स्वास्थ्य मन्त्रालयद्वारा कोरोना भाइरसको नियन्त्रण र रोकथामको योजना सार्वजनिक, हवाई उडानहरु स्थगन


काठमाडौं, ३० फागुन । कोरोना भाइरस नियन्त्रण तथा रोकथामका योजना स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको छ । बिहीबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै कोरोना संक्रमण नेपालमा फैलन नदिन नियन्त्रण र रोकथापका योजना सार्वजनिक गरेको हो ।
पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता विकास देवकोटाले कोरोना भाइरस प्रभावित मुलुकमा नेपालबाट हुने हवाई उडानहरू महामारीको अवधिभर बन्द गर्ने योजना सरकारले बनाएको जानकारी दिएका छन् ।
सरकारले सबै अस्पतालमा शंकास्पद बिरामीलाई जाँच गर्न छुट्टै कक्षको व्यवस्था गरेको र हब तथा स्याटालाइट अस्पतालहरुमा आइसोलेसन वार्डको व्यवस्था गरिसकेको जनाएको छ । प्रादेशिक अस्पतालहरुबाट समेत आइसोलेन वार्ड र सघन उपचार कक्षको तथ्यांक अध्यावधिक गरि राखिएको छ ।
विरामीहरुको प्रभावकारी व्यवस्थापन गर्न इन्सिडेन्ट कमाण्ड सिस्टम तयारी अवस्थामा राखिएको जनाएको छ । आवश्यकता अनुसार प्रयोग गर्न खरिपाटी र नगरकोटको क्वारेन्टाइन स्थललाई यथावत राखिएको छ ।
उच्च संक्रमित देशहरुबाट आउने नेपालीहरु साथै नेपालमा विभिन्न आयोजनामा कार्यरत विदेशी नागरिकलाई आवश्यक चेकजाँच गरी होम क्वारेन्टाइनमा रहन निर्देशन दिइएको र अनुगमन भैरहेको जनाएको छ । भारतसँग जोडिएका सीमावर्ती प्रवेश नाकाहरुमा आपतकालिन अवस्थामा क्वारेन्टाइन गर्न आवश्यक पर्ने स्थान र संरचनाहरुको योजना बनाएको छ ।
विदेशस्थित कुटनीतिक नियोग तथा दूतावास मार्फत त्यहाँ रहेका नेपालीहरुलाई लक्षित गरी स्वास्थ्य सचेतना सम्बन्धि सूचना प्रभाव गरिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दैनिकरुपमा जनहितका सूचना सहितको स्वास्थ्य बुलेटिन जारी गरिरहेको लगातका रोकथाम तथा नियन्त्रण कार्य भइरहेको मन्त्रालयले जनाएको छ ।
त्यस्तै मन्त्रालयले सार्वजनिक गरेको रणनीतिमा ‘पकेट एरिया लक डाउन’ गर्ने जनाएको छ । जसमा बासस्थान, निश्चित समुदाय, बस्ती, गाउँ, टोल, वडा, पालिका, जिल्ला प्रदेश समेत रहने छन् ।
त्यस्तै कोरोना भाइरस प्रभावित मुलुकहरुमा नेपालबाट हुने हवाई उडानहरु महामारी अवधिभरको लागि स्थगन गर्ने रणनीति बनाएको मन्त्रालयले जनाएको छ । स्थलगत आवागमनका अन्तर्राष्ट्रिय नाकाहरु बन्द गर्ने र अत्यावश्यक सामाग्री वाहेक अन्य वस्तुहरुको आयात–निर्यात महामारी अवधिभर बन्द सरकारको रणनीति रहेको छ । देशभरका सबै अस्पताल तथा स्वास्थ्य संस्थाहरुमा संक्रमितको प्रभावकारी उपचारका लागि जनशक्ति, आवश्यक उपकरण र प्रविधिहरुको अधिकतम परिचालन गर्ने योजना बनाइएको मन्त्रालयले जनाएको छ । आवश्यक परेमा फिल्ड तथा मोबाइल अस्पतालहरुको स्थापना गरी उपचार गरिने योजना बनाइएको मन्त्रालयले जनाएको छ ।

यसैगरी, विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले कोराना भाइरस (कोभिड–१९) लाई विश्वव्यापी महामारीको रुपमा घोषणा गरेपछि मुलुकको सम्भावित जोखिम रोक्न सरकारले संक्रमण फैलिएका थप देशको अनअराइभल भिसा रोक्ने निर्णय गरेको छ । चीनबाट फैलिएर युरोपियन र केही मध्यपूर्वका देशमा समेत कोभिड–१९ को संक्रमण बढेकाले थप देशको भिसा रोक्ने निर्णय भएको सरकारका प्रवक्ता डा. युवराज खतिवडाले जानकारी दिए ।“शुरुमा पाँच मुलुकबाट आउने भिसा रोक्ने भनेकोमा अझै केही थप देशहरुको भिसा रोक्ने निर्णय भएको छ”, कोभिड–१९ संक्रमण नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिको बैठकले गरेको निर्णय सुनाउँदै प्रवक्ता डा खतिवडाले जानकारी दिए ।
यस्तै, कोरोना भाइरस (कोभिड १९)को संक्रमणबाट भारतमा पहिलो व्यक्तिको मृत्यु भएको छ ।कर्नाटक राज्यको कालाबुरागीका कोरोना संक्रमित ७६ वर्षीय वृद्धको मंगलबार राती हैदराबादको एक अस्पतालमा मृत्यु भएको द इकोनोमिक टाइम्सले जनाएको छ । कर्नाटकका स्वास्थ्य मन्त्री बी श्रीरामुलुले कोरोनाबाट संक्रमित वृद्धको मृत्यु भएको जानकारी दिएका छन् । उनका अनुसार ती व्यक्ति साउदी अरबको भ्रमणबाट मार्च पहिलो हप्ता भारत फर्किएका थिए । फर्किँदा ज्वरो र रुघाखोकीले थलिएका उनी चिकित्सक र परिवारको सल्लाहमा हैदराबादस्थित अस्पताल भर्ना भएका थिए । कर्नाटकमा मात्रै ५ जनामा कोरोना संक्रमण देखिएको छ । भारतभर ७४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *