आर्मीलाई ३–२ ले पराजित गर्दै मनाङ फाइनलमा


पोखरा, ३०फागुन । आहा रारा गोल्डकपमा त्रिभुवन आर्मी क्लबलाई ३–२ पराजित मनाङ मस्र्याङ्दी क्लब फाइनलमा पुगेको छ । पोखरा रंगशालामा भएको दोस्रो सेमिफाइनलको खेलमा मनाङले आर्मीलाई हराउँदै फाइनलमा पुगेको हो ।
खेलको चौथो मिनेटमा फ्लोरेन्टले गोल गर्दै मनाङलाई अग्रता दिलाएका थिए । सुशिल लामाको कर्नरमा विमल रानाको हेडरलाई अन्जन विष्टले मिलाईदिएको पासमा फ्लोरेन्टले वान टचमा गोल गर्न सफल भएका हुन् ।
१९औं मिनेटमा आर्मीका कप्तान भरत खवासको प्रहारलाई मनाङका गोलरक्षक सोजित गुरुङले नियन्त्रणमा लिएका थिए । २२औं मिनेटमा सन्तोष तामाङको फ्रिकिकमा जर्जप्रिन्स कार्कीको प्रहार आकासि थियो ।
२९औं मिनेटमा बिमल रानाले गोल गर्दै मनाङको अग्रता दोब्बर पारे । अन्जन विष्टको पासमा अनमार्क रहेका विमलले दोस्रो बार च्याप्दै गरेको प्रहार आर्मीका गोलरक्षक विवश चौधरीले रोक्ने कुनै मौका पाएनन् ।
आर्मीले खेलको ४२ औं मिनेटमा गोल गर्दै खेलमा फर्किएको थियो । सुमन अर्यालको क्रसमा नवयुग श्रेष्ठले दिएको हेडर पासमा कप्तान भरतले ६ यार्ड बक्स भित्रबाट नै हेडरमा गोल गरेका थिए ।

६९औं मिनेटमा जर्जप्रिन्स कार्कीको हेडर क्रसबारबाट बाहिरिदा आर्मीले खेल बराबरी गर्नबाट चुक्यो । बिबेक बस्नेतको क्रसमा भरत खवासले मिलाई दिएको हेडर पासलाई जर्जले सदुपयोग गर्न सकेन । ७४औं मिनेटमा नवयुग श्रेष्ठको प्रहारलाई मनाङका गोलरक्षक सोजित गुरुङले मुस्किलले पञ्च गर्दै बचाएका थिए । ८१औं मिनेटमा अन्जन बिष्टले गोल गर्दै मनाङलाई ३–१ को अग्रता दिलाए ।
८३औं सब्सिच्युट खेलाडी टंक बस्नेतको क्रसमा दिप लामाले गोल गर्दै खेललाई ३–२ को अवस्थामा ल्याए । थप प्रयासमा गोल गर्न नसकेपछि मनाङ फाइनलमा प्रवेश गरेको हो । फाइनल शनिबार हुनेछ । उपाधि विजेताले १० लाख र उपविजेताले ५ लाख प्राप्त गर्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *