भारतले रोकेको औषधीजन्य वस्तु खुलाउन सरकारले पहल गर्ने


काठमाडौं, २८ फागुन । भारतबाट आउने औषधीजन्य वस्तु खुलाउन सरकारले पहल गर्ने अर्थमन्त्री एवं सरकारका प्रवक्ता युवराज खतिवडाले बताएका छन् । कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि सरकारले गठन गरेको उच्चस्तरीय समितिको मंगलवार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकमा उनले भारतबाट आउने औषधीजन्य वस्तु खुलाउन सरकारले कुटनीतिक पहल गर्ने बताएका हुन् ।
प्रवक्ता खतिवडाले अनावश्यक रुपमा औषधि, खाना पकाउने ग्यास सिलिन्डर र खाद्य वस्तु सञ्चय नगर्न आग्रह गरेका छन् । उनले भारतबाट औषधीजन्य वस्तु बाहेक अन्य कुनै वस्तु आपूर्तिमा रोक नलगाएको बताए । उनले चीनतर्फ संक्रमण घट्दै गएकाले चीनसँगको व्यापार पनि व्यवस्थित गर्दै लैजाने तयारीमा सरकार रहेको जानकारी दिए ।
मन्त्री खतिवडाले कोरोनाबारे सबै जान्ने नबन्न आग्रह गर्दै सूचना सम्प्रेषण भयभीत हुने तरिकाले नगर्न अनुरोध गरेका छन् । प्रवक्ता खतिवडाले अत्यावश्यक वस्तुहरुको सहज र नियमित आपूर्तिका विषयमा छलफल गर्न समितिले विभिन्न मन्त्रालय र सरोकारवालासँग छलफल गरिरहेको जनाए । बैठकमा निजी क्षेत्रले ४ देखि ५ महिनालाई पुग्ने औषधी, खाद्यन्न ६ महिना र पेट्रोलियम पदार्थ ३ महिनालाई पुग्ने जनाइएको छ ।
बैठकमा अर्थमन्त्री खतिवडा, उद्योग वणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट, संस्कृति पर्यटन तथा नागरिय उड्डयनमन्त्री योगेश भट्टराई लगायतको सहभागिता थियो । उच्चस्तरिय समितिका संयोजक उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलको अध्यक्षमा बसेको बैठकमा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल परिसंघका पदाधिकारी र औषधि व्यवसायीहरुको सहभागी रहेको थियो । छलफलमा औषधी उत्पादक संघले ८० प्रतिशत औषधि स्वदेशमै उत्पादन गर्न सक्ने भन्दै त्यसका लागि सरकारलाई सहयोग गर्न आग्रह गरेका थिए । बैठकमा नेपालभित्रै उत्पादन हुनसक्ने वस्तुहरुको उत्पादनमा जोड दिन समेत सरकार र नीजि व्यवसायीहरु सहमत भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *