घुससहित ३ जना पक्राउ

 

काठमाडौं, ३० फागुन । डिभिजन वन कार्यालय दोलखा र कम्पनी रजिष्टारको कार्यालय त्रिपुरेश्वरबाट घुससहित ३ जना पक्राउ परेका छन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले भक्तपुरको गठ्ठाघरबाट बिहीबार साँझ डिभिजन वन कार्यालय दोलखाकी प्रमुख सन्तमाया श्रेष्ठलाई घुस रकम सहित पक्राउ गरेको छ । घुस रकम लिएर बा १ झ ७६८५ नम्बरको सरकारी गाडीमा दोलखाबाट काठमाण्डौ जाँदै गरेको सूचनाको आधारमा डिभिजन वन कार्यालय दोलखाकी प्रमुख एवं उपसचिव श्रेष्ठलाई अख्तियारको टोलीले घुस लिएको रकम दुई लाख पाँच हजार सहित पक्राउ गरेको अख्तियारका एक कर्मचारीले जानकारी दिए । वन कार्यालयका सहयोगी र चालकलाई समेत नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको अख्तियारले जानकारी दिएको छ । घुस रकम लिएर दोलखाबाट हिँडेको जानकारी आएपछि अख्तियारले गठ्ठाघर चोकमा श्रेष्ठ सवार गाठी रोकेर रकम सहित पक्राउ गरेको हो ।
यसैगरी, कम्पनी रजिष्टारको कार्यालय त्रिपुरेश्वर काठमाडौंमा कार्यरत नायब सुब्बा डोर प्रसाद पन्थी र लेखापरीक्षक रामचन्द्र श्रेष्ठलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ । पन्थीले अभिलेख अध्यावधिक गर्ने प्रयोजनका लागि आउने अख्तियारवाला व्यक्तिहरुबाट काम सहज गरिदिए बापत घुस मागेको उजुरी परेपछि अख्तियारले पन्थी र लेखापरीक्षक श्रेष्ठलाई पक्राउ गरेको हो । पन्थी र श्रेष्ठबीच घुस बापतको ५ हजार लिने दिने क्रममा उक्त रकमसहित कार्यालय परिसरबाट नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *