फिल्म ‘जारी’ जेठ २३ गतेबाट प्रदर्शनमा


काठमाडौं, ३० फागुन । फिल्म ‘जारी’ आउँदो जेठ २३ गतेबाट प्रदर्शनमा आउने भएको छ । उपेन्द्र सुब्बाको डेब्यू निर्देशन रहेको फिल्म ‘जारी’ जेठ २३ गतेबाट प्रदर्शन हुने भएको हो । फिल्ममा अभिनेत्री मिरुना मगर र अभिनेता दयाहाङ राईको जोडी देखिनेछ । फिल्ममा जारी प्रथा (महिलाले श्रीमानसँग बस्न नचाहेमा निश्चित रकम तिरेर छुटिन पाउने प्रथा) लाई उठान गरिएको छ । फिल्मको मूल कथा मिरुनाकै वरिपरि घुमेको स्रोतले जनाएको छ ।
‘कबड्डी’ सिरिजका लेखक उपेन्द्र सुब्बाको निर्देशन र गहन विषयमा निर्माण भएका कारण फिल्मप्रति सुपर हिट हुने अपेक्षा गरिएको छ । अभिनेत्री मिरुना मगरले ‘लालपूर्जा’, ‘रोज’, ‘साइनो’ र ‘च च हुईं’ गरि चार फिल्ममा अभिनय गरिसकेकी छन् । भर्सटायल अभिनेताको रुपमा चिनिने सौगात मल्ल र विपिन कार्कीसँगको फिल्म ‘लालपूर्जा’ बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी उनले अहिलेसम्म हिट फिल्मको सुख प्राप्त गरेकी छैनन् । उनले अभिनय गरेका सबै फिल्मले हलमा घुँडा टेकेका छन् ।
फिल्म ‘रोज’ असफल भए पनि यो फिल्मले मिरुनाको परिचयको दायरा भने फराकिलो बनाएको थियो । फिल्ममा अहिलेका चल्तीका अभिनेता प्रदीप खड्कासँग उनको जोडी बाँधिएको थियो । जसकारण उनी युवापुस्ताको ठूलो जमातमा चिनिइन् । फिल्मको ‘फूल हैन’ गीत हिट हुँदा पनि उनलाई चिन्ने धेरै भएका छन् । उनीले रोेज फिल्मलाई आफ्नो करिअरको टर्निङ पोइन्ट मानेकी छिन् ।
अभिनेत्री मिरुना पाँचौं फिल्मबाट हिटको सुख प्राप्त हुनेमा आशा गरेकी छिन् । एउटा कलाकारका लागि करिअरलाई नयाँ उचाइ दिन फिल्मको व्यावसायिक सफलता अत्यन्त महत्वपूर्ण हुन्छ । अभिनेत्री मिरुना मगरको भने एकपछि अर्को फिल्मको व्यापारिक असफलताले करिअर नै संकटमा पारेको छ । हरेक फिल्ममा अभिनयको प्रशंसा हुने गरेको भए पनि अहिलेसम्म आफ्नो खातामा एउटा हिट फिल्म नथपिँदा उनको करिअर संकटमा परेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *