कोख भाडामा लगाउने महिलाको भूमिकामा सृष्टि


काठमाडौं, २९फागुन । फिल्म ‘माइकल अधिकारी’मा सृष्टि श्रेष्ठ आफ्नो कोख भाडामा लगाउने महिलाको भूमिकामा देखिएकी छिन् । भाडाको कोखसम्बन्धी विषयमा फिल्म निर्माण भएकोले सृष्टि कोख भाडामा लगाउने महिलाको भूमिका निर्वाह गरेकी हुन् ।
फिल्ममा सौगात मल्ल र सृष्टि श्रीमान्–श्रीमतीकै भूमिकामा रहेका छन् । गएको महिना फिल्म ‘माइकल अधिकारी’ को छायांकन सकिएको छ । रियल लाइफमा श्रीमान् श्रीमती हुने तयारीमा रहेका उनीहरु यो पहिलो पटक यस प्रकारको भूमिकामा देखिन लागेका कारण उनीहरु मात्र नभइ दर्शक पनि फिल्मलाई लिएर उत्साहित भएका छन् ।
कुनै दम्पतीको सन्तान भएको छैन, सन्तान नहुनुमा महिला गर्भधारण गर्न अक्षम वा नचाहेको अवस्थामा पुरुषले अर्की महिलाको कोख भाडामा लिएर सन्तान जन्माउने प्रक्रियाको विषयलाई फिल्मले उठान गरेको छ । यस अवस्थामा जन्मेको सन्तान पुरुषको हुन्छ । फिल्म ‘माइकल अधिकारी’ ले यही विषय उठान गरेको छ । फिल्ममा सौगात र सृष्टि आर्थिक अवस्था कमजोर भएको जोडीको रुपमा देखिँदैछन् । फिल्ममा सृष्टिले पैसाका लागि आफ्नो कोख भाडामा लगाउने महिलाको भूमिका निर्वाहा गरेकी छन् । यो फिल्म अहिले सम्पादन टेवुलमा छ । चैत २८ गते प्रदर्शनमा आउने भनिएको फिल्मलाई रञ्जित रौनियारले निर्देशन गरेका हुन् ।
फिल्मको छायांकन सुरु हुँदै गर्दा निर्माण टिमले सौगात र सृष्टिको लुक्स सार्वजनिक गरेको थियो । जसमा सृष्टिको सिउँदोमा सिन्दूर, गलामा पोते र हातमा चुरा देखिएको थियो भने सौगातले टाउकोमा विग लगाएका थिए । अब, फिल्मको सुटिङ सेटमा खिचिएको सौगात र सृष्टिको नयाँ तस्विर सार्वजनिक भएको छ । जहाँ उनीहरु भिन्न गेटअपमा देखिएका छन् । अभिनेत्री सृष्टि रातो रंगको साडी चोलीमा देखिएकी छन् भने उनको काखमा दुधे बच्चा छ । उनको छेवैमा सौगात मल्ल उभिएका छन् । तस्विरमा देखिएको उनीहरुको भिन्न गेटअपले दर्शकमा फिल्मप्रति उत्सुकता र कौतुहलता बढाउने देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *