सवारी दुर्घटनामा ४ जनाको मृत्यु

काठमाडौं, २९ फागनु । विभिन्न ठाउँमा भएको सवारी दुर्घटनामा परि ४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तनहुँको बन्दीपुर गाउँपालिका–५ कोरिखामा बिहीबार ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो । बन्दीपुर गाउँपालिकास्थित बाहुनभञ्ज्याङबाट याम्पातर्फ आउँदै गरेको ग१त ४८०८ नं को ट्र्याक्टर दुर्घटना हुँदा चालक र सहचालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
मृत्यु हुनेमा ट्र्याक्टर चालक गोरखा पालुङटार नगरपालिका–७ च्याङ्ली बस्ने २२ वर्षीय प्रेम कुमाल र सहचालक बन्दीपुर गाउँपालिका–४ नयाँपुल बस्ने २२ वर्षीय राजकुमार परियार रहेको प्रहरीले जनाएको छ ।
त्यसैगरी, बाँकेको कोहलपुर नगरपालिका–८ पिपरीचोक नजिकै टिपरको ठक्करबाट एक जना महिलाको मृत्यु भएको छ । झण्डहवागाउँदेखि कोहलपुर–नेपालगञ्ज सडकतर्फ आइरहेको रा १ ख २१८८ नंको टिपरले ठक्कर दिँदा साइकलमा सवार कोहलपुर–९ की करिब ४५ वर्षीया रामपति थारूको मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । टिपरको ठक्करबाट गम्भीर घाइते थारूलाई उपचारका लागि शिक्षण अस्पताल कोहलपुर लैजादै गर्दा बाटोमा नै मृत्यु भएको हो ।
त्यस्तै, नवलपरासी (बर्दघाट–सुस्ता पूर्व)को गैँडाकोटमा बोलेरोको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा गोरखा पालुङटार नगरपालिका–१० का ३५ वर्षीय ज्ञानबहादुर कुँवर रहेको प्रहरीले जनाएको छ । चितवनबाट तरकारी बोकेर बुटवलतर्फ जाँदै गरेको ना ३ च २२६१ नम्बरको बोलेरोले पूर्वपश्चिम राजमार्गमा पर्ने गैँडाकोट नगरपालिका–५ को जनक मावि नजिकै ठक्कर दिँदा गम्भीर घाइते भएका कुँवरको उपचारका क्रममा भरतपुरको चितवन मेडिकल कलेजमा मृत्यु भएको इलाका प्रहरी कार्यालय गैँडाकोटले जनाकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *