संकटालाई पराजित गर्दै आर्मी रारा गोल्डकपको सेमिफाइनलमा

पोखरा, २८ फागुन । संकटा क्लबलाई ३–० ले पराजित गर्दै त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार पोखरा रंगशालामा भएको चौथो क्वाटरफाइनलमा संकटालाई पराजित गर्दै आर्मी अन्तिम चारमा प्रवेश गरेको हो ।

खेलको १६औं मिनेटमा सुदिल राईले गोल गर्दै आर्मीलाई अग्रता दिलाएका थिए । नवयुग श्रेष्ठले डिफेन्डर अमित तामाङलाई छलाउँदै दिएको पासमा सुदिलले वान टचमा उत्कृष्ट फिनिस गर्दा संकटाका गोलरक्षक राजाबाबु थापाको बचाउन सकेनन् । ३०औं मिनेटमा सेसेहाङ आङदेम्वेको पासमा अनमार्क रहेका नवयुगे अवसर पाएपनि उनको प्रहार आकासिदा आर्मी अग्रता दोब्बर हुनबाट चुक्केको थियो ।
४१औं मिनेटमा ड्याडी जुनियर वाम्वाको पेनाल्टी बक्स बाहिरको प्रहार आकासिदा संकटा बराबरीबाट चुक्यो । पहिलो हाफमा १–० को अग्रता लिएको आर्मीले दोस्रो हाफमा पनि सोहि लयलाई निरन्तरता दिँदै दुई गोल थपेको छ ।
५९औं मिनेटमा जर्जप्रिन्स कार्कीको क्रसलाई रोमन लिम्बुले ब्लक गरिदिए लगत्तै ड्याडीको क्रसलाई दीपक गुरुङले पेनाल्टी बक्सबाट हेडमार्फत क्लियर गर्न सफल भए । ६०औं मिनेटमा मेसुउके इटिग्नेको प्रहरलाई आर्मीका गोलरक्षक विवश चौधरीले सहजै नियन्त्रणमा लिए ।
६२औं मिनेटमा नवयुगको पासमा सन्तोष तामाङको पेनाल्टी बक्स बाहिरको प्रहार आकासिदा आर्मी अग्रता दोब्बर पार्नबाट चुक्यो । ६५औं मिनेटमा जर्जप्रिन्सको पेनाल्टी बक्स बाहिरको सशक्त प्रहार पोस्टबाट बाहिरियो ।
७०औं मिनेटमा नवयुग गोल गर्दै आर्मीको अग्रता दोब्बर पारे । विवेक बस्नेतको कर्नरमा भरत खवासको हेडरलाई गोलरक्षक राजाबाबुले बचाएपनि डिफेन्डरले राम्ररी क्लियर गर्न नसकेको बललाई नवयुगले जाली चुमाएका थिए ।
७३औं मिनेटमा सन्तोष तामाङको सशक्त प्रहारलाई संकटाका गोलरक्षक राजाबाबु थापाले उत्कृष्ट पञ्च गर्दै बचाए । ७५औं मिनेटमा विवेक बस्नेतले गोल गर्दै आर्मीलाई खेलमा ३–० ले अघि बढाए ।

यस जितसँगै अब आर्मीले फाइनलमा पुग्न मनाङ मर्स्याङ्दीसँग बिहीबार हुने दोस्रो सेमिफाइनलमा खेल्नेछ । बुधबार हुने पहिलो सेमिफाइनलमा नेपाल पुलिस क्लब र रुस्लान थ्री स्टार क्लब खेल्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *