पार्टी नफुटाउने कसम खाँदै राप्रपाको पार्टी एकता


काठमाडौं, २९ फागुन । नेताहरुले पार्टी नफुटाउने कसम खाँदै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को पार्टी एकता भएको छ । बुधबार राष्ट्रियसभा गृहस्थित एकीकरण समारोहमा तीन जना अध्यक्ष कमल थापा, पशुपति शमशेर राणा र डा प्रकाशचन्द्र लोहनीले ‘भागवात गीता’ पुस्तक समेत छोएर कसम खाएर पार्टी एकता भएको घोषणा गरेका हुन् ।
यसअघि नेताहरुकै कारण पार्टी पटक पटक फुटेको भन्दै अब पार्टी नफुटाउन माग नेता कार्यकर्ताले गरेका थिए । राप्रपा काठमाडौंका जिल्ला सचिव हरि प्रसाद अघिकारी पार्टी नफुटाउने कसम खान माग गर्दै गीता बोकेर मञ्चमा पुगेका थिए । कार्यकर्ताको माग र चाहनाअनुसार कमल थापाले आफ्नो सम्बोधनको सुरुमै भगवान पशुपतिनाथलाई साक्षी राखी गीता छुँदै आफूले पार्टी नफुटाउने प्रतिबद्धता जनाएका छन् ।
उनले आफू कुनै पनि हालतमा पार्टी फुटाउने पक्षमा नरहेको भन्दै अन्य दुई अध्यक्ष पशुपति शमशेर राणा र डा प्रकाशचन्द्र लोहनी पनि पार्टी फुटाउने पक्षमा नरहेको बताएका छन् । उनले पार्टी एकताको आजको दिन कोषेढुंगा सावित भएको दावी गर्दै पार्टी निर्माणमा विगतमा संस्थापक नेता स्वर्गीय सूर्यबहादुर थापाले खेलेको भूमिकाको पनि प्रशंशा गरेका छन् ।
थापाले पार्टी एकताबाट आफू खुसी र सन्तुष्ट रहेको बताउँदै आफ्नो चार वर्षे कार्यकाल पूरा नहुँदै पार्टी एकता गराउन सकेकोमा गौरवान्वित भएको बताएका छन् । पार्टी एकीकरणअघि आफू एक्लो अध्यक्ष भएपनि अब तीन अध्यक्ष हुने व्यवस्था रहेको बताउँदै उनले यसले पार्टी सञ्चालनमा थप सहज हुने धारणा व्यक्त गरेका छन् ।
पहिले पार्टीमा आफू एक्लै नेतृत्वमा भएको र एकतापछि पार्टीमा दुई अध्यक्ष थपिँदा बोझ घटेकोले पार्टी सञ्चालन गर्न सहज हुने अध्यक्ष थापाको बताएका छन् । उनले पार्टी एकता कुनै शक्तिकेन्द्रको दवावमा नभएको स्पष्ट पार्दै यो एकता कार्यकर्ताको भावना र चाहनाअनुसार भएको बताएका छन् ।
उनले कार्यकर्ताको दवाव र मुलुकको वर्तमान अवस्थाको विकल्पलाई मध्यनजर गर्दै एकताको वातावरण सिर्जना भएको बताए । अध्यक्ष थापाले आगामी दिनमा पार्टी एकता गर्न नपर्ने गरी अघि बढ्ने प्रतिवद्धता जनाउँदै पार्टी संवैधानिक राजतन्त्र र हिन्दुराष्ट्रको एजेण्डामा अडिग रहने स्पष्ट पारेका छन् ।
उनले वर्तमान अवस्थामा मुलुककमा लोकतन्त्रको नाममा लुटतन्त्र मच्चाइएको आरोप लगाउँदै अध्यक्ष थापाले त्यो लूटतन्त्रमा सरकार सँगसँगै प्रतिपक्षी पनि मतियार बनेको आरोप लगाएका छन् ।
यस्तै,राप्रपा अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले नेपालमा संवैधानिक राजसंस्था आवश्यक भएको बताएका छन् । एकीकरण घोषणा कार्यक्रममा उनले राष्ट्रपतिको पद कुनै पार्टीको गुटले उपयोग गर्ने पद बनेको बताए । डा लोहनीले अहिलेको सरकार प्रतिगमनतिर गएको आरोप समेत लगाए। जनताले मरुभूमिमा पसिना बगाएर पठाएको रेमिट्यान्सको दुरुपयोग गर्दै सरकार प्रतिगमनतिर गएको उनको आरोप थियो ।
यसैगरी,राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमशेर जबराले इतिहासकै शक्तिशाली सरकारले जनअपेक्षा अनुसार काम गर्न नसकेको बताएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)को एकता घोषणासभामा बोल्दै अध्यक्ष राणाले बहुदलिय कालमा जनताले भारी बहुमत दिएपनि अपेक्षा अनुसार काम गर्न नसकेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *