विप्लव नेकपाका १५ जना कार्यकर्ता पक्राउ

 

काठमाडौं, ३० फागुन । धनुषा र काठमाडौंबाट नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका १५ जना कार्यकर्ता पक्राउ परेका छन । किशोरीलाई अपरहण गरेको आरोपमा धनुषाबाट १४ जना र काठमाडौं जिल्ला अदालतले सामान्य तारेखमा रिहा गर्ने आदेश दिएलगत्तै १ जना पक्राउ परेका हुन । धनुषाको गणेशमान चारनाथ नगरपालिका वडा नम्बर ५ चिसापानीबाट अपरहणमा परेकी अन्दाजी १४ वर्षीय करिना मोक्तानको उद्धार गर्दा नेकपाका १४ जना कार्याकर्तालाई पक्राउ गरिएको धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए । नेकपाका कार्यकर्ताले करिनालाई बुधबार करिब ४ बजे पिकअप भ्यानमा राखेर अपरहण गरेका थिए । अपरहणमा संलग्नहरुलाई पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक कार्कीले जानकारी दिए । किशोरी अपरहणमा पर्ने बितिक्कै धनुषा, सिरहा, सिन्धुली र उदयपुरको प्रहरी टोलीले अपहरणकारीहरुलाई घेरामा पारेका थिए । घेरामा पारिएको केही समयमै उनीहरुलाई उदयपुरबाट हातहतियारसहित कब्जामा लिएको कार्कीले बताए । उनीहरुको साथबाट ३ थान पेस्तोल, ३ राउण्ड गोली, १ थान कुकर बम र ८ थान सकेट बम समेत बरामद गरिएको उनले जानकारी दिए । पक्राउ परेका १४ जना माथि थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
यसैगरी, विप्लव नेकपाका जिल्ला इन्चार्ज पूर्णजित पुन पक्राउ परेका छन् । गत माघ २८ गते राति जनयुद्ध दिवसको पोष्टर टाँस्ने क्रममा म्याग्दे गाउँपालिका–३ जामुनेबाट पक्राउ परेका पुनलाई जिल्ला अदालतका न्यायाधीश वासुदेव पौडेलको इजलासले सामान्य तारेखमा रिहा गर्ने आदेश दिएलगत्तै प्रहरीले पुनलाई पक्राउ गरेको हो । प्रहरीले पुनको विरुद्धमा जिल्ला प्रशासन कार्यालयमा अभद्र व्यवहारसम्बन्धी र जिल्ला अदालतमा विस्फोटक पदार्थ र आगजनीसम्बन्धी मुद्दा दर्ता गरेको थियो ।गत साउन १५ गते घिरिङ गाउँपालिका–२ घुर्लीछापमा र पुस २६ गते भीमाद नगरपालिका–५ मिछुर्लुङमा भएको एनसेलको टावर आगजनीको घटनामा पुनलाई दोषी देखाइएको छ । पुनसँगै पक्राउ परेका विप्लव समूहका विद्यार्थी नेता पर्वत सेढाईँ भने जिल्ला प्रशासनको आदेशपछि रु पाँच हजार धरौटी बुझाएर रिहा भएका छन् । अदालतबाटै पक्राउ परेका पुनलाई गोरखा पठाइने प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *