काठमाडौं, २८ फागुन । फिल्म ‘हिजो आजका कुरा’को गीत ‘माया जदौ’ अहिले नेपाली फिल्म बजारमा चर्चामा रहेको छ । प्रणय दिवसको अवसर पारेर सार्वजनिक भएको गीत चिया पसलदेखि सांस्कृतिक कार्यक्रमसम्म अत्याधिक चर्चामा रेहेको छ । रामकृष्ण ढकाल र मेलिना राईको स्वर रहेको यो गीत दर्शकले निकै रुचाएका छन् । गीतमाथि हजारौं टिकटक भिडियो बनिसकेका छन् भने नाच्नका लागि अहिले हरेकको रोजाइ यही गीत बनिरहेको छ ।
गीतमा रामकृष्ण र मेलिनाको स्वरसँगै भिडियोमा देखिएका कलाकारहरुको नृत्य मन पराएका छन् । बलिउड फिल्म ‘ओम शान्ति ओम’ को गीत ‘दिवान्गी दिवान्गी’ शैलीमा तयार पारिएको गीतको भिडियोमा नेपाली फिल्मका नयाँदेखि पुराना थुप्रै कलाकारले नृत्य गरेका छन् ।
साकार पन्तको डेब्यू निर्देशित फिल्म ‘हिजो आजका कुरा’को गीतमा कलाकारहरु सन्तोष पन्त, रमा थपलिया, रीमा विश्वकर्मा, केकी अधिकारी, ऋचा शर्मासँगै दीपाश्री निरौला, केदार घिमिरे, जितु नेपाल, नम्रता श्रेष्ठ, शिवहरी पौडेललगायत गीतमा फिचर्ड रहेको छ ।
बैशाख १२ गतेबाट प्रदर्शनमा आउने यो फिल्मको हाइप निर्माणमा ‘माया जदौ’ गीतले ठूलो भूमिका खेलेको छ । गीतको बढ्दो लोकप्रियता हेर्दा फिल्मले बक्सअफिसमा राम्रो व्यापार गर्ने देखिन्छ । गीतसंगीत रुचाइएका फिल्मले हलमा पनि राम्रो व्यापार गरेका थुप्रै उदाहरण छन् । यसकारण पनि अहिले निर्माताहरुले गीतको अडियो र भिडियोमा निकै ध्यान दिने गरेका छन् ।
करीब १८ वर्षसम्म नेपाल टेलिभिजनमा प्रशारण भएको चर्चित हास्यटेलिसिरियल ‘हिजो आजका कुरा’ नाम सापटी लिएर फिल्म निर्माण भएको हो । कुनै न कुनै तरिकाले विदेशसँग सरोकार राखेका वा राख्न इच्छुक काठमाडौंका चार परिवारको पारिवारिक समस्या, संघर्ष र आतुरतासँगै विदेश जाने सपना पूरा गर्न केही न केही गुमाउनु पर्ने कथामा फिल्म निर्माण भएको बताइएको छ ।