विप्लव नेकपाद्वारा भ्रष्टाचार गरेको आरोप लगाउँदै पूर्वमन्त्री वास्कोटाको घरमा बम विस्फोट, विष्फोट गराएको आशंकामा एक जना पक्राउ


काठमाडौं, २९ फागुन । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले भ्रष्टाचार गरेको आरोप लगाउँदै पूर्वसञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाको घरमा बम विस्फोट गराएका छन् । बुधबार पूर्वसञ्चारमन्त्री बाँस्कोटाको घरमा भएको बम विष्फोटको जिम्मा विप्लव नेकपाले लिएको छ ।
विप्लव नेकपाले पूर्वसञ्चारमन्त्री बाँस्कोटाको घरमा बम विस्फोट गर्नुको कारणसहित पर्चा घटनास्थलमा भेटिएको छ । विप्लव नेकपाले बाँस्कोटाले मन्त्री हुँदा विभिन्न परियोजनामा घुस मागेको र आफ्नो पार्टीमाथि प्रतिबन्ध लगाउने काम गरेकाले कारबाहीस्वरूप विष्फोट गरिएको बताएको छ ।
विप्लव नेकपाले पूर्वमन्त्री बाँस्कोटामाथि सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा ७० करोड घुस मागेर भ्रष्टाचारी अनुहार उदाङ्गो पारेको, २४ अर्बको स्याटेलाइट खरिद प्रकरणमा करोडौं रकम भ्रष्टाचार गरेको, १९ अर्बको फोरजी सेवा विस्तारका दौरान करोडौं रकमको दुरूपयोग गरेको, १० अर्बको अप्टिकल फाइबर विस्तारमा करोडौं कुम्ल्याएर देशलाई कङ्गाल बनाउने भूमिका खेलेको, मोबाइल डिभाइस र स्कुलमा इन्टरनेट सेवा–सुविधाका नाममा करोडौं हिनामिना गरेको, सरकारको प्रवक्ता पदको दुरूपयोग गरी देशभरका ठूला परियोजनाबाट अर्बौं घोटाला गरेको, नेपाल कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध लगाउने, फासीवादी दमनको योजनाकार र हत्याको मतियार बनेको, राष्ट्र, जनता र क्रान्तिका विरूद्ध गोयबल्स शैलीमा निकृष्ट, उद्दण्ड, अराजनीतिक र गुण्डागर्दी भूमिकामा उत्रिएको, आफ्नो औकात भुलेर क्रान्तिप्रेमी जनतामाथि फासिवादी दमन लाद्ने, चरम असहिष्णु, दलाल पुँजीवादी सत्ताको असली ठेकेदार र मुलुकमा साँढेखालको दादागिरी मच्चाएको र देशलाई अहिलेको जर्जर र सङ्कटग्रस्त अवस्थामा पु¥याउने नामुद दलाल भ्रष्टमध्ये एक भएको आरोप लगाएको छ ।
यसैगरी, पूर्वसञ्चारमन्त्री बाँस्कोटाको निर्माणाधीन घरलाई लक्षित गरेर विष्फोट गराएको घटनामा संलग्न रहेको आशंकामा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा प्रतिबन्धित विप्लव समूहका भक्तपुर जिल्ला कमिटी सदस्य देव गुरुङ हुन् । उनलाई महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुको टोलीले जडिबुटीबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।
यस्तै, नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष प्रचण्डले पूर्वसञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाको घरमा आतंककारी समूहले प्रेसर कुकर बम प्रहार गरी क्षति पु¥याएको बताएका छन् । बुधबार प्रेस विज्ञप्ति निकालेर प्रचण्डले पार्टीका केन्द्रीय सदस्य, प्रतिनिधिसभा सदस्य र पूर्वमन्त्री बाँस्कोटाको निवासमा आतंककारी समूहले बम विस्फोट गरेको उल्लेख गरेका हुन् ।
पूर्वमन्त्री बाँस्कोटाको निजी निवासमा आतंककारी समूहले प्रेसर कुकर बम प्रहार गरेर क्षति पु¥याएको छ । म हाम्रो पार्टीको तर्फबाट उक्त आपराधिक घटनाको घोर निन्दा एवं भ्रत्सना गर्दछु,’ प्रचण्डले विज्ञप्तीमा भनेका छन्, ‘घटनामा संलग्न अपराधीहरूलाई नियन्त्रणमा लिन र कडा कानुनी कारबाही गर्न सरकारको ध्यानाकर्षण गराउँछु । ’

Leave a Reply

Your email address will not be published. Required fields are marked *