ब्वाइज युनियन क्लबलाई ३–० हराउँदै सेमिफाइनलमा प्रवेश


काठमाडौं, ३० फागुन । राजर्षी जनक कप फुटबल प्रतियोगितामा ब्वाइज युनियन क्लबलाई ३–० ले हराउँदै नेपाल पुलिस क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । सर्लाहीको बागमती नगरपालिकामा जारी प्रतियोगितामा ब्वाइज युनियनलाई पराजित गर्दै सेमिफाइनलमा पुगेको हो ।
पुलिस क्लबको फुटबल टोलीले एकै साथ दुई अलग अलग प्रतियोगितामा भाग लिइरहेको छ । एउटा टोली पोखरामा जारी आहा रारा गोल्ड कपमा प्रतिस्पर्धा गरिरहँदा अर्को टोलीले भने सर्लाहीको बागमती नगरपालिकामा जारी राजर्षी जनक कप फुटबल प्रतियोगितामा भाग लिइरहेको छ । पुलिसका लागि बुधबारको रुस्लान थ्री स्टार क्लबलाई हराउँदै १८ औं आहा रारा गोल्डकपको फाइनलमा पुगेको पुलिस बिहीबार राजर्षी जनक कपको सेमिफाइनलमा पुगेको छ । जुमानु राईको कप्तानीमा रहेको टोली अन्तिम चारमा पुगेको हो ।
अब पुलिसले सुदूरपश्चिम ११ स्पोर्टस क्लबसँग सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछ । पुलिसर्लाइ जित दिलाउन तीर्थबहादुर राना, पदम भट्टराई र विशाल बस्नेतले गोल गरेका थिए । तीनै गोल दोस्रो हाफमा भएको थियो । तीर्थले ४६ औं, पदमले ७८ औं र विशालले ९० औं मिनेटमा गोल गरेका थिए । म्यान अफ दी म्याच बनेका पदमले १० हजार रुपैयाँ प्राप्त गरे ।
बागमती नगरपालिका र बागमती युवा क्बले संयुक्त रुपमा आयोजना गरेको प्रतियोगितामा अर्को खेल जावलाखेल युथ क्लब र भारत दार्जिलिङको युकेएफसीसँग प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको विजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *