फिल्म ‘नीरफूल’ को प्रदर्शन स्थगित


काठमाडौं, २९ फागुन । फिल्म ‘नीरफूल’ को प्रदर्शन स्थगित भएको छ । चैत ७ गतेबाट प्रदर्शनमा आउने भनिएको फिल्म कोरोना भाइरसका कारण स्थगित भएको हो । फिल्म स्थिति सामान्य भएपछि मात्र प्रदर्शनमा आउने निर्देशक फूलमान वलले जानकारी दिएका छन् । दर्शकको स्वास्थ्यलाई ख्याल गरि फिल्मको प्रदर्शन मिति सार्ने निर्णय निर्माण टिमले गरेको निर्देशक फूलमानले बताएका छन् ।
‘सर्वसाधारणको स्वास्थ्यलाई ख्याल गरि सरकारले समेत सार्वजनिक भेला, सभा, समारोह तथा कार्यक्रम नगर्न आव्हान गरिरहेको बेला फिल्मको सार्वजनिक प्रदर्शन तत्कालका लागि स्थगन गर्ने निर्णय गरेको विज्ञप्तीमा भनिएको छ ।
महाभुकम्पमा विछोडिएको एउटा परिवारको प्रेमकथा समेटिएको फिल्मको कार्यकारी निर्माता सोनाम डोमा रहेकी छन् भने निर्माताको रुपमा विभिन्न मुलुकका गैरआवसीय नेपालीहरुले सघाएका छन् । फिल्ममा दयाहाङ राई, रेखा थापा, शान्ति वाइबा, बुद्धि तामाङ, पुष्कर गुरुङ, जिम्मे छ्योकी घिसिङ, राजन खतिवडा, सरोज अर्याल, सरिता गिरीलगायतले अभिनय गरेका छन् ।
चीनबाट महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट विश्वका सयभन्दा बढी देश प्रभावित भएका छन् । नेपाल समेत यो रोगको उच्च जोखिममा रहेको विश्व स्वास्थ्य सङ्गठनले जानकारी गराइसकेको छ । जसले गर्दा हरेक नेपालीको मनमा त्रास उत्पन्न भएको छ । सरकारले कोरोनाको जोखिम न्यूनिकरणका लागि मानिसको भीडभाड हुने कार्यक्रममा रोक लगाइसकेको छ ।
सिनेमा हल पनि दर्शकको भीडभाड हुने ठाउँ भएपनि नेपाल सरकारले अहिलेसम्म हल बन्द गर्न निर्देशन दिएको छैन् । तर कोरोनाको त्रासले हलहरु विस्तारै सुनसान देखिन थालेका छन् । हलमा दर्शक आउन छाडेपछि अहिले प्रदर्शनको तयारीमा रहेका फिल्म भटाभट सरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *