्थ्य प्रमाणपत्र अनिवार्य गर्दै सेल्फ क्वारेन्टायनमा बस्नुपर्ने व्यवस्था गरेको थियो । त्यसैगरी बाहिरबाट आएका नेपाली नागरिकले पनि १४ दिन सेल्फ क्वारेन्टाइनमा बस्नुपर्ने व्यवस्था गरिएको थियो । नेपाल सरकारद्धारा ट्राभल एडभाइजरी जारी गरेको अवधिमा उडानको यात्रा स्थगन गर्दा र मिति परिर्वतन गर्दाको शुल्क नलाग्ने व्यवस्था गर्न वायु सेवा कम्पनीहरुलाई निर्देशन दिएको छ ।
सरकारले बाल विकास केन्द्र, आधारभूत तथा माध्यमिक विद्यालयहरु र विश्वविद्यालयहरुका पठन पाठन २०७६ चैत मसान्त सम्मका लागि बन्द गर्ने निर्णय गरेको छ ।
त्यसैगरी, होटल, रेष्टुरन्ट तथा सपिङ्ग महलका संचालकहरुलाई हात सफा गर्ने सेनिटाईजर लगायत सफाईका सामाग्रीहरुको प्रबन्ध गरी टेबल कुर्सी,, बार रेलिङ्ग र शौचालय आदी स्थानहरुमा नियमित रुपमा डिसइन्सेक्सन गर्न लगाउने निर्णय बैठकले गरेको छ ।
त्यस्तै नेपाल भ्रमण वर्ष, सगरमाथा संवाद लगायतका अन्तराष्ट्रिय सभा समारोह स्थगित गर्ने निर्णय गरेको छ ।
समितिमा उपप्रधानमन्त्री पोखरेलसहित स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, गृहमन्त्री रामबहादुर थापालगायत उच्च सरकारी अधिकारीहरु रहेका छन् ।
यसैगरी, कोरोना भाइरसबाट इटलीमा एकै दिन ४ सय ७५ मानिसको ज्यान गएको छ । इटलीमा कोरोना प्रकोप फैलिएयताको यो अहिलेसम्मकै उच्च मृत्यु हो । बीबीसीका अनुसार, इटलीको लोम्बार्डीमा ३ सय १९ र बाँकी अन्य क्षेत्रका संक्रमितको बुधबार ज्यान गएको गएको हो । लोम्बार्डी इटलीको कोरोनाको इपिसेन्टर मानिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *